Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगके देशलाई वृद्धाश्रम बनाउने हो ?

के देशलाई वृद्धाश्रम बनाउने हो ?


काठमाडौं । लाज, सरम र धर्म भन्ने शब्दहरू परिवारले बच्चालाई सिकाउने र ठूलाबडाबाट सुन्नुपर्ने विषय थियो । यो यति शक्तिशाली थियो कि कुनै कुरा बिग्रियो या बिगा-यो भने डर हुन्थ्यो । यी शब्दहरूले अनुशासनमा बस्न र बसाउन मद्दत गथ्र्यो ।

अलि ठूलो भएपछि परिवारको अलावा टोल र छिमेकबाट धेरै सिक्ने सिकाउने मौका पाउँथ्यो । टोलका साथीभाइ र छरछिमेकीहरू ठूलो परिवारको रूपमा बस्ने चलन थियो, एउटा सानो समाज जस्तैः समाजमा भएका गतिविधि थाहा हुन्थ्यो, सहभागी हुनुपर्ने हुन्थ्यो, खासगरी मर्दा र पर्दा । बोल्दा, सम्बोधन गर्दा आफूभन्दा ठूलालाई सम्मान, आदर गरी बाजे, बजै, आमा, बुबा, दाइ, दिदी, काका, काकी भनी सम्बोधन गरेको, सँगै खाने र रमाइलो गरेको आजसम्म पनि याद आउँछ । आजकलको जस्तो औपचारिक बाल विकास केन्द्र (स्कुल)हरू थिएन तर सानैदेखि बाल विकासका अनौपचारिक शिक्षाको प्रक्रिया घर र समाजबाटै सुरु भइसकेको हुन्थ्यो ।

जब स्कुल जाने क्रम सुरु हुन्छ परिवार, टोल, छिमेकका ठूला सदस्यहरू अलावा स्कुलका गुरुहरू, स्कुले दाइदिदीहरूको माया र निगरानीमा बस्नुपर्ने हुन्थ्यो । गल्ती गर्ने छुट थिएन । गरिहाले सबैको अगाडि लाज मर्ने गरी पश्चात्ताप गर्नुपर्ने हुन्थ्यो । स्कुलमा शिक्षा हासिल गर्न, खेलकुदलगायत नयाँ–नयाँ कुरा सिक्ने साथै भाइचारा बढाउने थलो हुन्थ्यो भने घर र समाजमा आफ्ना पहिचानका भाषा, भेषभूषा, खानपिन, संस्कृति, संस्कार, सम्पदा, परिवारिक महत्वबारे सिकिन्थ्यो । लबोरेटरी स्कुल पढ्दाको त्यो समय याद आउँछ जब जीवनउपयोगी कौशल र प्रविधिहरू रमाईरमाई सिकेको । व्यक्तित्व विकास र कार्यक्षेत्रको लागि ठूलो मद्दत पुगेको थियो र छ । समाजबाट अनौपचारिक शिक्षा तथा स्कुलको औपचारिक शिक्षाले आ–आफ्नो क्षेत्रमा प्रायजसोले सफल नेतृत्व प्रदान गरेको देखेको छु ।

आज सिक्ने र सिकाउने प्रविधि पहिलाको भन्दा धेरै नौलो र भिन्न भइसकेको छ । डिजिटल प्रविधिहरू, कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेनस) आदिको आगमन र यसको धेरै रफ्तारमा विकासले गर्दा विश्व नै एउटा सिंगो समाज (ग्लोबल भिलेज) हुनपुगेको छ । संसारको कुनै पनि कुना किन नहोस् संवाद गर्न, सूचना आदानप्रदान गर्न र भएका गतिविधि हेर्न, सुन्न र बुझ्न खासै कठिन नहुने अवस्थामा परिणत भइसकेको छ । हाम्रो समाज पनि समयअनुसार बदलेको अवस्था छ ।
आईटी (इन्टरनेटको)को प्रयोगले गर्दा सामाजिक सञ्जाल, फेसबुक, टीभी, इन्स्टाग्राम, जुम, अनलाइन मिडियालगायत अरु प्रविधिहरूले गर्दा आज देशका कुना काप्चाका नागरिकहरूले समेत हात–हात, घर–घरमा मोबाइल फोन राख्न र प्रयोग गर्न पाएका छन् ।

संसारका गतिविधि हेर्न र रमाउन पाएका छन्, आफ्ना धारणा राख्न पाएका छन् । जनताको चेतनास्तरमा पनि उल्लेखनीय वृद्धि भएको जस्तो देखिन्छ । शिक्षाक्षेत्रमा पढ्ने र पढाउने शैली डिजिटल युगमा प्रवेश भइसकेको छ । इन्टरनेट, कम्प्युटर, ल्यापटप, नोटबुक, जुम, किन्डल आदि आदिको प्रयोग गर्न अनिवार्यजस्तै भइसकेको छ । जसले गर्दा शैक्षिक र प्राविधिक क्षेत्रमा ठूलो जागरण आई फड्को मारेको देखिन्छ । कृत्रिम बुद्धिमताको प्रयोगले गर्दा जीवनशैली नै फरक हुनपुगेको छ । सबै क्षेत्र खासगरी स्वास्थ्य, शिक्षा, बैंकिङ, सञ्चार, यातायातलगायतका सेवामा धेरै सजिलो, छरितो, समयको बचत हुनपुगेको छ ।

यी सकारात्मक आगमनसँगसँगै नकारात्मक प्रवित्ति तथा कहिल्यै नसोचेका, कल्पनासम्म पनि गर्न नसक्ने पक्ष, घटनाहरू पनि भित्रिइएको पाइन्छ । साइबर क्राइम, अनलाइन मिडियाको चरम दुरूपयोग, अपराध, अपरहण, ठगी, बौद्धिक चोरी अहिले अनुमान गर्न नसकिने अवस्थामा पुगेको सुनिन्छ । परिवारभित्र र समाजसँगको सम्बन्ध पहिलाको भन्दा धेरै भिन्न हुनुको साथै सामाजिक संरचनामा व्यापक फेरबदल आएको छ । आज आफ्नै टोलका छरछिमेक चिन्ने र बोल्ने शैलीमा फरक आएको छ । बाह्य संस्कृति अँगाल्न थालेको देखिन्छ । मानव स्पर्श (ह्यूमायन टच) मान्यता त हराउने हो कि भन्ने स्थितिमा पुगिसकेको देखिन्छ ।

सम्भवतः चिनजान पनि मुस्किलले हुन्छ होला । बच्चादेखि ज्येष्ठ नागरिकसम्म उत्पादकभन्दा अनुत्पादक क्रियाकलापमा व्यस्त भएको देखिन्छ । बच्चाहरू मोबाइल, टीभी, कम्पुटर, ल्यापटप आदिमा व्यस्त हुने गरिन्छ भने आमाबुबाहरू अफिसको काम । ज्येष्ठ नागरिकहरू चाहिनेभन्दा बढी समय सामाजिक सञ्जलमा व्यस्त भएको पाइन्छ । अधिकांश, समूहमा भन्दा कुनै आईटी उपकरणको प्रयोग गर्ने र एक्लै आनन्द लिनेगरेको गुनासो घर–घरको कहानी हुनपुगेको छ । परिवारका सदस्यहरूबीच आपसमा संवाद गर्ने, मिलेर खेल्ने, सँगै खाना खाने समेत समय नहुँदा, मौका कुर्नुपर्ने जमाना आइसकेको छ । जुन संस्कारमा पहिलेका पुस्ताहरूले जीवन बिताए लाज, सरम र धर्मको परिभाषा आफ्नै ढंगले बुझ्न थालेको देखिन्छ । बच्चैदेखि डिजिटल कल्चरमा हुर्कनुपर्ने बाध्यता हुनपुगेको छ ।

गाउँघरका विद्यार्थी, युवाहरू राम्रो पढाइ र रोजगारीको लागि सुविधासम्पन्न स्थानको खोजीमा गाउँबाट काठमाडौंलगायत देशका विभिन्न सहरहरूतिर बसाइँसराइ तथा सक्नेहरू बैंक वा मिटरब्याजीसँग ऋण लिई देशबाहिर खाडी, मलेसिया, कोरिया एबं विकसित देशतिर जाने क्रम बढ्दो देखिन्छ । वर्षौँको गृहयुद्धले गर्दा चाहना हुँदाहुँदै पनि गाउँबाट सहर पलायन हुनुपरेको यथार्थ नकार्न सकिँदैन । जसका कारण सानाठूला सहरहरूमा जनसंख्याको चाप, सेवाको तुलनामा धान्नै नसक्ने अवस्थामा पुगेको छ । काठमाडौं उपत्यकामा स्थानीय रैथानेभन्दा कैयौँ गुणा बसाइँसराइ गरी बाहिरबाट आएकाहरूले ओगटिसकेको देखिन्छ ।

काठमाडौंमा बसोबास गर्नेहरूमा स्थानीय रैथाने, बसाइँसराइ गरी यहाँकै मतदाता भइसकेका जसको आफ्नै सम्पति समेत भएका, काम र अध्ययनको सिलसिलामा अस्थायी बसोबास गरेका तर मतदातासूचीमा नाम नभएका र आफ्नो सम्पत्ति नभएका, छोटो समय कामको लागि आएका (स्वास्थ्यको लागि, आफन्त भेट्न, घुम्न आएका) र विदेशी पर्यटकहरू आउँछन् । हाल यहाँको जनसंख्या लगभग ६० लाखभन्दा बढी देखिन्छ । सबै प्रकारका जनताले पाउनुपर्ने सेवाहरू सर्वसुलभ हुनसक्ने अवस्था देखिँदैन । महंगीको मार दिनहुँजसो आकाशिएको देखिन्छ ।

जनसंख्याको बढ्दो चाप आदिले गर्दा काठमाडौंको सम्पदा, संस्कृति, गुठी आदिको समरक्षण, प्रवर्द्धन र संवर्द्धन गर्दै आएका पुराना स्थानीय बासिन्दाहरू काठमाडौंबाटै विस्थापित हुने क्रम सुरु भएको देखिन्छ । यसबाट काठमाडौंको पहिचान नै लोप हुने हो कि प्रश्न उठिसकेको छ । सम्बन्धितहरूको ध्यान जानै पर्छ । लोकतन्त्रको आगमनपछि सम्पूर्ण देशवासीहरू देश समृद्ध हुने र विकासको फड्को मार्ने विश्वास गरेका थिए । दुर्भाग्य, जनताले अपेक्षाकृत विकास, निर्माणका काम गर्न सकेको देखिँदैन । विकास बजेट खर्च गर्न सकेको देखिँदैन भने बाह्य ऋण धान्न सक्ने अवस्थामा पुगेको देखिँदै छ ।

भ्रष्टाचार केन्द्रदेखि पालिकासम्म ब्यापक बन्दै, अनियन्त्रित भइसकेको देखिन्छ । हिजोसम्म राजनीतिबाहेक केही अर्थोपार्जन पेसामा नलागेका, केही नभएकाहरू आज आलिसान घर, गाडी र करोडौँ सम्पत्तिका मालिक भएका छन् । सरकारका कर्मचारीहरू पनि करोड, अरबका मालिक हुन भ्याएको बुझिन्छ । नवधनाढ्यहरू आकाश छुनेतिर लाग्दै छ भने गरिबहरू झन् गरिब हुँदै खानलाउन समेत धौधौ देखिन्छ ।

रोजगारी दिने क्षेत्रमा सरकारी स्वामित्वमा भएका उद्योग प्राय बन्द भएको अथवा चल्न नसक्ने स्थिति पुगिसकेको देखिन्छ । निजी क्षेत्रबाट सञ्चालित उद्योगहरूको हालत पनि ठीक हुन नसकेको सुनिन्छ । अधिकतम निजी क्षेत्रका उद्योगहरू विभिन्न बैंकसँगको मिलेमितोमा अरबौँ ऋण लिएर सञ्चालन गरोको तर ब्याजसम्म पनि नतिरेको वा तिर्न नसकेको अवस्थामा पुगेको छ । लघुवित्त संस्थाहरूको स्थिति दिनानु दिन खस्किएको र कतिपय बन्द समेत हुन पुगेको सुनिन्छ । जनता मारमा परेको र आफ्नै बचत समेत गुम्ने डर भएको छ ।

गाउँघरको मुख्य रोजगारीको माध्यम कृषि राम्रो हुन सकेको देखिँदैन । समयमा मलखाद नहुनु, सिँचाइको राम्रो व्यवस्था नहुनु, काम गर्ने जनशक्तिको अभाव, उत्पादन गरेका वस्तुको बाजार पाउन नसकी आफ्नै लागत पैसा समेत उठ्न नसक्दा कृषि क्षेत्रमा जनता आकर्षित हुनसकेको देखिएन । कक्षा १० उत्तीर्ण भएपछि कुटो, कोदालो समात्न नहुने र १२ कक्षा उत्तीर्ण भएपछि गाउँ बस्न नहुने नयाँ चलन सुरु भएको पाइन्छ ।

विदेशी रोजगार गरी फर्केकाहरू पनि गाउँ–घरमा बस्न रुचाएको देखिँदैन र सुविधा भएका बस्तीतिरै घरजम गरेको पाइन्छ । त्यस्तै सक्ने र भएकाहरूले पनि घरखेत बेचबिखन गरी सपरिवार सेवा सुविधा भएको स्थानमा पलायन भएको पाइन्छ । हालै सरकारको रिपोर्टअनुसार देश भर तीन लाख ५० हजारभन्दा बढी खाली घर (प्रयोगमा नआएको) देखिएको छ । हजारौँ रोपनी खेतीयोग्य जमीन बाँझो देखिन्छ ।

गाउँघरका अधिकांश सरकारी विद्यालयहरूको हालत पनि नाजुक देखिन्छ । शिक्षकशिक्षिका पर्याप्त मात्रामा नहुनु र भएकाहरू पढाइमा भन्दा राजनीतिमा बढी समय दिने हुँदा पढाइको स्तर बढाउन सकेको देखिँदैन । इच्छाशक्ति हुने शिक्षक शिक्षिकाहरूले भने धेरै राम्रो सञ्चालन गरेको धेरै उदाहरण नभएको होइन । निजी विद्यालयहरू सञ्चालनमा ल्याएको त छ तर महंगो शुल्कले गर्दा जनताहरू मारमा परेका छन् । डिजिटल आगमनको लागि चाहिने पूर्वाधारको अभावका कारण विद्यार्थीहरू गाउँमा बस्न चाहना हुँदा पनि बस्न सक्ने अवस्था रहेन ।

स्वास्थ क्षेत्रमा पनि सन्तोष लिने ठाउँ देखिँदैन । राम्रा चिकित्सकहरू सहरमुखी भएका कारण राम्रो स्वास्थ्य सेवा दिन सकेको देखिँदैन । राम्रो सुविधासम्पन्न दुवै सरकारी र निजी अस्पतालहरू पनि ठूला सहरहरूमा केन्द्रित भएका कारण गाउँबाट राम्रो सेवा लिन सहरतिर धाउनुपर्ने स्थिति जस्ताको तस्तै देखिन्छ । जताततै कीरैकीराले आक्रमण गरेको अवस्था छ । छिनछिनको सरकार परिवर्तनले सरकारी निकाय, कर्मचारीहरूले स्थायित्व पाउन सकेको देखिँदैन । मुखदर्शक बन्नु, भाषण गर्नुबाहेक समस्या समाधानका ठोस कार्यक्रम कार्यान्वयन गर्न सकेको देखिँदैन ।

हालको देशको जनगणना हेर्दा युवाहरूको वर्चश्व देखिन्छ । सरकार, राजनीतिक दल र नेताहरू, योजनाकार, विशेषज्ञ, सबैको मुख्य दृष्टि आर्थिकरूपमा सक्रिय यो समूहमा हुनुपर्ने र राम्रो परिचाल गर्नसके देश विकासमा छलाङ ल्याउन सक्ने वातावरण सिर्जना हुन जान्छ । ढिलो गर्ने समय पक्कै छैन । यदि यिनीहरूलाई बेवास्ता गरिएमा यसले आर्थिकरूपमा मात्रै होइन, सामाजिक संरचनामा समेत नभोगेको समस्या र चुनौती थप्न जान्छ ।

गाउँघरमा भएको पुर्खेउली सम्पत्ति रेखदेख गर्न वृद्धवृद्धा (ज्येष्ठ नागरिकहरू) र बच्चाहरू मात्र बस्ने थलो बनेको देखिन्छ । मर्दा लास उठाउने र घाटसम्म पु-याउने, बिरामी पर्दा स्वास्थ चौकी लाने जनशक्तिको समेत अभाव भइसकेको बुझिन्छ,  बेलैमा राजनीतिक दल र दलका नेताहरूले आफ्नो स्वार्थभन्दा माथि देश र जनताको हितमा ध्यान केन्द्रित नगरे देश कता जाने हो सोच्न समेत कठिन हुने देखिन्छ । युवाशक्तिको अभावमा के देशलाई वृद्धाश्रम बनाउने हो ?


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4


तपाईको प्रतिक्रिया