Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअसहमतप्रहरीमा यो विकृतिको जिम्मेवार को ?

प्रहरीमा यो विकृतिको जिम्मेवार को ?


गत ४ गते राति नयाँ बानेश्वरमा रहेको संसद् भवन भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सौचालयमा २२ वर्षीय प्रहरी जवान अनिल गोले गोली लागेर मृत अवस्थामा भिटिए । गत जेठ ३ गते सिराहा जिल्ला प्रहरी कार्यालयमा महिला प्रहरी करिस्मा सुनार मृत अवस्थामा भेटिइन् । गत चैत २१ गते कैलालीको धनगढी उपमहानगरपालिकाको मनोहर जंगलमा दार्चुलाको शैल्यशिखर–६ घर भएका ३६ वर्षीय प्रहरी सुरजराम लोहार झुण्डिएर मृत अवस्थामा फेला परे ।गत चैत ९ गते बझाङ घर भएका काठमाडौंमै कार्यरत प्रहरी जवान प्रकाशचन्द्र जोशी भुण्डिएर मरेको अवस्थामा भेटिए । लुटपाट गरेको आरोपमा गत कात्तिक ११ गते असई सुनबहादुर तामाङ, हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल पक्राउ परे । गत फागुन १३ गते प्रकाशित एक समाचारअनुसार आपराधिक लाभ लिन खोजेको आरोपमा जिप्रका धनुषामा कार्यरत सहायक हवल्दार दीपेन्द्रकुमार राज र प्रहरी जवान रोशनकुमार यादव पक्राउ गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएका प्रहरी जवान जीवराज तामाङ गत कात्तिक १३ गते मानव तस्करीको आरोपमा पक्राउ परे । गत फागुन २८ गते महोत्तरी कान्तिबजार चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र वरिष्ठ हवल्दार मन्जितकुमार सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परे । गत जेठ २४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक विदुर शिवाकोटी बालिका करणीको आरोपमा पक्राउ परे ।हिरासतमा रहेकी एक महिलालाई इलाका प्रहरी कार्यालय कन्चनपुरमा २०७९ चैत ६ गते राति डीएसपी दीपकुमार रायले बलात्कार गरेको भनी पीडितले उजुरी गरेकी थिइन् । काठमाडौंको कालिमाटीमा दरबन्दी भएका ट्राफिक प्रहरी निकेशकुमार झा गत पुस २५ गते ममता चुवाईलाई ठक्कर दिई हत्या गरेर फरार भएका थिए ।

सुन तस्करीमा जोडिएर फरार रहेका दुई प्रहरी विष्णु खड्का र अम्बरबहादुर कार्कीलाई पक्राउ गर्न प्रहरी परिचालन भएको समाचार प्रकाशमा आएको छ । गत माघ दोस्रो साता प्रहरी प्रधान कार्यालयले विनाजानकारी ड्युटीमै रहेर सम्पर्र्कविहीन भएका २३ जना प्रहरीलाई हाजिर हुन आउन गत चैत १३ गते सातदिने सूचना प्रकाशन गरेको थियो ।दुई साताअघि धादिङका एसपी गौतम केसीले मिटरब्याजपीडितको समर्थन गरेको भनी व्यवसायी सुवास बसेललाई प्रहरी बन्दुकधारी गुण्डा हो भन्दै धक्याएर उल्टै हिरासतमा राखिदिए ।गत वैशाख १८ गते टोलेगुण्डा विजय मालीले बाटो छेकेर अभद्र व्यवहार गरेको भनी वैशाख २० गते दिएको जाहेरी प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सत्यनारायण थापाले बेचिदिए । जाहेरीवालासँगै गएका डाक्टर र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुलाई जबर्जस्ती करणीमा थुनिदिने धम्की दिए ।

प्रहरीले गरेका कुकर्मका यी केही बान्की मात्र हुन् । सार्वजनिक नभएका प्रहरीका यस्ता कुकर्म अनेक छन् । यस्ता कुकर्मको जिम्मेवार को हो ? संगठनको प्रमुख भएको हिसाबले प्रहरीले गरेका यी सबैखाले कुकर्मको जिम्मेवार पनि आईजीपी नै हुन् । जब नेतृत्वले अभिभावकत्व प्रदान गर्न सक्दैन, अनि प्रहरीमा यस्तो विकृति हुन्छ, अराजकता मौलाउँछ, कुकर्म हुन्छ । नेपाल प्रहरीका तीसौँ आईजीपी वसन्त कुँवर अहिले अदृश्य शक्तिको सेवामा छन् । उनलाई कांग्रेसले आईजीपी बनायो, अहिले उनी कांग्रेसजतिलाई खुइल्याउने कुकर्ममा छन् । उनले अहिले न बनाउनेको समर्थन पाउने अवस्था छ, न त प्रधानमन्त्रीको ।
अहिलेको हाम्रो शासन प्रणाली भनेको क्याबिनेट सिस्टम हो ।

यसमा प्रधानमन्त्री सर्वेसर्वा हुन्छन् । यो सिस्टममा प्रधानमन्त्रीको समर्थन पाउन नसकेको आईजीपी यस्तै लबस्तरो हुन्छ, त्यसको अर्को नाम बसन्त कुँवर । बनाउने र चलाउने दुवैको समर्थन नपाउने भएपछि अदृश्य शक्तिको शरणमा पुगेर दुर्गा प्रसाईँलाई सूचना चुहाएर सत्ताको सत्ताश्राप गराएर जनतालाई निःशुल्क मनोरञ्जन प्रदान गराइरहेका आईजीपी कुँवर प्रहरी अनुसन्धानलाई नै प्रभावित पार्नेगरी छानबिनको दायरामा रहेका घटनाहरुलाई अग्रीम क्लिन चिट दिएर आफ्नो दुनो सोझ्याउने प्रयास गर्दै आएका छन् । त्यसैका लागि गृहमन्त्री रबी लामिछानेसँग उनको सम्बन्ध अस्वाभिक बन्दै गएको छ । नचाहँदानचाहँदै पनि प्रधानमन्त्री प्रचण्डले गत शुक्रबार भरतपुर विमानस्थलमा आईजीपी हटाउने कुनै योजना छैन भनेर कुनै जनतालाई जानकारी दिएका होइनन्, गृहमन्त्री लामिछानेलाई जवाफ दिएका हुन् ।

आईजीपी कुँवरलाई हटाएर लगिएको चर्चाका समाचार प्रकाशनमा आएपछि प्रसाईँको स्वर एकाएक परिवर्तन भएर चाकडी भावमा बदलिएको छ, यसअघि गृहमन्त्रालय कसरी चलाउनुपर्छ रबि लामिछाने मसँग सिक्न आओस् भनेर प्रसाईँले ललकार्ने गरेका थिए । राजनीतिक वृत्तमा कसैको पनि विश्वास जित्न नसकेका आईजीपी कुँवर आफ्नै प्रहरी सहकर्मीहरुको पनि मन जित्न असफल भएका छन् । एआईजी श्यामलाल ज्ञवालीलाई सधैँ सौताको रुपमा हेर्दै आएका छन् भने एआईजी किरण बज्राचार्यलाई विश्वासमा लिएरै फसाइदिएका छन् । पानीमाथिको ओभानो बन्ने बानीका आईजीपी कुँवर कुनै कुराको जिम्मेवारी नलिने गैरजिम्मेवार पात्र मानिन्छन् ।
खोलो तरेपछि लौरो फाल्ने प्रवृत्तिका कारण उनीमाथि कसैले पनि विश्वास गर्न नसकेका हुन् । संगठनको मुलीको यो हविगत भएपछि सिंगो प्रहरी फोर्समा नैराश्यता छाएको छ र त्यसले अराजकता निम्त्याएको छ, अहिले जसको शक्ति उसको भक्ति चलेको छ । प्रहरीभित्रको भ्रष्टाचार घुसखोरी, करणी, बलात्कार त्यसैको परिणाम हो । यस्ता अनैतिक कुकर्ममा भाग लिन नसक्नेहरुले प्रहरीमा आत्महत्याको बाटो रोज्ने गरेका छन् । संगठन प्रमुख सक्षम नहुँदा प्रहरीभित्र यसरी विकृति मौलाउँदै गएको हो ।


क्याटेगोरी : असहमत, फरक मत
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x