Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगरवी लामिछानेको नानीमैया दाहाल नियति

रवी लामिछानेको नानीमैया दाहाल नियति


काठमाडौं । गत बिहीबारको यसै ‘स्तम्भ’मा ‘प्रजातन्त्रको आदर्श छोडेका दिन कांग्रेस समाप्त हुन्छ’ भन्ने जननायक बीपीको भविष्य दृष्टि बीपी कथनको २९ वर्ष (तीन दशक)पछि अक्षरंश कमा र फुलिस्टपसहित सत्य साबित भएको आफू दशी प्रमाण साक्षात्कार भएको एउटा उदाहरण अभिलेख गरेको थिएँ । १९ वर्षको उमेरमा बीपीको क्रान्तिमा बम बोकेर लामो कारावास झेलेर अहिले ६९ भइसक्दासम्म अहोरात्र कांग्रेस भएर अहिलेसम्मका हरेक चुनावमा कांग्रेसको चुनावचिह्न ‘रुख’मा भोट हाल्दै आएकोमा यसपटक पनि ‘रुख’मै भोट हाल्न निर्वाचन बुथमा जाँदा ‘मतपत्र’मा छाप लगाउन ‘रुख’ चिह्न नै रहेनछ । यसबाट ‘कांग्रेस समाप्तको बाटोमा गइसकेको’ एउटा पाठ्यक्रम उपलब्ध हुन्छ ।

भएको के भने आफ्नो भोटर लिस्ट ललितपुरमा भएकोले त्यहाँ शेरबहादुर, रामचन्द्र (हालका राष्ट्रपति), शशांक कोइराला, कृष्ण सिटौला, गगन थापा, प्रदिप पौडेल आदि इत्यादिहरूको कांग्रेसले माधवकुमार नेपालको एमाले फुटेको ‘समाजवादी पार्टी’ (भारतमा लालु यादव मुलायम सिंह यादवको पार्टीको नाम पनि समाजवादी नै छ)को चुनाव चिह्नमा भोट मागेका कारण ललितपुर जिल्लावासीले कांग्रेसको चुनाव चिह्नमा भोट हाल्न नपाएका हुन् । मेरी धर्मपत्नीले पनि ‘रुख’मा भोट हाल्न नपाएर रवी लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को चुनाव चिह्न ‘घण्टी’मा भोट हालेको अघिल्लो स्तम्भकै प्रसङ्गबाट ‘रवी लामिछानेको नानीमैया दाहाल नियती’मा एक–दुई लागेका—देखेका कुरा अघि सार्छु ।

कांग्रेस समाप्तिको सन्दर्भमा त मैले अहिले साक्षात्कार भएर मात्र भन्न थालेको भन्ने होइन । मानिसको जीवनाधार ‘प्राण’ भएजस्तै राजनीतिक दलहरूको प्राणाधार विचार हुनेगरेको सन् १७८९ को ‘फ्रान्सेली क्रान्ति र राजसंस्था पुनस्र्थापना’ कालखण्डदेखि नै संसारभरि स्थापित हुँदै आएको मूल्य मान्यता हो । यसको अर्थ ‘प्राण गएको मानिस र विचार हराएको पार्टी एउटै हो– लास । लासको प्रकृति समयमै अन्त्येष्टि भएन भने त्यो कुहुन्छ, गनाउँछ र रोग फैलाउन थाल्दछ । जुन दिन कांग्रेसले संवैधानिक राजसंस्था (संवैधानिक राजसंस्थाको परिभाषा सदा एकनास हुँदैन । समयको मागअनुसार परिमार्जन र नयाँ परिभाषा हुँदै जान्छ)को बीपी विचार छाडेर विनाकारण नेपाल आमाका १७ हजारभन्दा बढी सपुतको हत्याको जिम्मा टाउकोमा बोकेर हिँड्न थाल्यो त्यसै दिनबाट कुहुन थालेको हो । धन्न १९ वर्ष बढी बीपी विचार बोकेर कांग्रेसको अध्यक्षको जिम्मेवारी निभाउनुभएका कृष्णप्रसाद भट्टराईको इतिहास पनि समाप्त भएन । सन्त नेता कहलिनुभएका विसं २०४७ को संविधान निर्माणका नायक भट्टराईजीले भने तत्काल ठाउँका ठाउँ विचार छोडेर लास भएकै दिन कांग्रेस परित्यागको घोषणा गरेर आफूलाई इतिहास श्रापित देश, जनता र प्रणालीका लागि पाप र श्राप हुनबाट जोगाउनुभयो ।

त्यसयताका कांग्रेस नेता रामचन्द्र, शेरबहादुर, कृष्ण सिटौला आदि इत्यादिका हर्कतहरूले देश, जनता र प्रणालीलाई कुन धरापमा पु-याएका छन्, मैले वर्णन गर्नै पर्दैन । इन्टरनेटको जमानाको सामाजिक सञ्जालहरूले सबै अभिलेख गरिदिएका छन् । भाबी पुस्तालाई पाठ्यक्रम भइसकेको छ । रबी लामिछानेले ‘बोको कराउँदा सातो जाने’ परिचय दिएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावका बखत हँसिया हथौडामा भोट माग्दै आफूलाई भाबी प्रधानमन्त्री दाबी गरेका र अहिले पाँचहजार हत्यारा साबित मिस्टर प्रचण्डलाई प्रधानमन्त्रीमा टिकाइरहन टाउको फोरिरहेका दृश्यबाट भाबी पुस्तालाई छर्लङ्ग हुन पर्याप्त हुन्छ । यहाँ मैले व्यक्ति गगन थापा या पूर्ण खड्का, प्रकाशशरण, विश्वप्रंकाश, प्रदिप पौडेल या शशांक, शेखरहरू आदि इत्यादि नै निजहरूको धन्धा राजनीतिको कुरा न गरेर नेपाली कांग्रेसको महामन्त्री या प्राधिकारहरूको कुरा गरेको हुँ ।

एक समय गिरिजा कांग्रेसका नेता सूर्यबहादुर थापा भएजस्तै अहिले देउवा, पौडेल कांग्रेसका नेता पुष्पकमल दाहाल मिस्टर प्रचण्ड (माओवादी) भएका छन् । विसं २०३७ सालको जनमत संग्रहमा नेपाललाई भरुभूमीकरणको डिजाइनअनुसार वन विनाशको राष्ट्रघात जनघातको नायक सूर्यबहादुर थापा मानिन्छन् । जुन आज कांग्रेस, एमाले, माओवादी, राप्रपा आदि इत्यादि । दलहरूको लुटतन्त्र मनपरितन्त्रमा आइपुगेर अधिराज्यव्यापी डोजर आतङ्क र पहाडका टुप्पा टुप्पामा भ्यु टावर निर्माण धन्धा अभियान नेपालआमालाई भौगोलिकरूपमै क्षतविक्षत तुल्याउने चरण चलिरहेको छ । जुन डिजाइनका विषयमा पनि नवजागरण पुस्तामा आकलझुकल जागरण प्रारम्भ देखिन थालेको छ ।

माओवादीको उद्घाटित तथ्य हेरौँ । तथाकथित १० वर्षे जनयुद्ध (रगतपच्छे दुर्भाग्य)का कथित नायक कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुन दिन अस्थिरताका खलनायक (विसं २०५१ को बहुमतको सरकार लत्याइएको मध्यावधि) गिरिजाप्रसाद कोइरालाका हातबाट टीको थापेर राजा ज्ञानेन्द्रद्वारा पुनर्गठित संसद्मा सांसद शपथ खाए, त्यही दिन हालको प्रचलित माओवादी पार्टीको विचार हराएको हो । कतिसम्म कुहिएर गनाएर रोग फैलाइरहेको उदाहरणका लागि टाढा जानै परेन । जनप्रियतामा ख्यातिप्राप्त प्राडा सुरेन्द्र केसीजस्ता आदि इत्यादि एउटा ठूलो बौद्धिक जमातले साँझबिहान भ्याईनभ्याई कमरेडबाट मिस्टर भएका प्रचण्डका (हालका प्रधानमन्त्री) सबै पोल खोलाखोल वर्णन भइरहेकाबाट बिस्तारै–बिस्तारै नयाँ पाठ्यक्रम उपलब्ध भइरहेकै छ । जम्मा तीन करोड नेपाली जनसंख्यामध्येका ८० लाखभन्दा बढी बलिया पाखुरीले विदेश (खासगरी खाडी मुलुकमा)मा कामदार भएर आर्जित राष्ट्रिय ढुकुटीमा डाका डालेर मिस्टर प्रचण्डले दुबहीमा ३२ अर्बको व्यापार मालिक भएका प्रमाण लिएर दुर्गा प्रसाईँहरू सडक तताइरहेकै छन् ।

‘लाउडा’ देखाएर ‘वाइड बडी’ भ्रष्टाचार गरेर पानी ट्यांकीमा पैसा लुकाएर रेडहेन्ड समातिएर समाचार भाइरल भएकाहरू जस्ता ठूला पदाधिकारी नेताहरू नै खड्ग ओली र विद्या भण्डारीका उत्तराधिकारीमा गणना आइरहेका छन् भनेपछि त्यो पार्टीलाई कांग्रेस माओवादीभन्दा कम खतरनाक रोग भएका व्याख्या गर्नु पनि एकप्रकारले बौद्धिक बेइमानी नै हुन पुग्छ । भोलि कुन–कुन पार्टी विचार हराएर कुहेर रोगको मात्रा फैलाएका अनुसन्धान भयो भने मुस्किलले एउटा नारायणमान विजुक्छेको पार्टीले भने अलिकति विचार (प्राण)को बीउ जोगाएको सायद ठानिएला ।

मेरी श्रीमतीजीले कांग्रेस समाप्तिको ‘रुख’ चिह्नमा भोट हाल्न नपाएर ‘घण्टी’ चिह्नमा भोट हालेको प्रसङ्गबाट रवी लामिछानेतर्फ ध्यान खिचिएको प्रसङ्गमा कुरो थाल्दा दलहरू कसरी देश, जनता र प्रणालीका लागि कोरोनाभन्दा पनि खतरनाक रोग भएका छन् भन्ने यति तथ्य उद्घाटित हुनु आवश्यक थियो । रवी लामिछाने अमेरिका बास त्यागेर सबैभन्दा लामो समय माइकमा बोलिरहन सक्ने भएर गिनिज बुकमा नाम लेखाएका भनेर पत्रकारितामा प्रवेश गरेदेखि नोटिसमा आएका हुन् । उनले नेपालमा पत्रकारिता थाल्दा दलहरूको हालत लगभग तिनका सबै ठूलाठालु नेताहरूलाई ‘रातभरि सपनामा १७ हजारभन्दा बढी प्रेतात्माहरूले कपाल लुछेर सुत्न नदिने र दिनभरि आम सर्वसाधारण नेपाली जनले धारे हात लगाएर सरापिरहने’ कथित संघीयता धरापमा परिसकेको अवस्था थियो । १० वर्ष अमेरिकाको आम जागरण देखेका भोगेका रवीले पत्रकारिताको आफ्नो कर्मक्षेत्र यसै धरातललाई बनाए । इन्टरनेट सामाजिक सञ्जालको फैलावटले आम नेपाली जागरण पनि मिस्टर प्रचण्डले झुक्याएर बेरोजगार खाडी मुलुक जान नपाएरु भौतारिरहेका युवायुवतीहरूलाई बन्दुक बोकाएका अवस्थाको भन्दा धेरै माथि आइसकेको थियो । रवी लामिछाने यति थोरै समयमा यति धेरै जनप्रिय भए कि समाजशास्त्रीय अध्ययनकै विषय बन्न पुगे । हुँदाहुँदा उनको लोकप्रियताको पारो यति माथि चढ्यो कि छोरी (भारतीय नागरिकसँग विवाह)लाई भरतपुर नगरपालिकाको मेयरमा चुनाव जिताउन आफू, प्रधानमन्त्रीको तागत, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई ‘हसिया हथौडा’ चुनाव चिह्नको प्रचार मञ्चमा उभ्याएर ‘रुख चिह्नमा भोट न दिएर प्रचण्डकी छोरीलाई जिताउनु होला’ भोट माग्न लागउँदा पनि जित्ने स्थिति देखिएन । त्यसपछि प्रचण्ड गुण्डागर्दी शैलीमा उत्रिएर दुनियाँले देख्नेगरी पुलिस प्रशासन निर्वाचन आयोग लगाएर मतपत्र च्यातेर छोरीलाई मेयरमा जितेको घोषणा गर्ने काम भयो । मिस्टर प्रचण्डको यस्तो हर्कतबाट चितौनवासी अपमानित, बेइज्जति, गुण्डाराजको आतङ्कले त्रसित भएर उकुसमुकुसमा थिए । उनीहरूमा प्रचण्डको विकल्प रवी लामिछानेमा देखा पर्न थाल्यो । ‘पाप’को ‘श्राप’ र ‘धर्म’को ‘फलिफाप’ शास्त्र बचन हो । संसदीय प्रणालीको ‘प्राणतत्व’ समाप्त पनि मिस्टर प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत गुटमुट्याएर मतपत्र च्यात्ने काम गरेका थिए । मतपत्र च्यातेर चुनाव जित्नुलाई प्रजातन्त्रको हत्या नै मानिन्छ । त्यो प्रचण्डबाट पाप भएकै थियो । श्रापका रूपमा रवी लामिछाने उदय भए । दुई पटक प्रधानमन्त्री भएका गिरिजा प्रसाद, शेरबहादुर, रामचन्द्रदेखि खड्ग ओली, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम, चित्रबहादुर केसीसम्म आदि इत्यादि सबैलाई ठेगान लगाउँदै जुँगामा ताउ लगाउँदै हिँडेका प्रचण्डको रवी लामिछानेको उदयले सातो गयो । चितवनमा रवीले पछार्ने पक्का भएपछि रातारात बाबुराम र शेरबहादुरको हारगुहार माग्दै गोर्खा पुगे । चुनावका बखत टीभीका पर्दाहरूमा प्रत्यक्ष अभिलेख दृश्यहरू भोलि पाठ्यक्रम बन्ने नै छ । जस्ता प्रकारले करछली ठगीशिरोमणी व्यापारी विनोद चौधरीले नवलपरासीको आफ्नो चुनाव क्षेत्रमा हरेक बुथका आसपास स्कुल या खेतबारीमा पाल टाँगेर चुनाव हुनु एक हप्ताअघिदेखि मासु, भात, रक्सी पाँचतारे शैलीका भोत भतेर सदाबहार गरेका थिए, प्रचण्डको चुनाव क्षेत्रमा चौधरीको भन्दा अझ बढी र भव्य भोजभतेर चलेको थियो । यति गर्दा पनि प्रचण्डलाई चुनाव जित्न कत्रो सकस भएको रेकर्ड हेर्दा सबै छर्लङ्ग भइहाल्छ ।

‘रवी लामिछानेको नानीमैया दाहाल नियती’मा कुरो प्रस्ट पार्न मलाई लाग्छ यस्ता स्तम्भ लेखनमा माथि वर्णित पृष्ठभूमि नै धेरै भइसकेको छ । नानीमैया दाहालको अभिलेख तथ्य के हो भने नेपाली राजनीतिको क्षितिजमा एक पटक उनी अहिलेका रवी लामिछाने, ऋषि धमला, गगन थापाहरूको सेलिबेरिटीभन्दा पनि धेरै माथिल्लो स्तरको थियो । उनी साधारण सूर्यबहादुर थापाजस्ता पञ्च नेताहरूलाई भनेको काम नगरी दिए सारी उचालेर देखाइदिने टाइप कि एक खाँटी पञ्चायत कार्यकर्ता थिइन् । यो विसं २०३८ सालको कुरो हो । उनी काठमाडौं चुनाव क्षेत्र (त्यसबखत अहिलेका सबै चुनाव क्षेत्र एउटै थियो)बाट राष्ट्रिय पञ्चायत सदस्य (सांसद)का लागि स्तन्त्र उम्मेदवार उठिन् । अहिलेका सम्पूर्ण संघीय नेतृत्वहरू प्रचण्ड, देउवा, माधवकुमार, खड्ग ओली सबै एक भएजस्तै त्यसबखतका पञ्च नेताहरू सूर्यबहादुर, लोकेन्द्र बहादुर, जोगमेयर आदि इत्यादि सबै ठूला नेताहरू नानीमैयालाई हराउन मैदानमा ओर्लिएका थिए । किनभने उनको जीत हुँदा व्यवस्थाको हार हुन्थ्यो । तर अहिलेका रवी लामिछानेहरूले कल्पना गरेभन्दा अत्यधिक बहुमतले चुनाव जितिन (प्रचण्ड शैलीको धाँदली पञ्चायतकालमा पनि हुँदैन थियो) । एसियामै वैचारिक पत्रिका भनेर अत्यन्त लोकप्रिय भारतबाट प्रकाशित ‘दिनमान’ साप्ताहिक म्याग्जिनले कभरपृष्ठमा नेपालको नक्सा बनाएर नयाँ सूर्य उदाइरहेको देखाएकोमा सूर्यको अनुहारचाहिँ नानीमैया दाहालको बनाइएको थियो । सायद ‘दिनमान’को त्यो कभरपृष्ठलाई गिनिज बुकले आफ्नो रेकर्डमा पनि राखेको छ । अस्तु ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया