बेखर्ची पृथ्वीनारायण र बिसे नगर्ची
काठमाडौं । धेरै मानिसहरूलाई यो शीर्षक ‘बेखर्ची पृथ्वीनारायण’ शब्द मन नपर्न सक्छ । यो शब्दले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको अपमान भयो भन्ने अर्थ निकाल्न पनि सक्छन् । तर यो यथार्थ होइन । यथार्थ के हो भने यो पृथ्वीनारायणको सम्मान हो, इतिहासको सम्मान हो विनम्रताको सम्मान हो तथ्यबाट खोजिएको सत्यको सम्मान हो । इतिहास, योगदान र सहकार्यको सम्मान हो । ‘साना दुःखले अर्ज्याको मुलुक होइन’को सम्मान हो । कति आर्थिक अभावको दुःखबाट अघि बढेको रहेछ नेपाल एकीकरण अभियानको सम्मान हो ।
यो सत्य हो पृथ्वीनारायण शाहले विशाल नेपालको सपना देखेर यसको लागि साहसिला कदम चालिसकेका थिए । उनीसँग उच्च मनोबल भएका गोर्खाली जन र जवान त थिए तर ती उच्च मनोबलका लडाकाहरूका लागि उच्चस्तरका हतियार थिएनन् । उनलाई हतियार चाहिएको थियो तर हतियार किन्ने पैसा थिएन । वास्तवमा उनी बेखर्ची नै थिए । त्यसैले उनी बेखर्चले छटपटिएका थिए । यही छटपटीले उनी राजाका पाइलालाई राजाको दरबारबाट जनताको घरबारतिर बढायो । उनी राजा थिए बिसेलाई दरबारमा लिएर आऊ भनेर सिपाही पठाउन पनि सक्थे तर उनले त्यसो गरेनन् आफैं झरे बिसे नगर्चीकोमा । उनीसँग नेपाल एकीकरणको सपना मात्र थियो सामन्ती अहंकार थिएन । उनी तिर्खा थिए त्यसैले उनले ठाने, खोलो होइन तिर्खाले नै धाउनु पर्छ । उनी तिर्खा भएर खोलो बिसेकोमा झरे ।
उनले कसैलाई सोधेको थियो भने जवाफ पाउँथे, महाराज भएर पनि दमाइको घरमा झर्ने हो र ? यो राजा र राजमुकुटको सम्मान होइन सरकार भन्ने थिए होला । उनी बिसेकोमा गएपछि थाहा पाउनेहरूले भने होलान्, राजा भएर पनि आफ्नो मर्यादा राख्न नजान्ने आफू दमाईकोमा जाने हो, दमाईलाई दरबारमा तान्नुपर्ने होइन ? पृथ्वीनारायणमा सामन्ती अहंकार थिएन राष्ट्रनिर्माताको संस्कार थियो । जनताबाट सिक्ने जनतालाई गुरु मान्ने एउटा राजनेताको विनम्रता थियो । पृथ्वीनारायणको नेत्वत्वमा एकीकरण भएको विशाल नेपालमा धेरै पछि एक जना महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका थिए, ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ पृथ्वीनारायणले त्यसैबेला नै दिल हेरेका थिए जात हेरेका थिएनन् । उनले जात बुझेका थिएनन् दिल बुझेका थिए । वास्तवमा पृथ्वीनारायण शाह ठूला दिलका भएको कारणले नै ठूलो नेपाल निर्माण गर्न सफल भएका हुन् ।
पृथ्वीनारायण शाहले बिसेमा केही छ भनेरै झरेका थिए । समस्याको समाधानको उपाया बिसेले केही न केही निकाल्छ भन्ने विश्वासमा नै दरबारका पृथ्वीनारायण शाह बिसे नगर्चीको घरबारमा झरेका थिए । पृथ्वीनारायणको आशालाई निराशामा लगेनन् बिसेले बरु विश्वासको शक्ति दिएर दरबारमा चढाए पृथ्वीनारायण शाहलाई । लाग्छ बिसे नगर्चीमा पनि कहीँ न कहीँ गोरखनाथको छायाँ परेकै हुनुपर्छ । पृथ्वीनारायण शाहलाई थाहा थियो, बिसे बुबा राजा नरभूपाल शाहको पालामा नै दरबारको निकट सूचीकार मात्र थिएन दरबारलाई चाहिएको बेला सल्लाह दिने अनुभवी सल्लाहकार पनि हो भन्ने ।
नेपाल एकीकरण अभियानलाई अघि बढाउन बेखर्ची भएका पृथ्वीनारयण शाह खर्च जुटाउने उपायाको खोजीमा बिसे नगर्चीको घरमा झरेका थिए । बिसे नगर्चीले त गोरखाबाट नेपाल एकीकरणको लागि जनसहभागिता कोषको शिलन्यास नै पो गरिदिए जसको बलमा पृथ्वीनारायण शाहले काँशी गएर हतियार किनेर ल्याएर विशाल नेपालको उद्घाटन नै गर्न सफल भए । पृथ्वीनारायण शाहलाई बिसे नगर्चीले पहिलो एकीकरण जनसहभागिता कोषको शिलान्यास मात्र गरेनन् कि यो कोषलाई ठोस र सार्थक बनाउने सोच पनि दिए पृथ्वीनारायण शाहलाई । बेखर्ची पृथ्वीनारायणमा बिसेको कोषको सोचले अब नयाँ जोस भरिएको थियो । त्यही सोचले भरिएको नयाँ जोस लिएर बेखर्ची राजा पृथ्वीनारायण शाह खर्चको जोहो हुने विश्वासमा बिसे नगर्चीको घरबारबाट गोरखा दरबारमा फर्किए । निराश र बेखर्ची पृथ्वीनारायण शाह बिसे नगर्चीकाबाट एउटा शक्ति बोकेर फर्किए ।
आफ्ना राजा पृथ्वीनारायण शाहलाई एकाबिहानै आफ्नो पिढीमा स्वागत गर्न पाउँदा बिसे नगर्ची धेरै नै खुशी भए । उनले पैसाको अभावले छटपटिएका राजा पृथ्वीनारायण शाहका समस्यालाई ध्यान दिएर सुने । राजा पृथ्वीनारायण शाहलाई काशी गएर हतियार खरिद गर्न १२ हजार रुपैयाँ चाहिएको रहेछ । १२ हजार पैसा निकाल्ने उपाया वा पैसा भएको साहुको सूचना माग्न उनी बिसे नगर्चीकोमा झरेका थिए । पृथ्वीनारायणको समस्या सुनेपछि एकछिन गमेर बिसे समाधान भेटेको विश्वासको मुखाकृति लिएर घरभित्र पसे ।
पृथ्वीनारायण भने यो बिसे केही जवाफै नदिएर किन भित्र पस्यो भनेर छक्क परेर बसिरहे । बिसेले भित्रबाट आत्मविश्वासको साथ आएर भने, ‘महाराज हात थापियोस् ।’ पृथ्वीनारायणले पनि अनौठो मान्दै हात थापे । बिसेले राजा पृथ्वीनारायण शाहको हातमा एक रुपैयाँका मोहर राखिदिएर भने, ‘महाराज अब १२ हजारको समाधान निस्कियो ।’ पृथ्वीनारायणले रिसाउँदै भने, ‘बिसे ठट्टा नगर न म तिमीसँग भीख माग्न आएको हुँ ? एक मोहरले १२ हजारको समाधान निस्कन्छ ?’ बिसेले जवाफ फर्र्काए, ‘महाराज रिसाउने होइन सोच्ने हो यो समाधान हो । हामी गोरखामा १२ हजार घरधुरी छौँ सबैले ठूलो र बलियो गोरखा चाहेका छन् । सबै धुरीबाट यसरी नै एक मोहरको सहयोग भनियोस् सबैले खुशीको साथ एक मोहर दिनेछन् । अनि १२ हजार लिएर हतियार खरिद गर्न काँशी जानुहोस् ।’ बिसेको कुरा पृथ्वीनारायणको घतमा आयो र भने, ‘स्याब्बास बिसे म साइतमा नै तिम्रो घरमा आएछु । बुझ बिसे अब गोरखाले गोरखनाथको आशीर्वाद पायो ।’ उज्यालो पृथ्वीनारायण शाह ऊर्जाले भरिएर गोरखा दरबारतिर उकालो चढे । मानौँ अहिले उनको खल्तीमा एक मोहर होइन १२ हजारका मोहर छन् ।
बिसे नगर्चीले राजा पृथ्वीनारायण शाहलाई दिएको एक मोहर नेपाल एकीकरणको लागिको पहिलो जनसहभागिताको कोषको शिलन्यास हो । यसको ऐतिहासिक महत्व छ । यदि यो समयमा बिसेबाट एक मोहर र हरेक घरघुरीबाट एक/एक मोहर संकलन गर्ने सोच ऐन मौकामा पृथ्वीनारायण शाहले पाएका थिएनन् भने भन्न सकिन्न पृथ्वीनारायणको एकीकरण अभियान कति पर धकेलिन्थ्यो । उनका यी मुहुर्त धकेलिएर भन्न सकिन्न नेपाल एकीकरण सम्भव हुन्थ्यो हुँदैनथ्यो । जे होस् नेपाल एकीकरण हुनु थियो सबै समस्याका गाँठाहरू यथासमयमा खुस्किँदै गए ।
राज्यसँग जनता राज्यको लागि जनसहभागिता हो, बिसे नगर्चीको एक मोहर र एक मोहरको अभियान । यसको उच्च मूल्यांकन हुनुपर्छ । बिसे नगर्चीको जति चर्चा हुनुपर्ने त्यति भएको छैन र जति सम्मान हुनुपर्ने त्यति भएको छैन । अब हुनुपर्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट निर्वाचित जनप्रतिनिधि पनि भएकोले प्रचण्डलाई अहिले बिसे नगर्चीलाई सम्मान गर्ने उचित अवसर छ । किनभने बिसे नगर्ची पनि गोरखाकै बासिन्दा थिए । उनको पनि नेपाल एकीकरणमा ठूलै योगदान छ ।
गोरखा जिल्लाबाट प्रतिनिधिसभाको याने सांसदको उमेदवार भएको र प्रचारको क्रममा प्रचण्डले पृथ्वीनारायण शाहको सालिक तोडफोड वा ढाल्न आफूले कहिल्यै कसैलाई आदेश नदिएको र म सालिक ढाल्ने विपक्षमा भएको मात्र भनेका थिएनन् म गोरखामा पृथ्वीनारायण शाहको सालिक बनाउने काममा अग्रसरता लिन्छु समेत भनेका थिए । यसै सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले एकैपल्ट पृथ्वीनारायण शाह र बिसे नगर्चीलाई सम्मान गरेर आफ्नो बचनको पालन गर्नसक्छन् । उनले बिसे नगर्चीको घर भएको स्थानमा बिसे नगर्चीले बेखर्ची पृथ्वीनारायण शाहलाई एक मोहर दिँदै गरेको सालिक बनाएर एकै पटक बिसे नगर्ची, पृथ्वीनारायण शाह र प्रथम जनसहभागिता कोषको सम्मान गर्न सक्छन् । यस्तो सालिक आफैँमा ऐतिहासिक हुनेछ र यसको सबैतिरबाट प्रशंसा हुनेछ । यो आफैँमा एकीकरण अभियानका जनहरूको प्रतिनिधिमूलक सम्मान पनि हुनेछ । आशा गरौँ प्रधानमन्त्रीको ध्यान यतातिर तानिने नै छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया