Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगफरक मतमानव तस्करीमा उपसभामुखका कैफियत देखाउने लिखत–प्रमाणहरू

मानव तस्करीमा उपसभामुखका कैफियत देखाउने लिखत–प्रमाणहरू


संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोटाबाट प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको आरोप लागेको छ । संसद्मा यो विषयले चर्को रूप लिने देखिन्छ । उपसभामुख रानाबाट अघिल्लो फागुनमा अमेरिकी दूतावासलाई आफूबाहेक अन्य पाँचजना व्यक्तिलाई आफ्नो साथमा लैजान पाऊँ भन्दै अन्तरवार्ताका लागि समय मिलाउन लेखिएको पत्र सार्वजनिक भएपछि यो विवाद चर्किएको हो । त्यस्तो पत्र लेखिएको बारे राना आफैँ र उनको दलले पनि स्वीकार गरेको छ । उनीहरूको अहिलेको विशेष आपत्ति भने डेढ वर्षअघिको कुरा अहिले किन उठाइयो भन्ने मात्रै रहेको देखिन्छ । तर, यस्ता फौजदारी अभियोगसँग जोडिने घटनाहरू सार्वजनिक भएको बेलादेखि नै अनुसन्धानको दायरामा आउँछन् । यस्तो समाचारप्रति रानाले अघिल्लो शुक्रबार मात्रै वक्तव्यमार्फत आफ्नो औपचारिक धारणा सार्वजनिक गरेकी थिइन् । त्यसमा अन्तरवार्ताको मिति अघि सारिदिन मात्र मागिएको, भिसा नमागिएको भनिको छ ।

त्यो वक्तव्यको अंश :–
‘गतवर्ष २०२३ मार्चमा यूएन कमिसन अन स्टाटस अफ उमेन (यएन सीएसडब्लु) सम्मेलनसँगै समानान्तररूपमा आयोजना हुने एनजीओ ‘सीएसडब्लू ६७’ मा सहभागिताको लागि मलगायत सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरी जाने क्रममा यात्रा अवधि छोटो थियो । तर, दूतावासमा अन्तरवार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेकोमा अन्तरवार्ताको लागि एकैदिन दूतावासलाई अन्तरवार्ता मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ’, कसैलाई भिसा दिने वा नदिने स्वःनिर्णय दूतावासले आफ्नो नीति र प्रक्रियाबमोजिम गर्छ । मैले कसैको भिसाको लागि अनुरोध गरेको छैन । उक्त सम्मेलनमा सहभागी भइसकेपछि पनि म अन्य कार्यक्रमको सिलसिलामा अमेरिकासहितका मुलुकको यात्रा गरिरहेको छु । तर, मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु मविरुद्ध नियोजित कदम रहेको देखिन्छ ।’

आफ्नो कार्यालयको लेटरहेडमा सांसद सचिवालयलाई समेत जानकारी नदिई सिफारिस गरेको पत्रमा उनले आफूसहित उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङका लागि उनले न्युयोर्कमा हुने कार्यक्रममा जान भिसा लगाइदिन भनेकी हुन् । यी नाम कुनै सरकारी निकायसँग जोडिएका होइनन् । त्यो पत्रमा लेखिएको व्यहोरा–
‘म आउँदो ६ मार्चदेखि १७ मार्चसम्म अमेरिकाको न्युयोर्कमा आयोजना हुने एनजीओ सीएसडब्लू ६७ फोरममा जान लागिरहेकी छु, उक्त कार्यक्रमको अतिव्यस्त तालिकाका कारण म आफ्नो टीमका सदस्य, सांसद र सहयोगीहरू सबैजनाको अन्तरवार्ता एकैदिन मिलाइदिन पनि अनुरोध गर्न चाहन्छु । यूएन उमेनको उक्त कार्यक्रम नेपालबाट जाने सबै प्रतिनिधिका लागि एकदमै महत्वपूर्ण रहेको र यस कार्यक्रम महिला सशक्तीकरण विकासमा सहयोग पुग्ने हुँदा अमेरिकाबाट आएको निम्तोको सराहना गर्दछु ।’
दलको भनाइ :
यो पत्र हुबहुरूपमा सार्वजनिक भएपछि ठूलो विवादमा आयो । त्यसपछि त्यसको प्रतिवाद गर्दै यसैहप्ता रास्वपाले उपसभामुखको बचाउ गर्दै विज्ञप्ति निकाल्यो । त्यसमा यस्तो सिफारिस सामान्य रहेको र अरु दलका पदाधिकारीहरूले पनि गर्नेगरेको भनेको छ ।

त्यो विज्ञप्ति :
प्रतिनिधिसभाका माननीय उपसभामुख इन्दिरा रानामगरको नाम उल्लेख गरी आएका विभिन्न समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ध्यानाकर्षण भएको छ ।
केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएको थियो । भिसा अन्तरवार्ताका लागि अग्रीम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देशबाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन । यसै सन्दर्भमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डिपी अर्यालज्यूले गर्नुभएको अडियो रेकर्डिङ हामीसँग सुरक्षित रहेको जानकारी गराउँदछौँ ।

विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तरवार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्नेगरेको अभ्यास पाइएको छ । उपसभामुखज्यूलगायत अन्य नेताहरूले कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरू भए–नभएको बारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका लागि रास्वपा सधैँ तयार रहेको जानकारी गराउन चाहन्छौँ ।

आफ्ना सारा आम्दानी र सम्पत्ति निःस्वार्थ समाजसेवामा लगाउनुभएकी उपसभामुखज्यू विभिन्न प्रतिष्ठित राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारबाट विभूषित हुनुहुन्छ । उज्यालो छविकै कारण रास्वपाले उहाँलाई उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको हो । यद्यपि पदमा निर्वाचित भइसकेपछि इन्दिरा राना मगर पार्टीको सदस्य नरहनुभएको सर्वविदितै छ । हालसम्म उपलब्ध तथ्य र प्रमाणले कतै पनि समाचारमा अतिरञ्जन गरिएजस्तो भिसा माग गरिएको वा आर्थिक लेनदेन भएको आधार देखिँदैन । भिसा मितिको सहजताका लागि मात्र अनुरोध गरिएको पत्र पदीय मर्यादाअनुरूप भएन कि भन्नेबारे आइरहेका दृष्टिकोणप्रति उहाँ स्वयम्ले नै विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको बताइसक्नुभएको परिप्रेक्ष्यमा जबर्जस्ती बिना प्रमाण ‘मानव तस्करी’जस्तो आरोप लगाउनु निन्दनीय छ ।

संसद् सचिवालयलगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचारमा ल्याइनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । यस्ता गलत प्रहारहरूबाट विचलित नभई रास्वपा सुशासन, सामाजिक न्याय र द्रुत आर्थिक विकासको मार्गमा नेपाललाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतामा अडिग रहँदै समग्र शुभेच्छुक र पार्टी परिवारलाई काण्डै काण्डको चाङमाथि मध्यरातमा ठडिएको गठबन्धनका आगामी चालहरूप्रति सचेत रहन पनि आग्रह गर्दछौँ ।
मनिष झा प्रवक्ता (कार्यवाहक)

पूर्वमहामन्त्रीको खुलासा
मुकुल ढकाल यो दलका पूर्वमहामन्त्री हुन् । उनले अहिले चर्चामा आएको यस्तो सिफारिसमा पैसाको लेदेनसमेत भएको जनाएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक र सञ्चार माध्यमहरूमा लेखेका छन्–

मलाई दुई–तीन महिनाअघि शंकर श्रेष्ठबाट सूचना आयो, शंकरलाई पार्टीको एक जनाले भनेको रहेछ । पैसा लिएको थियो रे, अनि पैसा फिर्ता गरेन रे । पैसा फिर्ता गरिपाऊँ भन्ने बेहोराको चिठ मलाई आयो । त्यो चिठी पाएपछि मैले गृह मन्त्रालयमा दिपक बोहराबाट गृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेसम्म कुरा पु¥याएँ र बुझ्न लगाएँ । ती नाम उल्लेख गरिएका कोही पनि मान्छे अमेरिका उडेका छैनन् भन्ने सूचना मलाई गृहबाट आयो ।

त्यसपछि मैले उपसभामुखलाई फोन गरेँ । उहाँले मैले चिनेको होइन, मलाई यसरी आयो । अनि अन्तरवार्ता सहज बनाइदिन पत्र लेखेँ भन्नुभयो ।अनि मैले त्यसरी अधिकार दुरूपयोग हुनेगरी पत्र लेख्न पाइन्छ ? भनेपछि उपसभामुखले मलाई थाहा भएन भनेर जवाफ दिनुभयो । अहिले मिडियामा आएका कुरा मलाई त्यसबखत उहाँले भन्नुभएको हो ।शंकरजीको माध्यमबाट मलाई पीडितहरूको सूचना आयो कि पीडितले पैसा फिर्ता पायो भनेर । मैले उनीहरूलाई बयानका लागि बोलाउने तयारी गरेको थिएँ । पैसा फिर्ता पाएपछि एक जना पीडितले यो इस्यु ठूलो भएकाले म लफडामा पर्न चाहन्नँ, पैसा फिर्ता पाएँ अब म केही बयान दिन्न भनेर पीडितले भने । अनि पीडितले बयान दिन्न भनेपछि थप अघि बढ्न सकिएन ।

पाँचजना मान्छे जसको नाम उल्लेख छ । ती एनजीओका मान्छे हुन् कि हैनन् त यो पत्ता लगाउनुपर्छ भनेर मैले इन्दिरा आमालाई पाँच जना मानिसलाई मसँग उपस्थित गराउनू भनेर भनेँ । उहाँले मैले सबै चिनेको छैन, उपेन्द्रलाई मात्र चिनेको हो भनेर भन्नुभयो । उपेन्द्रको नम्बर दिएर कुरा गर्नु भनेर आमाले भन्नुभयो । मैले पनि म उपेन्द्रसँग कुरा गर्दिनँ, तपाईँ मलाई पाँचजना मान्छे उपस्थित गराउनुहोस् महामन्त्री पदमा रहेर म कसैलाई फोन गर्दिनँ तपाईँ मलाई मान्छे ल्याएर भेटाउनुहोस् भनेर मैले भनेँ । देशमा तपाईँ ठूलो पदमा भए पनि पार्टीमा म महामन्त्री हो । मलाई तपाईँले रिपोर्टिङ गर्ने हो । मैले कसैलाई फोन गर्ने हैन भनेर हप्कीको शैलीमा अलि ठूलो स्वरमा मैले त्यसबखत भनेकै हो ।

उहाँलाई मैले ती पाँच जना मान्छे भेटाउनुपर्छ को कहाँ छन् खोजेर मेरो अगाडि उपस्थित गराउनुपर्छ भनेर ‘टास्क’ दिएँ । उहाँले म मान्छे खोज्छु भन्नुभएको थियो । त्यसपछि पार्टी चुनावकेन्द्रित भयो, समीक्षा यात्रा भयो, त्यसपछि अहिले अवस्था आयो । कुरा यत्ति हो ।मेरो तर्फबाट महामन्त्रीको रूपमा मैले गर्नुपर्ने काम गरेकै हो । गृह मन्त्रालय र सभापतिकहाँ विषय पुगेकै हो । फलोअप बीचमा किन भएन भन्ने प्रश्न पनि आउँछ । कारण पार्टी राजनीति नै फरक मोडमा आइपुगेको छ ।

यो वैशाखतिरको कुरा हो । त्यसपछि हामी चुनावको तनाव, समीक्षा यात्रा भनेर निस्कनुप¥यो । त्यसबखत उपसभापति डीपी अर्याललाई खबर भइसकेको रहेछ । मैले पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र सहकोषाध्यक्ष दिपक बोहरालाई खबर गरेँ । यो कुरा त्यसबखत मुख्य नेतृत्व सबैलाई थाहा थियो ।उपसभामुखज्यूले मलाई थाहा नभएर साइन गरेँ भन्नुभयो । यो आफैँमा गम्भीर भुल हो । थाहा छैन भन्न पाइनँ भनेर छुट हुँदैन । मलाई ती मानिसहरूसँग भेटाइदिनुहोस् भनेर आमासँग भनेको थिएँ । त्यसपछि पार्टी राजनीति के के भयो थाहा नै छ, सबैलाई ।


क्याटेगोरी : फरक मत
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x