बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका पाल्पाले चालु आर्थिक वर्षका विकास योजनाहरू आगामी वैशाख मसान्तभित्रै सम्पन्न गर्ने गरी लागेको छ ।
विकास निर्माणका कामलाई समयमै टुङ्ग्याएर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणमा केन्द्रित हुने लक्ष्यका साथ पालिकाले आफ्नो सक्रियता बढाएको हो । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा विवेक रणपालले प्रशासनिक र विकासमूलक कार्यहरूलाई सुधार गरेर अगाडी बढाएका हुन् । समयमै काम सम्पन्न गर्दा असारे विकासको प्रवृत्ति अन्त्य हुने र आयोजनाहरूको गुणस्तरसमेत सुनिश्चित हुने उनको भनाइ छ । समयमै योजना सम्पन्न गर्नको लागि आवश्यक रणनीति अवलम्बन गरिसकेको उनले बताए । ‘उपलब्ध श्रोत साधनको उच्चतम् प्रयोग गरेर पालिकाका हरेक कामलाई चुस्त तथा पारदर्शी रूपमा जति सक्दो छिटो सेवा प्रवाह गरी जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी कार्यसम्पादन गरेका छौँ’, उनले भने ।
उनले कर्मचारी अभावको कारण केही काम गर्न असहज भएको भए पनि सेवा दिइरहेको बताए । उनले भने, ‘कर्मचारीको अभावका बीच पनि जनतालाई गुनासो गर्ने स्थान राखेका छौँ जस्तो लाग्दैन । बढी समय बसेर हुन्छ वा एउटा शाखाको कर्मचारीले अर्को शाखाको काम गरेर हुन्छ सकेसम्म छिटो सेवा दिनु नै हाम्रो प्रमुख प्राथमिकता हो । सकेसम्म सिकायत गर्ने ठाउँ राखेका छैनौँ ।’ चालु आर्थिक वर्षका लागि छुट्याइएका योजनाहरूमध्ये हालसम्म ७५ वटा योजनाहरू सम्पन्न भएको उनले जानकारी दिए । दुई सय ४५ वटा योजनाहरू सम्झौता भएको र केही योजनाहरू सम्झौताको चरणमा रहेको बताए । उपभोक्ता समिति र डेन्डर प्रक्रियाबाट हुने योजनाहरू चैतको मसान्तसम्म सक्ने गरी अगाडी बढेको उनको दाबी छ । साथै उनले सामाजिक सुरक्षा भत्ताको दोश्रो किस्ता वितरण गर्ने, वडामा गएर एकिकृत घुम्ती सेवाअन्र्तगतका कार्यक्रमहरू संचालन गर्ने र औषधि खरिदको काम सकिएको जानकारी दिए ।
गाउँपालिकाका लेखा अधिकृत लिलामणी बस्यालका अनुसार चालु आर्थिक वर्षका लागि कुल ७८ करोड ४२ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ । पुँजीगततर्फको २८ करोड ५९ लाख रुपैयाँमध्ये हालसम्म २५ प्रतिशत अर्थात् सात करोड ३५ लाख रुपैयाँ खर्च भएको उनले बताए । उनका अनुसार पाँच लाख रुपैयाँभन्दा माथिका सबै योजनाहरू इ–बिडिङमार्फत ठेक्का प्रक्रियाबाट अगाडि बढाइएको छ । ‘हाल चालु आर्थिक वर्षका ७५ प्रतिशतभन्दा बढी योजनाहरू कार्यान्वयनको चरणमा अर्थात् ‘रनिङ’ अवस्थामा छन्’, उनले भने, ‘ठूला योजनाहरू तीव्र गतिमा अघि बढेपनि पाँच लाखभन्दा मुनिका साना योजनाहरू कार्यान्वयनमा भने केही जनशक्तिको अभावले चुनौती सिर्जना गरेको छ ।’
गाउँपालिकाले आन्तरिक स्रोत परिचालनमा पनि विशेष ध्यान दिएको उनले बताए । चालु आर्थिक वर्षमा कुल एक करोड दश लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । उनका अनुसार हालसम्म ५२ लाख ३९ हजार रुपैयाँ संकलन भएको छ । पालिकाको आफ्नै आन्तरिक आम्दानीका स्रोतहरू न्यून रहेका कारण ठूला विकास निर्माण र दीर्घकालीन योजनाका लागि अझैपनि संघीय र प्रदेश सरकारको अनुदानमा निर्भर रहनुपर्ने बाध्यता रहेको उनले बताए । आन्तरिक आम्दानी वृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख हुन पालिकाले सम्भाव्य क्षेत्रहरूको खोजी गरिरहेको उनले जानकारी दिए ।