Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमस्तिष्क : संरचना, कार्य र क्षमता

मस्तिष्क : संरचना, कार्य र क्षमता


काठमाडौं । मस्तिष्क केन्द्रीय स्नायु प्रणली अर्थात् सेन्ट्रल नर्भ सिस्टमको बृहत् एवं कोमल मस्तिष्क कोष्ठ (कपाल) भित्र अवस्थित सेतो र खैरो रङ्गको भाग हो । यो अग्र मस्तिष्क, मध्य मस्तिष्क तथा पश्च मस्तष्कि मिलेर बनेको हुन्छ । नवजात शिशुमा यसको तौल तीन सय ७० देखि चार सय ग्रामसम्म हुन्छ भने एउटा वयस्क मानिसमा यसको तौल १२ सय ८० देखि १३ सय ८० ग्रामसम्म हुन्छ । यसले हाम्रो सम्पूर्ण शारीरिक तथा मानसिक क्रियाकलापहरुलाई नियन्त्रण गर्दछ र तिनीहरुबीच समन्वय गर्ने काम पनि गर्दछ । तर मस्तिष्क मुटुजस्तो चौबीसै घण्टा क्रियाशील रहँदैन । यसले गहिरो निद्राको बखत आराम गर्ने अवसर प्राप्त गर्दछ । झण्डै एकदेखि डेढ किलोग्रामसम्म तौल भएको मस्तिष्क ऊर्जाको अत्यधिक भोको हुन्छ र यसले शरीरको ३० प्रतिशतभन्दा बढी ऊर्जा प्राप्त गर्दछ ।

मानव मस्तिष्क असंख्य कोषहरु मिलेर बनेको हुन्छ । यसरी मस्तिष्कमा पाइने कोषहरुलाई नर्भ सेल वा न्यूरोन भनिन्छ । हरेक कोषको लामो तारजस्तो भाग हुन्छ जसलाई नर्भ भाइबर वा एक्जन भनिन्छ । यसमा पनि डेन्ड्राइट नामक हजारौं स–साना भागहरु हुन्छन् । जुन एक्जनबाट बाहिर निस्किएर अन्य असंख्य कोषहरुसँग गाँसिन पुग्छन् र यसबाट स्नायुहरुको एउटा ठूलो सञ्जाल नै निर्माण भएको हुन्छ । यहींबाट शरीरका अन्य भागहरुमा विभिन्न संकेतहरु पठाउने काम गरिन्छ । प्रत्यक सेकेन्ड लाखौं संख्यामा यस्ता संकेतहरु यही बाटो भएर अन्य असंख्य कोषहरुमा बाँडिने र यही संकेतहरु मिलेर हाम्रो कल्पना, सोच, भावना र सम्झनाहरु उत्पन्न हुन पुग्दछन् ।

सामान्यतया बाहिरबाट देख्दा हाम्रो मस्तिष्क चाउरी परेको ठूलो ओखरजस्तो देखिन्छ । यसको रङ्ग गुलाबी–खैरो हुन्छ । यो चाउरी परेको भागलाई ‘सेरेब्रेम’ भनिन्छ । यो सेरेब्रम दुईवटा गोलार्धमा बाँडिएको हुन्छ जुन गोलार्ध सेरेब्रल कार्टेक्स नामक झण्डै ५ मिलिमिटर बाक्लो तहले ढाकिएको हुन्छ । यसलाई ‘ग्रे म्याटर’ै पनि भनिन्छ । यहीँबाट हाम्रो सोच्ने, हेर्ने, सुन्ने, महसुस गर्ने, स्वाद थाहा पाउने आदिजस्ता प्रक्रियाहरु र हाम्रो चाल अर्थात् गति नियन्त्रण हुने गर्दछ ।

मस्तिष्कको बीचमा ‘थ्यालामस’ नामक दुईवटा अण्डाजस्ता भागहरु हुन्छन् । यसको मुख्य काम भनेको हामी निदाउने र ब्युँझने प्रक्रियाको नियन्त्रण गर्नु हो । यसका साथै यसले हामीले सुनेका र देखेका कुराहरुको बारेमा सूचना पठाउने काम पनि गर्दछ । त्यस्तै थ्यालामसको मुनी ‘हाइपोथ्यालामस’ हुन्छ जसले हाम्रो शरीरको तापक्रम नियन्त्रण गर्ने गर्छ भने यसैमार्फत हाम्रो डर, रिस, भोक र तीर्खालाई पनि अभिव्यक्त गर्ने गर्दछ । त्यसपछि थ्यालामसको छेउमा ‘बेसल ग्याङ्ग्रिला’ नामक कोषहरुको समूह हुन्छ । जसले हाम्रो हिँड्ने र खानेकुरा चपाउने प्रक्रियालाई नियन्त्रण गर्दछ । यसको ठीक मुनी अङ्ग्रेजी अक्षर ‘सी’ आकारको एउटा अवयव हुन्छ जसलाई ‘हिथोक्यामस’ भनिन्छ । यसले हाम्रो स्मरण शक्तिलाई नियन्त्रण गर्ने गर्दछ । खासगरी यसले भर्खरै अर्थात् तत्काल घटेका घटनालाई लामो समय अर्थात् दीर्घकालसम्म सञ्चित गरेर राख्ने काम गर्दछ ।

मस्तिष्कको तल्लो भाग पनि हुन्छ र यो बिरुवाको डाँठजस्तै मसिनो हुन्छ । यहीँबाट स्वचालित रुपमा भइरहने प्रक्रियाहरु जस्तैः मुटुको धड्कन, श्वासप्रश्वास आदिजस्ता क्रियाहरुको नियन्त्रण हुन्छन् । यो भागलाई ‘मेडुला अब्लङ्गाय’ भनिन्छ । यसको ठीक पछाडि ‘सेरेबेलम’ हुन्छ जसले हाम्रो मांशपेशीको कार्य प्रक्रियालाई नियन्त्रण गर्दछ । मस्तिष्कले आफैं मात्र सबै काम भने गर्न सक्तैन । हाम्रो शरीरमा भएको स्नायु प्रणालीको मद्दतबाट यो सञ्चालन भइरहेको हुन्छ । त्यसैले स्नायु प्रणालीको मद्दतविना यो कि बोर्ड र माउसविनाको कम्प्युटरजस्तो मात्र हुन्छ । वास्तवमा स्नायु प्रणालीकै मद्दतबाट यो शरीरका विभिन्न भागहरुसँग जोडिएको हुन्छ अर्थात् सम्पर्कमा रहेको हुन्छ । मानव शरीरका विभिन्न भागहरुमा नसाहरु फैलिएका हुन्छन् र हरेक नसामा थुप्रै फाइबरहरु हुन्छन् जहाँबाट हजारौं संकेतहरु आदानप्रदान हुने गर्दछन् ।

यसरी शरीरका विभिन्न भागबाट मस्तिष्कमा संकेतहरु पु-याउने काम गर्ने नसालाई ‘सेन्सरी नर्भ’ भनिन्छ भने मस्तिष्कबाट संकेतहरु शरीरका विभिन्न भागहरुमा ल्याउने काम गर्ने नसालाई चाहिँ ‘मोटर नर्भ’ भनिन्छ । हाम्रो शरीरको मुख्य नसा भनेको मेरुदण्डमा रहेको नसा हो जसलाई ‘स्पाइनल कर्ड’ भनिन्छ । यसको मोटाइ लगभग हाम्रो कान्छी औंलाजत्रो हुन्छ । यहाँबाट करिब ३१ जोडी नसाहरु देब्रे र दाहिने भाग हुँदै शरीरका विभिन्न भागहरुमा छुट्टिने गर्दछन् । त्यसो त मस्तिष्कबाट पनि करिब १२ जोडी कार्नियल नसाहरु छुट्टिने गर्दछन् ।

मानव मस्तिष्क एक कम्प्युटरजस्तै हो । जसरी हामी कम्प्युटरमा जस्तो इनपुट दिन्छौं त्यस्तै आउटपुट निस्कन्छ । त्यसैैैैैैैैैैगरी मस्तिष्कमा पनि हामी जस्तो सोच वा भावनाहरु दिन्छौं वा प्रविष्ट गर्दछौं, त्यस्तै किसिमका प्रतिक्रियात्मक नतिजा यसले निकाल्दछ । कहिलेकाहीं हामीले नकारात्मक विचार वा भावनाहरु दिँदा मस्तिष्कले पनि त्यस्तै किसिमको हानिकारक नतिजा निकाल्न सक्तछ । वास्तवमा समाजमा बेलाबखत हुने हत्या, हिंसा, आत्मदाह र विभिन्न प्रकारका अपराधजनक घटनाहरु मानव मस्तिष्कबाट निस्कने यस्तै प्रतिक्रियात्मक नतिजाबाट घटित हुन पुग्दछन् । त्यसैले मानव मस्तिष्कमा नकारात्मक सोच र चिन्तन प्रविष्ट नहोस् भन्ने कुरामा हामी हमेसा सजग र चनाखो रहनु पर्दछ ।

मस्तिष्कलाई असर पार्ने एउटा प्रमुख कारण भनेको तनाव अर्थात् स्ट्रेस हो । किनकि लगातारको तनावका कारण मस्तिष्कले कार्टिसोल हार्मोन निष्कासन गर्दै जान्छ । यसबाट शरीरभरि विस्तारै तनावको असर फैलन थाल्दछ । जसले गर्दा सामान्य अवस्थामा पनि मानिस तनावविना काम गर्नै नसक्ने अवस्थामा पुग्दछ । त्यसैले मस्तिष्कलाई हामीले हमेसा तनावरहित अवस्थामा राख्ने चेष्टा गर्नु पर्दछ । पछिल्लो समय प्रायः मानिसहरुले मोबाइलमा अत्यधिक समय बिताउने गरेका छन् । यसबाट निस्कने रेडियसनहरुले पनि मस्तिष्कमा असर पु¥याइरहेको हुन्छ । त्यसमा पनि राति सुत्ने बेला मोबाइल चलाउँदा झन् बढी असर गर्ने हुन्छ । त्यसैले आफ्नो बिछ्याउना वा सिरानी नजिकै मोबाइल राखेर सुत्ने बानी गर्नु हुँदैन । अझ सकेसम्म आफू सुत्ने कोठा वा सयन कक्षमा मोबाइललगायतका इलेक्ट्रोनिक डिभाइसहरु नराख्दा नैैैैै राम्रो हुन्छ । किनकि यसबाट हाम्रो निद्रा खलबलिन सक्तछ ।

सन् १९८१ म डा. रोजरी स्पेन्सले दिमागमा दुईवटा भागको व्याखा गरेका थिए । दायाँ मस्तिष्क र बायाँ मस्तिष्क । दायाँ मस्तिष्कको क्षमता भिजोलाइजेसन गर्ने हो । यसले सपनालाई नियन्त्रण गर्नेदेखि लिएर कल्पनाशक्तिको अन्तरबोधले धेरै ठूला–ठूला आविष्कार गर्ने क्षमता समेत राख्दछ । यसको क्षमता ९० प्रतिशतसम्म हुन्छ । बायाँ मस्तिष्कको क्षमता भने १० प्रतिशत मात्र हुन्छ । जे होस् मस्तिष्क सही रुपमा चलाउन सक्ने व्यक्ति सफल अवश्य बन्छ । तर यसको लागि आफ्नो रुचि के मा हो ? आफ्नो गुण अथवा विशेषता के मा छ ? त्यसलाई चिनेर सोहीअनुसार दत्तचित्त भई लाग्नु पर्दछ । मुख्य कुरा आफूलाई चिन्नु पर्दछ । आफ्नो प्रतिभा ठम्याउनु पर्दछ । अनि प्रतिभा ठम्याउनका लागि आफ्नो रुचि र क्षमता के मा छ? त्यसको राम्ररी पहिचान गर्नु पर्दछ । त्यसपछि आफ्नो अध्ययन र कर्ममा निरन्तर लाग्नु पर्दछ । परिस्थितिबाट आत्तिनु हुँदैन, हड्बडाउनु हुँदैन । भनिन्छ मानिसको सफलता र लक्ष्य प्राप्तिमा एक प्रतिशत उसको प्रतिभाले काम गर्दछ भने बाँकी ९९ प्रतिशत उसको निरन्तरको परिश्रम र लगनशीलतामाथि नै निर्भर रहेको हुन्छ । यही कुरालाई मनन् गरेर हामीले मस्ष्किको सही उपयोग गर्नसक्ने हो भने सफलता प्राप्तिमा हामीलाई कसले पो छेक्न सक्ला र ? कसले पो रोक्न सक्ला र ?

मस्तिष्कको कार्यलाई शारीरिकरुपमा भन्नुपर्दा यसले हाम्रो मुटुको धड्कन, श्वासप्रश्वास, पाचन प्रक्रिया र हाम्रो शरीरमा भइरहने अन्य कतिपय क्रियाकलापहरुलाई नियन्त्रण गर्ने गर्दछ । यसरी नियन्त्रण गर्ने काम हाम्रो मस्तिष्कले दिन होस् वा रात प्रत्यक क्षण र अझ भन्ने हो भने सेकेन्ड सेकेन्डमा हामीले चालै नपाउने गरी गरिरहेको हुन्छ । हामी सुतेको बेला पनि अथवा निदाएको बेला पनि यो प्रक्रिया चलिरहेको हुन्छ । मस्तिष्क हामी जीवित रहेसम्म क्रियाशील भइरहन्छ । वास्तवमा मस्तिष्क निष्क्रिय भएपछि नै चिकित्सकले पनि रोगीलाई मृत घोषणा गर्दछ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया