‘भ्रष्टाचार निर्मूलपछि मात्र आर्थिक विकास’ भन्ने गलत धारणा
काठमाडौं । देशभर गत एक÷डेढ महिनादेखि जताततै चर्चामा रहेका दुई विषय भनेको प्रधानमन्त्रीको भारत भ्रमण र नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरण हुन् । भर्खर सम्पन्न प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई लिएर सदन र मिडियामा भइरहेको बहस पैरवीलाई लोकतन्त्रमा भइरहने एक सामान्य राजनीतिक खिचातानीको रूपमा लिन नसकिने होइन ।
सात सालयता ७३ वर्षको अवधिमा भारतसँगको सम्बन्धमा सधैँ हुनेगरेको उतारचढावलाई दृष्टिगत गर्दा पनि यो बहस पैरवीलाई सामान्यरूपमा लिनुपर्ने हुन्छ । तर, अलि उच्छृङ्खल तरिकाले भइरहेको नकारात्मक टिकाटिपणीले जनताको मनस्थितिमा कसरी प्रभाव परिरहेको होला भनेर कसैले पनि चिन्ता गरेको देखिँदैन । वास्तवमा यो भ्रमणको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै दुई प्रधानमन्त्रीबीच तीन पटक भएको ‘वान–टु–वान’ भेटवार्ता हो ।
अहिलेसम्म भेद नखोलेको तीन पल्ट भएको गोप्य वार्ताहरूमा के कुरा भएको होला भनेर अनुमान मात्र गरेर सांसद, पत्रकार, स्तम्भकार, विश्लेशकहरूले भ्रमण सफल भयो वा भएन भनेर निष्कर्ष निकाल्नु भनेको जनतालाई भ्रमित पार्न खोज्नु हो ।
गत एक/डेढ महिनादेखि देशभर चर्चामा रहेको आर्को काण्ड भनेको नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरण हो । यो काण्डसँगै गत चार/पाँच वर्षको अवधिमा संसद्भित्र र मिडियामा बारबार उठ्ने गरेका अन्य भ्रष्टाचार काण्डहरूले पुनः एक पल्ट सडकदेखि सदन तताएका छन् । यसरी ठूला–ठूला भ्रष्टाचारका काण्डहरू सार्वजनिकरूपमा उजागर गर्नु भनेको राष्ट्र निर्माणको दृष्टिकोणले एकदमै महान् काम हो भनेर संसद् र मिडियालाई लागेकै हुनुपर्छ र यसमा कसैको दुईमत हुनै सक्तैन । तर, यसरी उच्छृङ्खलरूपमा भ्रष्टाचारको काण्डबारे संसद् र मिडियामा निरन्तर बहस र वादविवाद भइरहँदा जनताको मनमस्तिष्कमा के–कस्तो प्रभाव परिरहेको छ भनेर सोच्न जरुरी छ ।
‘भ्रष्टाचार समाजका लागि क्यान्सर हो’ भन्ने भनाइप्रति कसैको विमति नहोला । क्यान्सरको औषधि अहिलेसम्म पत्ता नलागे पनि भ्रष्टाचारको औषधि नभएको होइन । विचरणीय पक्ष के छ भने तुलनात्मकरूपमा नेपालकै हाराहारीमा र केही मात्रामा बढी नै भ्रष्टाचार भएका थुप्रै मुलुकले उच्च आर्थिक वृद्धिदर हासिल गर्न सफल भए ।
नेपाल उँभो नलागेको एउटै कारण भ्रष्टाचार हो भन्ने गलत धारणा सम्बन्धमा बुद्धिजीवी र शिक्षित समुदायले घनीभूत बहस र छलफल गर्न लाज मान्नु भएन । मुलुकको सम्पूर्ण विकास निर्माणकार्य कछुवाको गतिमा अघि बढिरहेको प्रमुख कारणहरूको खोजी नगरीकन भ्रष्टाचारको एक विषयमा मात्र देशभर तहल्का मच्चाउनु उचित होइन ।
भनिन्छ, विश्वमा प्राचीनकालदेखि स्थापित सामाजिक विकृतिहरूमा भ्रष्टाचार एक प्रमुख अपराध हो । संसारभर भ्रष्टाचारका सम्बन्धमा तथ्यांक संकलन गरी अध्ययन विश्लेषण गरिरहेको एक अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले आजको दिनसम्म पनि शून्य भ्रष्टाचार भएको मुलुक फेला पारेको छैन । यसबाट प्रमाणित हुन्छ कि केही मात्रामा भ्रष्टाचार हुँदाहुँदै पनि कुनै पनि मुलुकले उल्लेखनीय प्रगति हासिल गर्न सक्ने रहेछ । भ्रष्टाचारमा बदनाम भएका एसिया, अफ्रिका र दक्षिण अमेरिकाका धेरै राष्ट्रले आर्थिक र सामाजिक विकासमा नेपालभन्दा बढी प्रगति गरेका थुप्रै उदाहरण दिन सकिन्छ । भ्रष्टाचार निर्मूल गरेपछि मात्र आर्थिक विकासतर्फ लाग्ने भन्ने धारणा गलत हो । भ्रष्टाचारविरुद्धको अभियान र कारबाहीलाई सशक्तरूपमा अघि बढाउँदै द्रुत गतिले विकास निर्माणतर्फ लाग्नु समृद्धिको लागि एकमात्र विकल्प हो ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्कले सय पूर्णांकमा ९० अंक प्राप्त गरेको रहेछ । ५० अंकभन्दा कम प्राप्त गर्ने एक सय २४ वटा राष्ट्र रहेछन् भने ५० अंकभन्दा बढी प्राप्त गर्ने ५८ वटा मात्र रहेका छन् । नेपालले ३४ अंक प्राप्त गरेको छ र नेपालभन्दा भ्रष्ट मुलुक विश्वमा ६९ वटा रहेछन् । सबैभन्दा बढी भ्रष्टाचार हुने राष्ट्र सोमालियाले १२ अंक मात्र पाएको छ । ५० अंक पनि प्राप्त गर्न नसकेका एक सय २४ मुलुकमा नेपाल, मलेसिया, इन्डोनेसिया, चीन, भारत, ब्राजिल, भियतनाम, माल्दिभ्स, थाइल्याण्ड, टर्की, श्रीलंका, फिलिपिन्स, युक्रेन, मेक्सिको, रुस, बंगलादेश, क्याम्बोडिया, लाओस आदि पर्छन् । अचम्मको कुरा के छ भने सन् २००४ देखि लगातार २०२२ सम्म हरेक वर्ष नेपालले बंगलादेशभन्दा बढी अंक प्राप्त गरी जितेर आइरहेको छ । तर, भ्रष्टाचारको मामिलाई बेवास्ता गरेर बंगलादेशको दु्रत गतिको आर्थिक विकासको निकै प्रशंसा गरेर विश्व बैंकले बंगलादेश एसियाको आर्को ‘इकनमिक टाइगर’ हुन लागेको छ भनी टिप्पणी गरेको छ ।
यसरी टीआईको तथ्यांकबाट स्पष्टरूपमा देखिन्छ कि नेपालभन्दा बढी भ्रष्टाचार भएका र नेपालकै हाराहारीमा भ्रष्टाचार भएका मुलुकहरू नेपालभन्दा निकै समृद्ध भइसकेका रहेछन् । यस सम्बन्धमा शीर्ष नेतालगायत निर्णायक पदमा बस्ने मन्त्री, सांसद, सचिव, बुद्धिजीवी तथा विश्लेषकहरू सबैले गहन अध्ययन विश्लेषण गरेर भ्रष्टाचारबाहेक अन्य के–कस्तो कमीकमजोरीले गर्दा विश्वमा नेपाल मात्र समृद्धको दौडमा पछि पर्दै गएको हो भनेर लेखाजोखा गर्न अत्यन्त जरुरी भइसकेको छ ।
‘भ्रष्टाचार समाजको क्यान्सर हो’ भन्ने कुरा विश्वको आठ अर्ब जनसंख्यालाई थाहा भएको कुरा हो । बिहानदेखि बेलुकीसम्म हरेक दिन १८ घण्टा सदन, सडक र मिडियामा भ्रष्टाचारको कुरा उठाएर जनतालाई निराश पार्ने काम बन्द गर्नु प¥यो । भ्रष्टाचार नियन्त्रणको सम्पूर्ण काम अख्तियार दुरूपयोग अनुसन्धान आयोगको जिम्मामा छोडेर समग्र सरकारी संयन्त्र राष्ट्र निर्माणमा लाग्नु प¥यो, विकास निर्माण कामहरू द्रुत गतिमा सम्पन्न गर्नमा लाग्नु प-यो, उद्योग व्यापार क्षेत्रलाई चलायमान बनाउन काँचुली फेरेजस्तो परिवर्तन गर्नमा लाग्नु प-यो । जनतामा आशा जगाऔँ, जनतालाई निराश पार्ने काम बन्द गरौँ ।फरक मत
क्याटेगोरी : फरक मत
ट्याग : #Page 1
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया