भुटानी शरणार्थीमा कोइराला परिवारको भित्री सम्बन्ध
काठमाडौं । नेपालको राजनीतिक वृत्त अहिले नक्कली भुटानी शरणार्थी प्रकरणले तातिएको छ । यो झटारो कसले किन हानेको हो भन्ने प्रश्नमा सबैजसो निरुत्तर नै छन् ।
भुटानी शरणार्थी समस्या नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भित्र्याएको समस्या हो । २०४६ सालको नेपालको जनआन्दोलनलगत्तै भुटानी शासकले त्यहाँ रहेका अल्पसंख्यक हिन्दु धर्मावलम्बी नेपालीभाषीहरूमाथि बर्बर दमन सुरु ग¥यो र नागरिकता खोसेर लखेट्यो । भुटानमा दमनका कारण बस्न नसकेपछि उनीहरू भुटान छाडेर भारतीय भूमिमा प्रवेश गरे । भारतले आफ्नो देशभित्र छिर्न दियो तर बस्न दिएन । उनीहरू भुटानबाट भारतीय भूमि हुँदै नेपाल प्रवेश गरेर छाप्रा बनाएर बस्न थाले । त्यतिबेला नेपालमा प्रजातान्त्रिक संविधान २०४७ जारी भएर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भइसकेका थिए । २०४६ को जनआन्दोलनमा प्रमुख नेतृत्वदायी भूमिकामा नभए पनि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई पन्छाएर प्रधानमन्त्री बन्न सफल भएकोमा कोइरालामा जनआन्दोलन सफल हुँदाभन्दा प्रधानमन्त्री नियुक्त भएपछि विजय उन्माद देखिएको थियो ।
उनमा उन्माद चढेको बेला भुटानबाट लखेटिएका नेपालीभाषीहरू नेपाल प्रवेश गर्दा संसारका जुनसुकै कुनामा भएका निरंकुशताविरोधी आन्दोलनलाई आफ्नो समर्थन रहेको छ भनेर ती भुटानीलाई स्वागत गरेका थिए । त्यसपछि यूएनएचसीआरलाई गुहारियो र शरणार्थीको दर्जा दिइयो । उनीहरूको गणना गरेर एकतृतरूपमा शिविर खोलेर राखियो । तिनताका एक लाख १८ हजार भुटानी शरणार्थीहरू विभिन्न शिविरमा छरिएर बसेका थिए ।
झापा र मोरङमा विभिन्न शिविरमा बसेका शरणार्थीहरू बिस्तारै सबैतिर फैलिँदै गए, प्रधानमन्त्री कोइरालाको धङधङी उत्रिँदै गयो । कुरा बुझ्दै गए, उनीहरूबाट समस्या मात्रै देख्न थाले । अनि उनीहरूलाई स्वदेश फर्काउन भुटानसँग वार्ता गर्न थाले । १८ पटक वार्ता भयो निष्कर्ष निस्किएन । त्यसबाट हारथाक भएका कोइरालाले अनि भारतसँग वार्ता गर्नुपर्ने रहेछ भन्ने आवश्यकता महसुस गरे । भारतले पनि टेरपुच्छर लगाएन । उनी हारथाक भएपछि पश्चिमाहरूले भुटानी शरणार्थीहरूलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्ने प्रस्ताव अघि सारे । त्यही कार्यक्रमअन्तर्गत ९० प्रतिशतभन्दा बढी शरणार्थीहरू अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, डेनमार्क, नेदरल्यान्ड, न्युजिल्यान्डलगायतका मुलुकमा पठाइयो र बाँकी रहेका सात हजारजति भुटानी शरणार्थी तेस्रो मुलुक होइन, आफ्नै देश फर्किने अडानमा शिविरमै रहेका थिए । उनीहरू पनि नेपाललाई बोझ बन्दै गएका थिए । पश्चिमाले दिने दानापानी बन्द गरिसकेको थियो । यूएनएचसीआरले ठाउँ छाडिसकेको थियो । अब यी भुटानी शरणार्थीलाई के गर्ने कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले चासो राख्नु स्वाभाविकै हो तर त्यो चासोभित्र स्वार्थ घोलिएको रहेछ । स्वार्थ मिसाएको चासो पनि पश्चिमाले नै जगाइदिएका रहेछन् भन्नेचाहिँ बल्ल अहिले खुल्न थालेको छ ।
गिरिजाप्रसादले निम्त्याएको भुटानी शरणार्थी समस्या अहिले गिरिजापुत्री सुजता कोइरालाको पीए केशव दुलालको अगुवाइमा नक्कली भुटानी शरणार्थी प्रकरण बनेर सतहमा आएको छ ।
२०७६ सालमा सरकारले पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानमा उपायहरू पहिल्याउन कार्यदल गठन गरेको थियो । त्यसले आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको थियो । त्यो प्रतिवेदनको फोटोकपी लिएर गिरोहले त्यसमा अनुसूची थपेर आठ सय ३५ जनाको नाम थपी उनीहरूलाई भुटानी शरणार्थीको परिचयपत्र बनाइदिएर अमेरिका पठाइदिने प्रलोभनमा अर्बौँ रुपैयाँ असुलेका थिए ।
त्यो किर्ते थियो, संगठित ठगी थियो । त्यसका बारेमा सत्ताको उच्च तहमा जानाकारी थियो र अघोषित सहकार्य नै थियो ।
गिरोहले अनुसुचि थपेर नामावली थप्दैमा यूएनएचसीआरको केन्द्रमा वा त्यस सम्बन्धमा सम्बन्धित अन्य लाइन एजेन्सीहरूमा नाम थपिने पनि होइन । किर्ते अनुसूची बनाएर नाम राखिदिँदा कतिपय व्यक्ति अमेरिका जान पाइन्छ भनेर भुटानी शरणार्थीको सूचीमा नाम लेखाउन चाहन्थे भने केही व्यक्ति सरकारी गुप्तचर नै थिए होला । त्यसकारण नक्कली भुटानी शरणार्थीको अहिलेको समस्या सरकारको सूचनाबाहिरको थिएन, पश्चिमा संयन्त्रको जानकारीविनाको पनि थिएन । त्यो कतै नियोजित वा प्रायोजित त थिएन ? भन्ने प्रश्न पनि खडा भएको छ । अमेरिकी नेतृत्वको पश्चिमा एलाइन्सले भुटानी शरणार्थीलाई प्रमाणीकरणदेखि स्थानान्तरणसम्मको प्रक्रिया सकेपछि बचेखुचेका शरणार्थीका नाममा यो सबै ताण्डव नृत्य सुरु भएको छ ।
भुटानी शरणार्थी बनेर अमेरिका, बेलायत जान चाहनेले गृह मन्त्रालयको सचिव परिवर्तन भएपछि ठूला व्याक्तिलाई पोलेपछि काम छिटो हुन्छ भन्ने स्वार्थले त्यो घटना सार्वजनिक भएको हो र सार्वजनिक भएपछि सरकारले आफ्ना विरोधीहरूलाई जसरी पनि मुछ्न लगाएर ठेगान लगाउन खोजेको देखिन्छ । तर त्यो ठगीकाण्ड एउटा पार्टीविशेषमा सीमित रहने छैन । अर्काको सम्पत्ति खान स्वास्नी स्याहार्ने अर्काले लगेको स्वास्नी दुई वर्षपछि सगौरव फिर्ता ल्याउने अनैतिक व्यक्तिहरूबाट नैतिकता र सदाचारको व्यवहार हुन्छ भनेर कल्पना गर्नु नै गलत थियो । अहिले त्यही पुष्टि भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ताले अहिले आफ्नो अनुकूलको कारबाही अघि बढाउने प्रयास गरेको छ । पक्राउ परेका गिरोहका सदस्यहरूले पोलेका केही व्याक्तिलाई पक्राउ गर्न आनाकानी गरेको छ भने केही व्यक्तिको नाम पोल्न पक्राउ परेका व्याक्तिलाई दबाब दिइरहेको कुरा प्रकाशमा आएको छ । फलानालाई दिन काटिएको चेक काट्नेबाटै बरामद हुँदा पनि विचार नमिल्नेलाई चाहिँ त्यहीलाई प्रमाण मानेर धरपकड पनि गरिएको छ । काण्डको भण्डाफोर नहुँदै सुरुमै यसरी सत्ताको दुरूपयोग भएकाले यसको निष्पक्ष र पूर्ण छानबिन हुँदैन भनेर अहिले नै ठोकुवा गर्दा पनि फरक नपर्ला ! किनकि जो–जो हिरासतमा पुगेका छन् उनीहरूलाई जसरी पनि त्यहाँबाट निस्कनु परेको छ । ज–जस्को नाम भुटानी शरणार्थी सूचीमा पछि समेटिएको छ उनीहरूलाई अमेरिका जान नपाएपछि जसरी पनि पैसा फिर्ता चाहिएको छ । ज–जसले पैसा उठाएका थिए उनीहरूलाई ठूलाबडाको नाम पोलेर उम्कनु परेको छ ।
जसले छानबिन गरेको छ उसलाई आफ्ना विरोधीहरूलाई त्यसमा मुछेर सिध्याउनु परेको छ । तर जुन शक्ति यो काण्डको सूत्राधार छ उसले के गर्न खोजेको छ यी कसैले त्यसको कुनै भेउ समेत पाएका छैनन् । यो घटनाबाट द्रव्यपिचासहरू सतहमा आएका छन् तर यो घटनाको पूर्णरूपमा छानबिन भएर कारबाही हुन्छ भन्नेमा जनविश्वास पनि छैन ।
बालुवाटार जग्गा घोटालाका नाइके माधव नेपाल, डा. बाबुराम भट्टराई, कुमार रेग्मीलगायत १० जनालाई मुद्दा नै नलगाई चोख्याइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि सत्ताका निकट रहेकाहरूलाई सुनपानी छर्केर चोख्याइँदैन भन्न सकिँदैन । तर त्यसरी चोख्याउँदा पनि गेमप्लानरले यसबाट कस्तो परिणाम निकाल्न खोजेको हो भन्ने कुरा बुझ्न पर्दछ । मूलरूपमा कांग्रेस सभापति शेरबहादुर देउवा कुन रूपमा प्रस्तुत हुन्छन् त्यसैमा निरर्भर रहन्छ । हुनसक्छ यही काण्डले नेपालमा फेरि राजनीतिक धु्रवीकरण पनि होला र राजनीतिक दलहरू छिन्नभिन्न भएर अर्को रूपमा नयाँ शक्ति खडा नगरिएला भन्न सकिँदैन ।
भुटानी शरणार्थी समस्या नेपालको समस्या नै होइन, यो भुटानको समस्या थियो । यसलाई अर्कै शक्तिले नेपालको समस्या बनाएर थोपरिदियो । त्यसलाई उसैको बहकाउमा नेपालले आफ्नो समस्या बनायो, उसैले तेस्रो मुलुक पुनर्स्थापना गरायो । अहिले उसैले नेपालमा नक्कली भुटानी शरणार्थी काण्ड बनाएर राजनीतिक वृत्तमा झटारो हानेको छ । यसको समाधान पनि यहाँका फुरफुरे नेतृत्वको नियन्त्रणमा रहेजस्तो देखिँदैन । यसको परिणाम हामीले अपेक्षा गरेजस्तो किमार्थ हुने छैन । उही शक्तिले जस्तो परिणाम निकाल्न चाहेको छ, त्यही निस्कन्छ । असहमत
क्याटेगोरी : फरक मत
ट्याग : #Page 1
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया