नवलपरासीको बर्दघाट नगरपालिकाले प्रविधिमैत्री प्रशासन र पारदर्शी शासनलाई प्राथमिकतामा राख्दै स्थानीय सरकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै आएको छ ।नगरपालिकाले सुशासनयुक्त प्रशासनिक सेवा सुनिश्चित गर्न प्रविधिको उच्च प्रयोग, पारदर्शी कार्यप्रणाली र जनसहभागितामूलक योजना कार्यान्वयनमा जोड दिएको जनाएको छ । नगरपालिकामा विहान १० बजे राष्ट्रिय गानसहित कार्यारम्भ गर्ने परम्परा लागू गरिएको छ । अनलाइन राजस्व प्रणाली, डिजिटल बडापत्र, सार्वजनिक सुनुवाइ, वेभसाइट तथा सामाजिक सञ्जालमार्फत सूचना सार्वजनिक गर्ने व्यवस्थाले नागरिक र स्थानीय सरकारबीचको दूरी घटाएको नगरपालिकाको दाबी छ । योजना तर्जुमा देखि कार्यान्वयनसम्म जनसहभागिता सुनिश्चित गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले स्थानीय तह जनताको घरआँगनको सरकार भएकाले छिटो, पारदर्शी र उत्तरदायी सेवा दिनु प्रमुख दायित्व भएको बताए । जनताका काम समयमै सम्पन्न गर्ने नीति अनुसार कार्यसम्पादनमा कडाइ गरिएको र जनप्रतिनिधि तथा कर्मचारीको सेवा सुविधा बैंकिङ च्यानलमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । उनका अनुसार सामाजिक विकासका कार्यक्रमहरूमा सम्बन्धित सरोकारवालाबाट ३० प्रतिशत लागत साझेदारीको व्यवस्था गरिएको छ । कार्यान्वयनमा देखिएका कानुनी जटिलता हटाउन ११ भन्दा बढी ऐन तथा कानुन निर्माण गरिएको छ । गुणस्तरीय शिक्षाका लागि ‘ज्ञानको साझेदारी’ रणनीति अपनाउँदै १९ भन्दा बढी विधि प्रयोग गरी जान्नेले नजान्नेलाई सिकाउने प्रणाली विकास गरिएको छ । स्वास्थ्य सेवातर्फ डायलसिस सेवा विस्तारका लागि आवश्यक उपकरण खरिद गरी सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । उनका अनुसार वार्षिक ४० भन्दा कम सुत्केरी सेवा हुने बर्थिङ सेन्टरलाई नजिकको उपयुक्त केन्द्रमा स्थानान्तरण गरी खर्च कटौती गरिएको छ । साथै, ‘सही ठाउँमा सही व्यक्ति’ को अवधारणा अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रक्रिया अघि बढाइएको छ ।चालु आर्थिक वर्षका लागि ९६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा हालसम्म ३५ प्रतिशतभन्दा बढी वित्तीय प्रगति भएको नगरपालिकाले जनाएको छ । जेन–जी आन्दोलनका कारण क्षतिग्रस्त पूर्वाधारको मर्मतसम्भार अन्तिम चरणमा पुगेको र अधिकांश योजनाहरू सम्झौता भइसकेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तथा आन्दोलनका कारण केही योजना प्रभावित भए पनि अपवाद बाहेक अधिकांश योजना समयमै सम्पन्न हुने नगरपालिकाले विश्वास व्यक्त गरेको छ ।