Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगशैक्षिक क्षति न्यूनीकरणमा क्यालेन्डरको महत्व

शैक्षिक क्षति न्यूनीकरणमा क्यालेन्डरको महत्व


काठमाडौं । शैक्षिक क्षति बढ्नुका विभिन्न कारणहरू हुन सक्छन् । योजनाद्ध शैक्षणिक कार्यक्रमहरू निर्बाधरूपमा सञ्चालन नभएको कारणबाट सरकारको लगानी मात्र नभएर स्वयम् विद्यार्थीको समयको बर्बादी, विद्यार्थीको कमजोर उपलब्धि स्तर, अभिभावकको लगानीमा वृद्धि आदिले शैक्षिक क्षति विकराल बन्दै गएको जगजाहेर नै छ । त्यस्तै तोकिएको समयमा परीक्षा नहुनु, परीक्षाको नतिजा ढिला प्रकाशित हुनु, पाठ्यक्रमले तोेकेका पाठ्यांशहरूको पूरा पढाइ नसकिइकन पनि परीक्षा दिनुपर्ने बाध्यता विद्यार्थीलाई आइलाग्नु आदिले पनि शैक्षिक क्षति बढेको हो । यसप्रकारका क्षतिलाई न्यूनीकरण गर्न शैक्षिक सत्रको सुरुमै व्यावहारिक शैक्षिक क्यालेन्डर निर्माण गरेर कडाइका साथ लागू गर्नेतर्फ सरकार सरोकार पक्षले ध्यान दिनु जरुरी छ ।

विद्यालय शिक्षाको नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरु हुने भएकोले यही चैत महिनाभित्र नै शैक्षिक क्यालेन्डर बनाउनु दूरदर्शिता ठहर्छ । शिक्षण संस्थाका शैक्षणिक गतिविधिहरू योजनाबद्धरूपमा सञ्चालनका लागि आवश्यक नीति र कार्यक्रमहरू क्यालेन्डरमा समावेश गरिन्छ । कार्यक्रमहरूको गति र प्रगतिको समीक्षा गरी समयमा नै सच्याएर सुधार ल्याउन सचेत पार्ने एक सशक्त सूचक पनि हो शैक्षिक क्यालेन्डर । कार्यक्रममा पारदर्शिता, विकेन्द्रीकृत जिम्मेवारी एवं जवाफदेहिता, कार्यदक्षताको निष्पक्ष र वस्तुनिष्ठ मूल्यांकन, सहभागितामूलक निर्णय प्रक्रियाजस्ता सुशासनका आधारभूत मान्यतालाई आत्मसात् गर्दै अधिकतम शैक्षिक उपलब्धि हासिल गर्न क्यालेन्डरले अहम् भूमिका खेल्दछ । भनाइ पनि छ ‘बालीनाली लगाउन एक वर्ष, फलफूल खेतीका लागि कम्तीमा १० वर्ष र मानिसको शिक्षाका लागि एक सय वर्षको योजना बनाउनु पर्दछ ।’

शैक्षिक क्रियाकलापलाई व्यवस्थित नतिजामूलकरूपमा तोकिएको समयमा सम्पन्न गर्न शैक्षिक क्यालेन्डरको अनुशरणको खाँचो पर्दछ। शिक्षण संस्थालाई शिक्षा आर्जन गर्ने उत्कृष्ट मर्यादित थलोको रूपमा पहिचान कायम गर्न विविध पक्षहरूसँग सहकार्य र चुस्त व्यवस्थापनको आवश्यकता पर्छ। भविष्यदर्शी शैक्षिक योजना, समसामयिक पाठ्यक्रम, पेसाप्रति समर्पित जवाफदेही योग्य शिक्षक, कुशल शैक्षिक नेतृत्व भएको प्रधानाध्यापक, उत्साही निष्पक्ष व्यवस्थापन समिति, अनुशासित विद्यार्थी, सचेत अभिभावक, जागरुक समुदाय, पर्याप्त स्रोतसाधान, अभिभावकीय भूमिका निर्वाह गर्ने सहयोगी सरकारी निकाय गुणस्तरीय शिक्षाका लागि वरदान हुन् । पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, सदाचार र शिष्टता, इमान्दारिताले शिक्षण संस्थाको पवित्रता र गरिमालाई उच्च बनाउन योगदान पु¥याउँछ। बालबालिका विद्यालयबाट भागेर घर जाने परम्परागत मान्यतालाई निरुत्साहित गर्दै घरबाट भागेर विद्यालय जाने रोचक वातावरण सफल विद्यालयको परिचय हो । व्यवस्थित र योजनाबद्ध शैक्षिक क्रियाकलाप गरिने विद्यालयका लागि शैक्षिक क्यालेन्डर एक अपरिहार्य मार्गचित्र हो ।

विद्यालयले विगतको शैक्षणिक गतिविधिको समीक्षा गरेर आगामी शैक्षिक सत्रलाई अझ प्रभावकारी बनाउन खासगरी अभिभावक, विद्यार्थी, शिक्षकलगायतका शुभचिन्तकको सल्लाह, सुझाव र सहकार्य तथा अनुभवका आधारमा योजना तर्जुमा गर्नुपर्दछ । विद्यालयले योजना विद्यार्थीको पठन पाठनलाई केन्द्रविन्दुमा राखेर बनाउनु पर्दछ । शिक्षण सिकाइलगायतका शैक्षणिक कार्यक्रमलाई व्यवस्थित एवं चुस्त दुरुस्तरूपमा सञ्चालन गर्न योजनाबद्ध शैक्षिक क्यालेन्डरको आवश्यक पर्दछ । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउने एकाइ योजना, पाठ योजनाहरूको पनि योजना तथा वार्षिक योजनाको विकल्पको रूपमा समेत शैक्षिक क्यालेन्डरलाई प्रयोग गर्न सकिन्छ । कक्षा कोठाभित्र र बाहिरका व्रिmयाकलाप विद्यार्थीको रूचि क्षमताअनुसार तोकिएको समयमा सम्पन्न गर्न सचेत पार्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्ने बानीको विकास गर्न, शिक्षक र शिक्षाकर्मीहरूलाई स्वमूल्यांकन गरेर परिमार्जित एवं परिस्कृत पेसागत प्रतिष्ठा बढाउनलगायत शैक्षिक अनुगमन निरीक्षणलाई नियमित गरी पाठ्यक्रमले लक्षित गरेको उद्देश्यलाई यथार्थमा हासिल गर्नको लागि शैक्षिक क्यालेन्डर कोसेढुङ्गा हो । शैक्षिक क्यालेन्डरलाई शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति तथा विद्यार्थीलगायतका शिक्षाकर्मीको लागि आफ्नो जिम्मेवारी समयमा सम्पन्न गर्न सहयोग पु-याउने मार्गचित्रको रूपमा पनि लिन सकिन्छ । शैक्षिक क्यालेन्डरका मुख्य प्रयोग कर्ता शिक्षक हो । यसले शिक्षकको पेसागत दक्षता, मर्यादा एवं कार्यक्षतामा अभिवृद्धि गरी एक सफल शिक्षकको रूपमा समाजमा सम्मानित जीवनयापन गर्न प्रोत्साहन गर्दछ ।

शैक्षिक क्यालेन्डर सामान्यतया शैक्षिक सत्रको प्रारम्भ वैशाखदेखि नै लागू हुनेगरी अघिल्लो चैत्र महिनाभित्र बनाउनुपर्दछ । क्यालेन्डर बनाउनको लागि विषय शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, आवश्यकताअनुसार अभिभावकलगायतका क्यालेन्डरमा समावेश गरिने विषयवस्तुसँग सरोकार राख्ने व्यक्तिहरूको सहकार्यमा बनाउनुपर्दछ । क्यालेण्डरमा शैक्षिक सत्रभरि पढाइने विषयका पाठहरूको विभाजन यथाशक्य विस्तृत एवं आकर्षकरूपमा प्रस्तुत गरिनुपर्दछ । वर्षभरि विद्यालय खोलिने दिन, सार्वजनिक बिदा, विभिन्न परीक्षा समय, अतिरिक्त क्रियाकलाप, सूचना तथा सन्देशमूलक भनाइहरू एवं शिक्षक विद्यार्थीले पालना गर्नुपर्ने आचरसंहितालगायतका विषयवस्तुलाई समावेश गर्न सकिन्छ। स्थानीय सामाजिक मूल्य मान्यत, संस्कार, संस्कृति र परम्पराको संवेदनशीलतालाई समेत हेक्का राखेर मात्र क्यालेन्डर बनाउनुपर्दछ ।

सार्वजनिक बिदा सबैभन्दा धेरै हुने देशहरूमध्ये विश्वमा नै अग्रपंक्तिमा पर्ने नेपालका विद्यालयमा पढाइ हुने दिन कम हुनु अस्वाभाविक होइन । तथापि विद्यमान संशोधित शिक्षा ऐन नियमअनुसार वर्षमा न्यूनतम दुई सय २० दिन विद्यालयमा पढाइ हुनुपर्ने तथा सामुदायिक विद्यालयका शिक्षकले हप्तामा कम्तीमा २४ पिरियड पढाउनुपर्ने व्यवस्था गरेको छ। त्यस्तै सार्वजनिक बिदाको अतिरिक्त हिउँदे वा वर्षे बिदा ४५ दिन तथा व्यवस्थापन समितिले एक शैक्षिक सत्रमा थप पाँच दिन स्थानीय बिदा दिने र सोभन्दा बढी विद्यालय बन्द गरेमा प्रधानाध्यापकलाई विभागीय कारबाही गरिनेछ भन्ने कानुनी प्रावधानलाई समेत ध्यान दिएर शैक्षिक क्यालेन्डरका विषयवस्तु र क्रियाकलाप तथा विद्यालय खोल्ने र पढाइ हुने समयतालिकालाई समायोजन गरिनु पर्दछ ।

सामान्य क्यालेन्डरमा जस्तै यसमा पनि तिथिमितिहरू उल्लेख समावेश गर्न सकिन्छ । तर यसमा यति फरक हुन्छ कि, सबै कक्षाका सम्पूर्ण विषयका पाठ्यक्रम र पाठ्यांशहरू समावेश गरिएको हुन्छ । शिक्षकले कुन पाठ के–कति दिन लगाएर अध्यापन गर्नुपर्ने, तोकिएका सिकाइ उपलब्धि हासिल भए–नभएको एकिन गर्न के–कस्ता मूल्यांकन विधि अपनाउनुपर्छ, कस्ता–कस्ता शैक्षिक सामग्री र शिक्षण विधि उपयुक्त हुन्छ आदि प्रश्नहरूको उत्तर हो विस्तृत शैक्षिक क्यालेन्डर ।

शैक्षिक क्यालेन्डर कतिपय सम्पन्न र जाँगरिला विद्यालयले आफूसँग भएको साधन र स्रोतको परिचालन वा सहयोग जुटाएर बनाउने गर्छन् । तर विकट गाउँठाउँका सीमित साधनस्रोत भएका विद्यालयको लागि क्यालेन्डर बनाउन कठिन नहोला भन्न सकिन्न । त्यसकारण जिल्लास्थित शिक्षा समन्वय एकाइ वा स्थानीय तहको सक्रियतामा शिक्षकका जिल्ला एवं केन्द्रीयस्तरका पेसागत संघसंस्थाले विज्ञापनलगायतका सहयोग जुटाएर क्यालेन्डर बनाई वितरण गर्न सकेमा अझ सहज र सार्थक हुन्छ ।

विभिन्न कारणले सबै विद्यार्थीको हातमा समयमा पाठ्यपुस्तक पु¥याउन नसकेको अवस्थामा, कतिपय विद्यालयमा पाठ्यक्रम नै नभएका र भए पनि त्यसको प्रचुर प्रयोग हुन नसकेको अवस्थामा, पर्याप्त ज्ञान र सूचनाको अभावमा शैक्षणिक कार्यक्रम सञ्चालनमा एकरूपता समेत नहुने हुँदा विस्तृत योजना भएको शैक्षिक क्यालेन्डर पाठ्यक्रम विकास केन्द्र वा मानव स्रोत विकास केन्द्र वा प्रदेश सरकारले वेब साइटमार्फत कयालेन्डरको खाका प्रकाशित गर्न सकिन्छ । अन्यथा स्थानीय पालिकाले अनिवार्यरूपमा प्रकाशित गरेर वितरण गर्ने व्यवस्था भएमा शैक्षिक सुव्यवस्थाको लागि उदाहरणीय काम हुनसक्छ । शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयनमार्फत शैक्षणिक गतिविधिलाई योजनाबद्धरूपमा नियमित र नियन्त्रित गर्न सकेमा विद्यमान शैक्षिक क्षति, विकृति र विसंगतिलाई धेरै हदसम्म न्यूनीकरण गर्न अहम भूमिका खेल्नेछ ।

शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पूर्वाधारको साथै भविष्यदर्शी शैक्षिक नेतृत्व, कुशल र निष्पक्ष व्यवस्थापन समिति, लगनशील शिक्षक, अनुशासित विद्यार्थी, सचेत अभिभावक र समसामयिक शिक्षा नीति, जागरुक समुदाय, नतिजामा आधारित शिक्षक प्रोत्साहनका कार्यक्रमले पनि अहम् भूमिका खेलेको हुन्छ । बालबालिकाको समग्र विकासको निम्ति विद्यालयको वातावरण शान्त, सुरक्षित र रमाइलो हुनु अपरिहार्य हुन्छ । विभिन्न खाले आन्दोलन र हड्तालका कारण निमुखा बालबालिका अध्ययन गर्ने विद्यालय शान्ति क्षेत्रको नीति जोखिममा परेको छ । विद्यालय बालबालिकाको शारीरिक, मानसिक, संज्ञानात्मक, बौद्धिक, नैतिक विकास गर्ने पवित्र साझा थलो बन्नुपर्दछ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया