पहिचान बनाउन मिहिनेत गरौँ
काठमाडौं । कतिपय अहिले पहिचानको लागि अझै पनि राज्यसँग लड्दै छन् । अर्थात् उनीहरू राज्यसँग आफ्नो पहिचान माग्दै छन् । तर राज्यले उनीहरूलाई पहिचानपत्र धेरै अगाडि दिइसकेको छ । उनीहरूलाई पहिचानको महत्व थाहा नहुँदै राज्यले पहिचानपत्र धेरै अगाडि नै दिइसकेको छ । अहिले जो–जो पहिचानको लागि लडेको भनेर नेतृत्व गरिरहेका छन् उनीहरू राज्यले दिएको पहिचानपत्र खल्तीमा राखेर वा जतनले घरमा दराजमा वा बाकसमा लुकाएर लडिरहेका छन् । पहिचान बनाउने हो माग्ने होइन । राज्यले पहिचान बनाउन सहजीकरण गरिदिने मात्र हो । राज्यले समान किसिमले कानुन बनाएर पहिचानपत्र वा परिचयपत्र दिने हो जो विनाभेदभाव दिइरहेको होस् ।
अम्बर गुरुङ, नारायण गोपाल, गोपाल योञ्जन, तारादेवी, अरुणा लामा आदि धेरैले आ–आफ्नो पहिचान वा परिचय बनाएका छन् । उनीहरूले लगन मिहिनेत र संघर्षले आ–आप्mनो पहिचान र परिचय बनाएका छन् नेपाली समाजमा । उनीहरू कुनै पहिचानवादीले खोजेजस्तो राई, गुरुङ, नेवार, लामा आदि सङ्कीर्ण पहिचानमा बाँधिएर बाँचेनन् । उनीहरू त नेपाली गीत–संगीतका उपल्लो स्तरका गायकगायिका तथा सङ्गीतकारको पहिचान बनाएर मृत्युपछि पनि बाँचिरहेका छन् ।
यो र यस्तो पहिचानको लागि पो लड्नुपर्ने हो त पहिचानवादीहरूले । उनहरूले खोजेजस्तो पहिचानपत्र त राज्यले उनीहरूले पहिचानको आन्दोलन गर्नुभन्दा धेरै पहिला नै दिएकै छ नि । तीनपुस्ते खुलाएर धनीपुर्जामा पहिचान दिएको छ राज्यले । नागरिकतामा पनि मागेजस्तै पहिचान दिएको छ । जनगणनामा पनि भनेको पहिचान प्रमाणित गरिदिएको छ राज्यले । पेसा, सीप, योग्यता, व्यवसाय र जिम्मेवारीको पनि पहिचान या परिचयपत्र दिएकै हुन्छ राज्य वा राज्यसँग प्रत्यक्ष अप्रत्यक्ष जोडिएका निकायहरूले ।
पहिचान आफैँ बनाउने हो । यो बदलिँदै जान्छ । पहिचानका बहुआयामिक बाटा र पाटा हुन्छन् । पहिचान स्थायी हुँदैन । स्वयं पहिचानवादीको पहिचान फेरिएको छ भनेर उनैले महसुस गरेको हुनुपर्दछ । हिजो गाउँमा कुनै जेठा, कान्छा, छेउघरे पीपलबोटे या अरु कुनै पहिचान दिएको कसैको छोरा वा छोरीको पहिचानले चिनिन्थे उनीहरू । कुनै समय विद्यार्थी वा शिक्षकको पहिचान बनाएका थिए होला । कहिले हाकिम भए होला, कहिले मन्त्री ।
नेपालमा देवकोटा थरका धेरै परिवारहरू छन् । कतिपय राष्ट्रियस्तरमा यो वा ऊमा चर्चित भएर आ–आफ्नो पहिचान र परिचय बनाएका छन् । तर यति हुँदाहुँदै पनि देवकोटा भन्नेबित्तिकै नेपालीहरूले मुनामदनका रचियता महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नै ल्याउँछन मनभरि । रामायणसँग जोडिएर भानुभक्त आदिकविको पहिचान बनाएर देश–विदेशका नेपालीमाझमा सम्मानित छन् । कुनै शेर्पाले हिमालसँग जोडिएर आफ्नो पहिचान बनाएका छन् धेरै पल्ट सगरमाथा चढ्ने, थोरै समयमा चढ्ने वा पहिलोपल्ट चढ्ने भनेर । उद्योगी व्यवसायी विनोद चौधरीले विश्वमा नै अर्बपति नेपालीको पहिचान बनाएका छन् ।
पेले, मेराडोना, मेसी, रोनाल्डोको पहिचान वा परिचय के हो भनेर प्रश्न गरो भने खेलकुद अझ फुटबलमा चासो राख्ने जो कोहिले भन्ने छन् उनीहरू फुटबलका महान् खेलाडी हुन् । उनीहरूको राष्ट्रियताको पहिचान पनि जान्न चाहनेले भन्नेछन् क्रमशः ब्राजिल, अर्जेन्टिना र पोर्चुगल । महम्मद अलिले महान् बक्सिङ खेलाडीको पहिचान बनाएका छन् । त्यस्तै रिचर्डसन र सचिन तेण्डुलकरले महान् क्रिकेट खेलाडीको पहिचान बनाएका छन् । पहिचानको लागि लड्नेहरूले कार्लमाक्र्स सेक्सपियर, गान्धी, माओ, आइस्टाइन आदिजस्ता कति लामो सूची बनाउन सक्छन् काम गरेर पहिचान बनाएकाहरूको । त्यसो त नराम्रो काम गरेर आफ्नो कुपहिचान बनाउनेहरू पनि पाइन्छन् विश्वभरि जताततै ।
रामायण लेखेर वाल्मिकीले महाभारत लेखेर, व्यासले आ–अफ्नो पहिचानलाई अमर बनाएका छन् । विरोध गरे पनि समर्थन गरे पनि इतिहासमा सधैँ चर्चामा भइरहने पहिचान बनाएका छन् राजाहरूले पनि । प्राचीन र आधुनिक नेपालका राजाहरू यालम्बर, अंशुवर्मा यक्ष मल्ल, पृथ्वीनारायण महेन्द्र आदि आदि ।
नेपालको प्रजातन्त्रिक इतिहासमा नेपाल प्रजापरिषद्ले प्रथम राजनीति दलको पहिचान बनाएका छ भने यसका सभापति टंकप्रसाद आचार्यले नेपालको राजनीति दलका प्रथम सभापति पनि । यही प्रथम राजनीति दलको निरङ्कुशता विरोधी प्रजातन्त्रिक लडाइँमा होमिने दृढ अठोट बोकेका चार जना युवाहरू क्रमशः गंगालाल, दशरथ चन्द, धर्मभक्त, शुक्रराज नेपालका सम्मानित राजनीतिक सहिदको पहिचान बनाएर बाँचिरहेका छन् जहिल्यै नेपाली जनताको मन मस्तिष्कमा । त्यही प्रजापरिषद्को जरो र लहरोबाट विकसित नेपाली कांग्रेसले नेपाली प्रजातन्त्रको प्रतिनिधि प्रमुख राजनीति दलको पहिचान बनाएको छ । र त्यही दलका संस्थापक एवं वैचारिक नेता बीपी कोइरालाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीको पहिचान समेत बनाएका छन् । त्यस्तै पुष्पलालले नेपाल कम्युनिस्टको संस्थापक महासचिवको पहिचान बनाएका छन् भने मनमोहन अधिकारीले प्रथम कम्युनिस्ट प्रधानमन्त्रीको पहिचान बनाएका छन् । रामवरण यादवले नेपालको प्रथम गणतान्त्रिक राष्ट्रपतिको र विद्या भण्डारीले नेपालको प्रथम महिला राष्ट्रपतिको ऐतिहासिक पहिचान बनाएका छन् । अब पहिचानका अरु दृष्टान्त आवश्यक छैन र गौरवशाली नेपाली पहिचानलाई खण्डित वा ओझेलमा पार्ने सङ्कीर्ण र राजनीतिक स्वार्थको कुनै जातीय पहिचानको आन्दोलनको जरुरी छैन ।
जातको पहिचानलाई नामको पहिचानले छोप्न सक्छ । नामको पहिचानलाई कामको पहिचानले छोप्न सक्छ । कामको पहिचानलाई पदको पहिचानले छोप्छ । कतिपयसँग ठाउँको पहिचान मात्र पनि हुनसक्छ । पहिचान परिवर्तनशील हुन्छ । एउटै जातिभित्र पनि अनेक पहिचान हुन्छन् भने एउटै व्याक्तिसँग पनि अनेक पहिचान हुन्छ । पहिचानको फाँट क्षेत्र व्यापक हुन्छ । पहिचान एउटै गुन्द्रीमा पलेटी कसेर बसिरहने कुनै स्थायी कुरो होइन । यो परिवर्तन हुन्छ । स्था पहिचान भनेको विशेष गुण र विशेष क्षमता मात्र हो । शिक्षा, ज्ञान, काम क्षमता र समृद्धि पहिचान बदल्छ पहिचान दिन्छ । एउटै पहिचानको राजनीति आफैँमा अप्राकृतिक छ ।
जहाँसम्म अधिकारको लडाइँ छ यो सबैले जारी राख्नुपर्दछ । समानताको लडाइँ छ जारी राख्नु पर्दछ । पहिचान र अधिकारको लडाइँलाई छ्यासमिस पारियो भने यसले दिने गञ्जागोल मात्र हो । आफ्नो सांस्कृतिक पहिचान मेटाउँदै पश्चिमा सांस्कृतिक पहिचान अँगाल्ने अनि आफू आफ्नो पहिचानको लागि लडेको भन्ने पाखण्ड राजनीतिले समस्या मात्र दिन्छ समाधान दिँदैन । यो पनि साँचो हो जीवनको यात्रामा पहिचानका अनेक चौतारीहरू भेटिँदै जान्छन् भने अनेक पहिचानका चौतारीहरू मेटिँदै पनि जान्छन् । पहिचान स्थापित र विस्थापित हुने क्रम चलिरहन्छ । पहिचानको लागि लड्नेहरूले यो तथ्यलाई बिर्सनु हुँदैन ।
पहिचान बनाउने हो कागजको फारम भरेर राज्यसँग मागेको पहिचानपत्र राज्यले दिएकै छ । त्यो ठूलो कुरो भएन । नेपालमा भएका जातीय पहिचानलाई विशेषज्ञको राय सुझाव लिएर संविधानमा अनसूची बनाएर सूचीकृत गर्न सकिन्छ । जातीय पहिचानको राजनीतिले राष्ट्रको साझा पहिचान र सांगठित तागतलाई कमजोर र खण्डित पार्न सक्छ भनेर सबै सचेत हुनुपर्दछ । पहिचानको लडाइमा विदेशीहरूले अर्थ र मन्त्रको लगानी गरेर कतिपय मुलुकलाई स्थायी द्वन्द्वमा फसाएका उदाहरणबाट सबैले पाठ सिक्नुपर्दछ । क्षमताले दिने पहिचान दिगो हुन्छ सर्वस्वीकार्य हुन्छ । तपाईँले बनाएको पहिचान आजको लागि पनि होस् भोलिको लागि होस् सबैको लागि होस् र सम्मानित पहिचान समाज र राष्ट्रको साझा सम्पत्ति होस् । तपाईँको गौरवशाली अतीतका पहिचान बचाउने तागत पनि तपाईँ नै हो र भविश्यको पहिचान पनि तपाईँ नै हो । आफूलाई अतिवादी र सङ्कीर्ण पहिचानको लडाइँको बाटो हिँड्नबाट आफूलाई बचाउने या अलग्याउने पनि तपाईँ नै हो । आफूलाई पहिचानको फराकिलो फाँटमा लैजाने तागत अरु कोही नभएर तपाईँ आफू नै हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया