Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबीमा व्यवसाय प्रवर्द्धनका लागि पुनर्बीमा कम्पनी

बीमा व्यवसाय प्रवर्द्धनका लागि पुनर्बीमा कम्पनी


काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ को कारण सन् २०२० मा विश्व अर्थतन्त्र ३.३ प्रतिशतले ऋणात्मक रह्यो । अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा प्रकाशित एक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सन् २०२१ मा विश्वको अर्थतन्त्र करिब ६.१ प्रतिशतले बढ्ने र सन् २०२२ र सन् २०२३ मा समानरूपले ३.६ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको थियो । उक्त प्रक्षेपण पूर्णरूपले नमिले पनि विश्व अर्थतन्त्रमा केही सुधार भयो । तर, एसिया र युक्रेनबीचको युद्धको कारणले विश्वमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । जसको फलस्वरूप विश्वमा धेरै वस्तुको मूल्य मात्र वृद्धि नभई आपूर्तिमा समेत गम्भीर असर परेको छ । यसबाट विश्व अर्थतन्त्रमा नै असर परेकोले बीमा क्षेत्र पनि प्रभावित छ ।

वस्तुतः आज विश्वमा बीमाको महत्व दिन प्रतिदिन बढिरहेको छ । विश्वको कूल गार्हस्थ उत्पादनमा यसको अनुपात ७.८ प्रतिशत छ । सन् २०२१ मा विश्वको एक प्रतिष्ठित कम्पनी स्वीस रीद्वारा प्रकाशित सिग्मा प्रतिवेदनका अनुसार सन् २०२० मा विश्व बजारमा ६२ खर्ब ८७ अर्ब अमेरिकी डलर बराबरको बीमा शुल्क संकलन गरिएको थियो ।

सन् २०२० मा विश्व बीमा बजारमा पश्चिमी राष्ट्रहरूको बर्चस्व कायम रह्यो । उक्त वर्ष संयुक्त राज्य अमेरिकाले विश्वका सबैभन्दा बढी बीमा शुल्क अर्थात् २५ खर्ब ३१ अर्ब डलर आर्जन गरेको थियो । जुन सम्पूर्ण बीमा शुल्कको ४०.२५ प्रतिशत हुन्छ । यसैगरी, चीनले छ खर्ब ५६ अर्ब अमेरिकी डलर अर्थात्् १०.५३ प्रतिशत योगदान गरी दोस्रो स्थान ओगट्यो ।

सन् २०१९ को तुलनामा सन् २०२० मा बीमा शुल्क संकलन लगभग ३.३ प्रतिशत, सन् २०२१ मा ३.९ प्रतिशत र सन् २०२२ मा ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको थियो । किन्तु, विश्व जीवनबीमा बजारतर्फ सन् २०१९ को तुलनामा सन् २०२० मा बीमा शुल्क आर्जन झण्डै ८ प्रतिशतले घट्न गई २७ खर्ब ९७ अर्ब अमेरिकी डलर बीमा शुल्क आर्जन भएको थियो । विश्वको निर्जीवन बीमा बजारतर्फ सन् २०१९ को तुलनामा सन् २०२० मा सकारात्मक वृद्धि भयो ।

सन् २०२० मा निर्जीवन बीमा बजार १.५ प्रतिशतले वृद्धि भई जम्मा ३४ अर्ब ९० अर्ब अमेरिकी डलर बीमा शुल्क संकलन भएको देखिन्छ । पछिल्लो समय उक्त शुल्क केही बढेको अनुमान छ । नेपालमा शिक्षित व्यक्तिहरूको कमी एवं सम्बन्धित व्यक्तिहरूको ध्यान यसतर्फ आकृष्ट नहुनाले धेरै वर्षसम्म यहाँ बीमा व्यवसाय ओझेलमा प¥यो । तर, हाल यो व्यवसायको महत्व बढ्न थालेको छ ।

नेपाल बैंकको सक्रियतामा वि.सं. २००८ मा स्थापित माल चलानी तथा बीमा कम्पनी वि.सं. २०१६ मा नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनीको नाममा परिवर्तन गरियो । वि.सं. २०४६ मा निर्जीवन बीमाको काम गर्न नेपाल इन्स्योरेन्स कम्पनी स्थापना गरियो । वि.सं. २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थान स्थापना गरियो । वि.सं. २०२९देखि यहाँ जीवन बीमा व्यवसाय सुरु गरियो । वि.सं. २०४० पछि निजी क्षेत्रद्वारा सञ्चालित बीमा कम्पनीहरूको स्थापना एवं विकास निरन्तर रूपले भइरहेको छ ।

नेपालमा बीमा व्यवसायको वृद्धि, विकास, नियन्त्रण र अनुगमन गर्न नियमनकारी निकायको आवश्यकता महसुस गरी तत्कालीन सरकारबाट बीमा ऐन जारी गरियो । जसअनुसार बीमा प्राधिकरण स्थापना गरिएको छ । जसबाट भविष्यमा यहाँको बीमा व्यवसाय प्रवद्र्धनमा सघाउ पुग्ने छ ।

नेपालमा बीमा व्यवसाय सुरु भएको ७२ वर्षको अवधिमा ७ प्रतिशत जनतामा मात्र बीमाको पहुँच रहेकोमा केही वर्षयता बीमा प्राधिकरणमा गरिएको संस्थागत सुधारका कारण बीमाको पहुँच केही बढेको छ । वि.सं. २०८८ असारसम्म यहाँ बीमाको दायरामा आएको जनसंख्या २७ प्रतिशत रहेकोमा उक्त वर्षको फागुन महिनासम्म यो जनसंख्या २९ प्रतिशत पुग्यो । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको जीवन बीमासमेत गणना गर्दा वि.सं. २०७८ फागुनसम्म यहाँ बीमाको दायरामा आएको जनसंख्या ३५.४ प्रतिशत देखिन्छ ।

आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यमा बीमाको पहुँच यहाँको एकतिहाइ जनसंख्यामा पु¥याउने लक्ष्य लिइएकोमा निर्धारित अवधिभन्दा अगावै उक्त लक्ष्य हासिल भयो । यतिमात्र नभई वि.सं. २०७८ साल चैत्र मसान्तसम्ममा यहाँ विद्यमान सम्पूर्ण जीवन बीमामार्फत् कुल एक करोड नौ लाख ९१ हजार ६९७ बीमालेखहरू बिक्री भएका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१.४८ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

वास्तवमा कुनैपनि देशमा बीमा व्यवसाय प्रवर्द्धनको लागि पुनर्बीमा कम्पनीहरूले महत्वपूर्ण भूमिका खेल्छन् । जुन कुरा विकसित देशहरूमा विद्यमान उक्त कम्पनीहरूले खेलेको भूमिकाबाट प्रष्ट हुन्छ । भारत, चीन र अन्य छिमेकी राष्ट्रहरूमा पनि उक्त कम्पनीहरूको भूमिका कम छैन ।

नेपालमा पनि पुनर्बीमा कम्पनीको आवश्यकता महसुस गरी वि.सं. २०७१ मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड स्थापना गरियो । यो पुनर्बीमा व्यवसाय गर्ने बीमकको विधिवत् इजाजत पत्र प्राप्तगरी नेपाल सरकार र बीमा व्यवसाय गर्ने जीवन बीमा कम्पनी र संस्थागत लगानीकर्ताहरूको संयुक्त लगानीमा स्थापित भई सर्वसाधारणको समेत लगानी रहेको पहिलो पुनर्बीमा कम्पनी हो ।

नेपालमा स्वचालित बीमा कम्पनीहरूले विदेशी पुनर्बीमा कम्पनीहरूसँग पुनर्बीमा गराउँदा ठूलो धनराशि विदेशिने हुँदा यहाँ रहेको जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमा गरेको २० प्रतिशत उक्त पुनर्बीमा कम्पनीमा बीमा गर्नुपर्ने व्यवस्था भएअनुसार आर्थिक वर्ष २०७७/८ मा उक्त पुनर्बीमा कम्पनीले यहाँका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले आ–आफ्ना बीमा लेखका न्यूनतम् २० प्रतिशत हिस्सा स्वीकारेको छ ।

नेपाल सरकारको २०७९/८० को बजेट वक्तव्यमार्फत् बीमा व्यवसायलाई सामाजिक संरक्षणको एक आधारस्तम्भको रूपमा विकास गर्न गरिब, विपन्न तथा कृषि क्षेत्रलाई समावेश गर्नेगरी उपयुक्त ठाउँहरूमा लघुबीमा कम्पनीहरू स्थापना गर्ने, बीमा सूचना केन्द्रहरू स्थापना गर्ने र बीमा कलेज स्थापना गर्न प्रोत्साहन गर्ने नीतिले भविष्यमा यहाँको बीमा क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ ।

उक्त नीतिलाई व्यवहारमा उतार्न सके आगामी दिनहरूमा बीमासम्बन्धी थप संस्थाहरूको बीमा गर्न आवश्यक छ । जसका सबलीकरण एवं स्थायित्वका लागि नेपाल पुनर्बीमा कम्पनीको भूमिका कम महत्वपूर्ण छैन । तर, यस कम्पनीको अन्तर्राष्ट्रियस्तर निर्धारण कार्य पूरा गर्न आवश्यक छ । हालसालै यहाँ निजी क्षेत्रबाट पनि एक पुनर्बीमा कम्पनी स्थापना गरिएको छ । जसका क्रियाकलापहरूबाट भविष्यमा यहाँको बीमा व्यवसाय प्रवद्र्धनमा केही योगदान पुग्ने आशा गर्न सकिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया