Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसुदूरपश्चिम पर्यटन विकास गुरुयोजना

सुदूरपश्चिम पर्यटन विकास गुरुयोजना


काठमाडौं । सुदूरपश्चिम प्रदेश नेपालको सात प्रदेशमध्ये एक प्रदेशको रूपमा रहेको छ । यस प्रदेशको जम्मा क्षेत्रफल १९५१५.५२ वर्ग किलोमिटर छ भने यसको कुल जनसंख्या २५५२५१७ छ । जनघनत्वमा हिसाबले हेर्दा यो प्रदेशमा देशको कुल आवादीको १३ दशमलव २२ प्रतिशत बसोबास गरेको देखिन्छ । यो प्रदेशमा जनसंख्याको आधारमा धनगढी, भीमदत्त र टीकापुरजस्ता ठूला सहरहरू रहेका छन् । प्रशासकीय हिसाबले सुदूरपश्चिम प्रदेशलाई कैलालीको गोदावरीलाई राजधानी मानी अछाम, बैतडी, बझाङ्ग, बाजुरा, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर गरी नौ जिल्लामा विभाजन गरिएको छ । त्यस्तै, विभिन्न गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकालाई प्रशासकीय इकाइको रूपमा विभाजन गरिएको छ । यस प्रदेशको उत्तरमा मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत, पश्चिममा भारतको उत्तराखण्ड राज्य, दक्षिणमा भारतको उत्तराखण्ड राज्य, पूर्वमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेको छ । जातिगत हिसाबले यस प्रदेशमा ब्राह्मण, क्षत्री, ठकुरी, खस, कामी, दमाई, सार्की, तामाङ, मगर, सन्यासी तथा थारु समुदायको बस्ती रहेको छ । अर्थात् सबै जातजातिका नेपालीहरूको बसोबास रहेको छ । वातावरणीय र भौगोलिकरूपमा यो प्रदेश, तराई, महाभारत पर्वत शृंखला र उच्च हिमाली भूभागको रूपमा बाँडिएको छ । यस प्रदेशमा उष्ण, शितोष्ण, समशितोष्ण र टुन्ड्रा खालको हावापानी छ । सुदूरपश्चिम प्रदेश एक सुसम्पन्न संस्कृति इतिहासले भरिएको प्रदेश हो । यस प्रदेशमा डोटेली साम्राज्यको लामो इतिहास रहेको छ । त्यस्तै, बेलाबखतमा कुमाउ गढवाल साम्राज्यसँगको सम्बन्ध र शत्रुताको इतिहास रहेको छ । ऐतिहासिकरूपमा नै यस प्रदेशको ठूलो महत्व रहको छ । विभिन्न जाति जनजातिहरूको बसोबास भएको हुनाले यस प्रदेशको ठूलो महत्व रहेको छ । विभिन्न जाति जनजातिहरूको बसोबास भएको हुनाले यस प्रदेशको सांस्कृतिक, संगीत, भेषभुषा र खानामा ठूलो विविधता भेटिन्छन् । शितोष्ण, समशितोष्ण, टुन्ड्रा र उष्ण हावापानी भएका कारणले यस प्रदेशको जैविक विविधता पनि विविध छ । यस प्रदेशमा सबै प्रकारका वनस्पति तथा जनावरहरूको प्रचुरता छ । भौगोलिक विविधता र वातावरणीय विविधताले गर्दा यहाँ सेती, महाकालीजस्ता ठूला नदीहरू र अन्य नदी तथा तालतलैयाहरूले यो प्रदेशको सुन्दरतामा आयाम थपेको छ । अपी, सैपाल, शुक्लाफाँटाजस्तो रामसार सूचीमा परेको आरक्षण यही प्रदेशमा रहेको छ । धार्मिकरूपमा प्रसिद्ध उग्रतारा, त्रिपुरासुन्दरी, शैलेश्वरी, निङलाशैलनी, बढी मालिका, खप्तड, परशुराम, वैद्यनाथजस्ता ऐतिहासिक प्रसिद्ध मन्दिरहरू र रामारोसन, सैपाल फेदी, अपी फेदीजस्ता मनोरम सुन्दरस्थलहरू यस प्रदेशमा नै रहेका छन् । त्यतिमात्र होइन विश्वमा नै एउटा मात्र रहेको घटाल(घतोत्कच)को मन्दिर पनि यस ठाउँमा रहेको छ । यही विविध कारणहरूले गर्दा सुन्दर सुदूरपश्चिम भनेर यस प्रदेशलाई भनिएको हो ।

सुदूरपश्चिम प्रदेशको सुन्दरताको जतिसुकै व्याख्या र विश्लेषण गरे पनि धरातलीय यथार्थ ज्यादै मर्मस्पर्शी र करुणमयी छ । यो प्रदेशमा गरिबी, अशिक्षा, बेरोजगारी, स्वास्थ्य समस्या तथा धनी–गरिबबीचको खाडल ज्यादै ठूलो छ । मानव विकास सूचाङ्क र आर्थिक सूचाङ्कहरूमा यो जिल्ला समग्र नेपालका प्रदेशहरूको तुलनामा छैटौं स्थानमा छ । यहाँको प्रतिव्यक्ति आय पनि नेपालको सरदर प्रतिव्यक्ति आयको तुलनामा ज्यादै थोरै छ । विकराल बेरोजगारीको समस्याले गर्दा यस क्षेत्रका युवायुवतीहरू भारतका विभिन्न सहरमा काम गर्न गइरहेका छन् भने केही अरबको तातो मरुभूमिमा पसिना बहाउन बाध्य छन् । पहाडी जिल्लामा आधारभूत स्वास्थ्य, शिक्षा, यातायात र पोषणको अभावले गर्दा पहाडबाट कैलाली र कञ्चनपुर जिल्लामा बसाइँ सर्नेहरूको ठूलो संख्या छ, यस स्थितिले गर्दा पहाडका जिल्लाहरू रित्तोजस्तो भएका छन् । तर यस प्रदेशमा तराईका जिल्लाहरूमा अव्यवस्थित बस्तीहरूमा बढी मानवीय संकट आइरहेका छन् । समग्ररूपमा भन्नुपर्दा सुदूरपश्चिम प्रदेश गरिबी, अशिक्षा, बेरोजगारी र कुपोषणले ग्रसित भई एउटा बिमार प्रदेशको रूपमा रहेको छ ।

अहिले सुदूरपश्चिम प्रदेशको आर्थिक अवस्था ज्यादै दयनीय भए पनि यस प्रदेशमा प्रकृतिले विभिन्नखाले प्राकृतिक स्रोतहरू दिएको छ । भौगोलिक र वातावरणीय विविधताले गर्दा शितोष्ण, समशितोष्ण र उष्ण वातावरणमा पाइने जडिबुटी, वनस्पतिहरू, विभिन्न खाद्यान्नका प्रकार तथा फलफूलका प्रकारहरू पाइन्छ । यस प्रदेशमा ठूला नदीहरू, साना खोलाहरू, तालतलैया, झरनाहरू, विभिन्न भूगोलमा प्रशस्त पाइन्छ । जैविक विविधता मात्र होइन विभिन्न जातजातिका मान्छेहरूको बसोबास रहेकाले यो प्रदेश सांस्कृतिकरूपमा पनि समृद्ध छ । खानीजन्य वस्तुहरू पनि यो प्रदेशमा प्रशस्तरूपमा रहेका छन् । यो ऐतिहासिक स्थान हुनाले यसको ऐतिहासिक पृष्ठभूमि पनि ज्यादै चाखलाग्दो छ । घटाल, उग्रतारा, बैजनाथ, परशुराम, त्रिपुरासुन्दरी, बढीमालिकाजस्ता अरू धेरै ऐतिहासिक र धार्मिक महत्व बोकेका तीर्थस्थलको कारणले गर्दा यो प्रदेश ज्यादै नै सम्पन्न छ भन्ने कुरामा कुनै दुईमत छैन ।

विभिन्न प्रसिद्ध र ऐतिहासिक मठमन्दिरहरूले व्याप्त र भरिपूर्ण स्थान भएकाले सुदूरपश्चिममा नौ दिदीबहिनी भगवतीहरू दर्शन गर्ने टुर प्याकेज तयार गरी यसको प्रचारप्रसार देश तथा विदेशमा गरेका विशेष गरी भारतमा धार्मिक पर्यटकहरूको ठूलो संख्यामा आगमन हुन गई त्यस क्षेत्रको बेरोजगारीको समस्या समाप्त हुन जानेछ । ती पर्यटकहरूलाई चाहिने खाना, बसोबास, यातायात, धार्मिक सामानहरूको मागको कारणले गर्दा यस प्रदेशको कृषि विकास हुने, कुटिएर उद्योगको विकास हुन गई बेरोजगारी समस्या समाप्त हुने मात्र होइन समग्र सुदूरपश्चिमको आर्थिकस्थिति समुन्नत हुन जान्छ ।

यस प्रदेशमा अपी, सैपाल, रामारोशन, बढीमालिका खप्तडजस्ता सुन्दर प्राकृतिक स्थानहरूले गर्दा पदयात्रा, पर्वतारोहण माउन्टेन बाइकिङजस्ता पर्यटनको विकास गरी थप सम्मृद्धि हासिल गर्न सकिने सम्भावना छ । त्यस्तै, विभिन्न नदीनालाहरू भएका कारणले ती नदीहरूमा ¥याफ्टिङ, कायाकिङजस्ता साहसिक जलयात्रा सञ्चालन गरी आयआर्जन गर्न सकिने सम्भावना रहेको छ । यस प्रदेशलाई समुन्नत बनाउन धार्मिक र साहसिक पर्यटनलाई प्रवद्र्धन गरे मात्र पुग्छ । सजिलै सुदूरपश्चिम प्रदेश आर्थिकरूपमा समृद्ध मात्र हुने होइन पूरै नेपालको अर्थन्त्रलाई पनि ठूलो टेवा दिन सक्ने प्रदेशको रूपमा अगाडि छोटो समयमै आउने छ । जतिसुकै सुन्दर र आशावादी कुरा गरे पनि धरातलीय यथार्थमा भने बेग्लै छ । सुदूरपश्चिमको पर्यटन विकासका लागि के–के पूर्वाधार चाहिन्छ । त्यहाँका पर्यटकीय स्थानहरूको तत्कालीन र ऐतिहासिक महत्वहरू के–के हुन्, पर्यटकीय स्रोतहरूको बजार व्यवस्थापन कसरी गर्न सकिन्छ, यस ठाउँको पर्यटकीय महत्वलाई कसरी संसारमा प्रचारप्रसार गर्न सकिन्छ, यस ठाउँको पर्यटकीय महत्वलाई कसरी संसारमा प्रचारप्रसार गर्न सकिन्छ भनेर कुनै अनुसन्धान पनि भएको देखिएको छैन । नेपाल सरकारले पनि यस प्रदेशको पर्यटकीय विकासमा कुनै ध्यान पु-याएको छैन । यो सुदूरपश्चिमका जनताहरूको मात्र दुःखको विषय होइन, सारा नेपालीहरूको दुःखको विषय हो । यस प्रदेश समृद्धिको असीमित सम्भावना भएकाले माननीय पर्यटनमन्त्रीज्यूको अध्यक्षतामा सुदूरपश्चिम एकीकृत पर्यटन विकास परियोजना (मन्त्रिपरिषद्बाट) गठन गरी विषयविज्ञहरू (अर्थशास्त्री, समाजशास्त्री, भूगर्वविद्, वातावरणविद्, धर्मविद्, इन्जिनियर, कृषिविद्, पर्यटनविद् आदि) लाई सदस्यको रूपमा लिई आवश्यक रकम विनियोजन गरी सर्वप्रथम पर्यटनका विभिन्न आयाममाथि अनुसन्धान गरी, एकीकृत पर्यटन विकास गर्न कति लागत लाग्छ ? लगानी कसरी जुटाउन सकिन्छ ? भन्ने अनुसन्धान अगाडि बढाउनुपर्छ । त्यसपछि पूर्वाधार निर्माणमा परियोजनाहरू ल्याई योजनालाई वास्तविकतामा परिणत गर्नु आवश्यक देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया