सामुदायिक विद्यालयमा सुधारका प्रयास र प्रगति
काठमाडौं । सरकारको अनुदान र समुदायको व्यवस्थापनमा सञ्चालित विद्यालयहरूलाई सामुदायिक विद्यालय भनिन्छ । विगतमा पर्याप्त पूर्वाधारविना विद्यालय खोल्ने होडका कारण अहिले सामुदायिक विद्यालयको गुणस्तरमा ह्रास आउनु एक प्रमुख कारणको रूपमा लिन सकिन्छ । सामुदायिक विद्यालयको सुधारका लागि कतिपय नीति, नियम र निर्देशन कार्यान्वयनको कसीमा फिका साबित भएको जगजाहेर नै छ । विद्यालयको व्यवस्थापन गर्न गठित व्यवस्थापन पदाधिकारीको चरम राजनीतिका कारण पनि सामुदायिक विद्यालय धराशायी हुँदै गएको गुनासोमा पनि शंका गर्ने ठाउँ छैन । विद्यालयमा सुशासनका आधारभूत सर्त पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, समावेशिता, दूरदर्शिता, जवाफदेहिता, निष्पक्षता तथा लोकतान्त्रातिक संस्कार आदिको सन्तुलित अभ्यास भएको विरलै पाइन्छ । कार्यक्षमता र लगनशीलता एवं उपलब्धिस्तरको आधारमा शिक्षकको वृत्तिविकास तथा प्रोत्साहन गर्ने परम्परा सायदै सामुदायिक विद्यालयमा पाइन्छ । विद्यार्थीको उपलब्धिभन्दा पनि चाकडी, चाप्लुसी एवं राजनीतिक आस्था र विचारको आधारमा शिक्षकको मूल्यांकन हुने कारण कतिपय दक्ष र स्वाभिमानी शिक्षकलाई समेत निरुत्साहित बनाउने वास्तविकता हो । यी र यस्ता कतिपय विकृति विसंगतिले मात्रै नभएर शिक्षामा हुँदै आएको न्यून लगानीका कारण पनि गुणस्तरीय शिक्षाको व्यवस्थापनमा चुनौती थपिएको चर्चा पनि शिक्षाविद्हरूको दावा छ ।
सार्वजनिक शिक्षामा गरिएको लगानीको प्रतिफलको औचित्य विद्यार्थीको उपलब्धिस्तरले पुष्टि गर्न सक्नुपर्दछ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालै सार्वजनिक गरेको विद्यार्थी उपलब्धि परीक्षणको नतिजा हेर्दा सामुदायिक विद्यार्थीले ५० प्रतिशत अंक पनि हासिल गर्न नसकेको कटुसत्य हाम्रो अगाडि छ । शिक्षामा लगानीअनुसार उपलब्धि नबढ्नु चिन्ता र चिन्तनको विषय हो । सामुदायिक र संस्थागत विद्यालयको उपलब्धिस्तरको खाडल उल्लेख्य छ । सरकारी अनुदानमा सञ्चालित सामुदायिक विद्यालयमा ९८ प्रतिशतभन्दा बढी तालिम प्राप्त शिक्षक कार्यरत भए पनि व्यक्तिबाट सञ्चालित थोरै सुविधा र तालिम अप्राप्त शिक्षकहरूले पढाउने संस्थागत विद्यालयको नतिजा उच्च हुनुका कारण के हुन सक्छन् ? खोजिनु पर्दछ । सामुदायिक विद्यालयहरू क्रमिकरूपमा विद्यार्थीविहीन हुनुमा को–कति जिम्मेवार हुनुपर्छ ? निष्पक्ष मूल्यांकनबाट न्यायोचित निष्कर्ष पुग्नु सकारात्मक कदम हो । सामुदायिक विद्यालयको उपलब्धिस्तर खस्कनुमा विविध कारण हुन सक्छन् । शिक्षामा गरिएको लगानीअनुसारको प्रतिफल प्राप्त गर्ने उपायहरू के–के होलान् ? गहन अध्ययन अनुसन्धानबाट खुट्याउनु पर्दछ । विद्यालयलाई प्रदान गरिने बजेटको आधार काठमाडौं र कालिकोट, मोरङ र मनाङ, मकवानपुर र मुगु, दोलखा र डोल्पालाई एउटै राख्ने विज्ञहरूको व्यावहारिकतालाई के भन्ने ? मौजुदा स्थितिको सूक्ष्म स्थलगत अध्ययन नगरीकन बजेटलगायतका स्रोतसाधानको बाँडफाँट गर्ने परम्परालाई निरुत्साहित गरिनुपर्दछ । विगतमा हचुवाको भरमा ल्याइएका पीसीएफजस्ता कतिपय शैक्षिक कार्यक्रमहरूले शैक्षिक र आर्थिक बेथितिहरू सिर्जना गरेको अनुभवबाट आगामी दिनमा भविष्यदर्शी योजना बनाउन पाठ सिक्नुपर्दछ ।
चालू आवको बजेटमा उल्लेख भएका केही कार्यक्रमले सार्वजनिक शिक्षालाई सुदृढ बनाउन नयाँ कार्यक्रम ल्याएको छ । सार्वजनिक शिक्षा सुधारका लागि राष्ट्रपति शैक्षिक सुधार कोष स्थापना गरी अघि बढ्ने नीति लिएको छ । विद्यालयको पूर्वाधार विकास, पुनर्संरचना, गुणस्तरीय पाठ्यपुस्तक, शिक्षकको पर्याप्तता, शैक्षिक सामग्रीको व्यवस्थापन, प्रयोगशाला खेल मैदानको व्यवस्थापन, प्रत्येक विद्यालयमा एक खेलकुद शिक्षकको व्यवस्थापन भन्दै राष्ट्रपति शैक्षिक सुधार कोष कार्यक्रमका रकम छुट्याएको छ । सामुदायिक विद्यालय सुधारको दशकको रूपमा २०७६ देखि २०८५ लाई घोषणा गरेको छ । तथापि विस्तृत कार्ययोजना निर्माण र कार्यान्वयनले मात्र दशवर्षे योजनाको सार्थकता पुष्टि होला । विद्यालयको भौतिक संरचना निर्माण, दुर्गम हिमाली क्षेत्रका बालबालिका र अपाङ्गता भएका बालबालिकाको लागि आवशीय सुविधाको व्यवस्था, छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याड वितरण, लक्षित विद्यार्थीका लागि एकीकृत छात्रवृत्ति प्रदान, जनसंख्या र भोगोलिक विकटताको मुख्य आधार बनाएर विद्यालय समायोजन र एकीकरण, हिमाली क्षेत्रमा तीन सय, पहाडमा छ सय र तराईमा एक हजारभन्दा बढी विद्यार्थी संख्या विद्यालयहरूलाई स्थानीय तहमार्फत थप अनुदान दिने, ४३ जिल्लाका आधारभूत तहका विद्यार्थीका लागि दिवा खाजा, आधारभूत तहको पाठ्यपुस्तक रंगिन पाठ्यपुस्तकको व्यवस्थाले विद्यालय शिक्षामा सुधार हुने दाबी बजेटले गरेको भए पनि उत्साहजनक उपलब्धिको छनक अहिलेसम्म देखिँदैन ।
अभिभावकको उदासीनता र व्यवस्थापनको हेलचेक्र्याइँले कतिपय सामुदायिक विद्यालयहरूको अवस्था दयनीय छ । अधिकांश सामुदायिक विद्यालयको शैक्षिक उपलब्धिस्तर खस्कँदो अवस्थामा रहेको जगजाहेर छ । अधिकांश विद्यालयमा विद्यार्थीको उपलब्धिस्तरबारे सरोकार पक्षको जवाफदेहीता र चिन्ता खासै देखिँदैन । निजी विद्यालयहरूको चुस्त व्यवस्थापन र विद्यार्थी उपलब्धिप्रति जवाफदेहिताको कारण अभिभावकको रोजाइमा परेका छन् । कतिपय सामुदायिक विद्यालयको अस्तव्यस्त व्यवस्थापन र गैरजवाफदेहिताको कारण भविष्य जोखिममा परेको छ । तर हृदयमा इमान्दारी, मस्तिष्कमा समझदारी र काममा बफादारी भएका प्रधानाध्यापक, व्यवस्थापन र शिक्षक भएका विद्यालयको शैक्षिक उन्नति उदाहरणीय र अनुकरणीय भएको पनि पाइन्छ । शैक्षिक गुणस्तर निरन्तर खस्केको कारण हेला र हेपिएका केही सामुदायिक विद्यालयको शैक्षिकस्तर क्रमशः सुधारोन्मुख भएको लक्षण विद्यार्थी भर्नाको चाप बढ्नुले पुष्टि हुन्छ । राम्रो नतिजा र व्यवस्थापन भएका सामुदायिक विद्यालयमा निजी स्कुलबाट छोराछोरी निकालेर भर्ना गर्ने अभिभावकको होड नै चलेको समाचार सार्वजनिक भइराखेका हुन्छन् । सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको रोजाइ बढ्नु सरकारी लगानीको सदुपयोग हुनु हो । लामो समयदेखि निराशा र उपेक्षामा रहेको सामुदायिक विद्यालय सरकार र सरोकार पक्षको सक्रियतामा क्रमशः तङ्गिँ्रदै गएको भान हुन्छ ।
विद्यालयमा गरिएको लगानी सार्थक बनाउन विद्यालय सुधार योजना निर्माण र कार्यान्वयन प्रभावकारी बनाउनुपर्ने, आर्थिक कारोबारलगायत शैक्षिक नेतृत्वको लागि तीनवर्षे कार्यकाल रहेको व्यवस्थापन समितिलाई भन्दा पनि योग्य र उत्साही प्रधानाध्यापक छनोट गरी जवाफदेही बनाइनुपर्दछ । सामाजिक लेखापरीक्षण तथा आर्थिक लेखापरीक्षण पारदर्शी र वस्तुनिष्ठ बनाउनुपर्ने, विद्यालयमा निकासा हुने बजेट शीर्षक र रकम पारदर्शीरूपमा सार्वजनिक गरिनुपर्ने तथा दरबन्दी मिलान र विद्यालय मर्ज नीतिलाई निष्पक्षतापूर्वक कार्यान्वयन गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नु आवश्यक छ । निःशुल्क विद्यालय शिक्षाको परिभाषालाई स्पष्ट व्याख्या गरिनुपर्दछ । सामुदायिक विद्यालयको उपलब्धिस्तर तथा विद्यार्थी संख्याको आधारमा पर्याप्त बजेट निकासा गरिनुपर्दछ । पर्याप्त दरबन्दी हुँदा पनि आफ्नो मानिसलाई जागिर खुवाउने उद्देश्यले निजी स्रोतमा शिक्षक भर्ना तथा अन्य फजुल खर्च गर्न विद्यार्थीबाट शुल्क उठाउने प्रवृत्तिलाई निरुत्साहित गरिनु पर्दछ । दूरदर्शी शैक्षिक नेतृत्व, चुस्त व्यवस्थापन, समर्पित शिक्षक, अनुशासित विद्यार्थी, सचेत अभिभावक, समसामयिक शिक्षा नीति तथा पाठ्यक्रमले मात्र लगानीअनुसार उन्नत शैक्षिक प्रतिफलको अपेक्षा गर्न सकिन्छ । सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा आर्जन गर्ने उत्कृष्ट शिक्षणसंस्थाको रूपमा विकास गर्न पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, जवाफदेहीता, विद्यार्थी उपलब्धिस्तरका आधारमा निष्पक्ष पुरस्कार र दण्डको व्यवस्था आदिलाई आधारभूत सर्तको रूपमा लिन सकिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया