बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाले सुशासन, पारदर्शिता र डिजिटल प्रविधिमा जोड दिँदै सेवा प्रवाहलाई आधुनिक बनाउने अभियानलाई तीव्रता दिएको छ ।
गाउँपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र खानेपानीजस्ता आधारभूत क्षेत्रमा उल्लेख्य सुधार गरी आफूलाई विकसित स्थानीय तहका रूपमा उभ्याउने प्रयास गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव पोख्रेलका अनुसार सेवा प्रवाहलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । एआई र डिजिटल प्रविधिको वर्तमान युगमा कञ्चन गाउँपालिकाले आफूलाई समयसापेक्ष प्रविधिमैत्री बनाउन विशेष जोड दिएको उनले बताए । अधिकांश सेवाहरू डिजिटल माध्यमबाट प्रदान गरिरहेका छौँ, थप सेवालाई पनि यही प्रणालीमा ल्याउने क्रममा छौँ । उनले भने, ‘प्रविधिको प्रयोगमार्फत छिटो, छरितो र गुणस्तरीय सेवा दिनु हाम्रो लक्ष्य हो ।’ बढ्दो सहरीकरणसँगै सुरक्षा चुनौती व्यवस्थापन गर्न गाउँपालिकाले ‘उज्यालो सहर’ अभियान सञ्चालन गरेको उनले जानकारी दिए । उनका अनुसार मुख्य चोक तथा संवेदनशील स्थानहरूमा सीसीटीभी क्यामेरा जडान गरेको छ । यसले अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा नागरिक अनुशासन कायम गर्न सहयोग पुगेको उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले निर्माण व्यवसायीको ढिलासुस्ती, ठेक्का प्रक्रियामा हुने ढिलाइ र डीपीआरको कमजोरीका कारण केही आयोजनाहरू प्रभावित भएको बताए । संघीय तथा प्रदेश सरकारबाट बजेट ढिलो आउने र कटौती हुने प्रवृत्तिले समेत योजना कार्यान्वयनमा असर परेको उनको भनाइ छ । यद्यपि गाउँपालिकाले चालु आर्थिक वर्षभित्र सबै योजनाहरू सम्पन्न गर्ने लक्ष्यसहित विशेष ‘एक्सन प्लान’ बनाएर काम गरिरहेको उनले जानकारी दिए । गाउँपालिकाले कृषि, पशुपालन, पर्यटन तथा साना उद्योगलाई प्राथमिकता दिएको छ ।
किसानलाई उन्नत बीउ, औजार तथा नश्ल सुधारका लागि अनुदान कार्यक्रम सञ्चालनमा छन् भने राजस्व संकलनलाई पारदर्शी बनाउन डिजिटल भुक्तानी प्रणाली लागू गरिएको छ ।
चालु आर्थिक वर्षका लागि विनियोजित ५६ करोड १२ लाख रुपैयाँ बजेटमध्ये हालसम्म ४७ प्रतिशत प्रगति भएको गाउँपालिकाका लेखा अधिकृत सन्तोष गैरेले जानकारी दिए । पुँजीगत क्षेत्रतर्फ ३३ प्रतिशत र चालुगततर्फ ५२ प्रतिशत खर्च भएको उनले बताए । पुँजीगत खर्च बढाउने र बेरुजु शून्यमा झार्ने लक्ष्यसहित वित्तीय सुशासन कायम गर्ने दिशामा काम भइरहेको उनले बताए । गाउँपालिकाले प्राकृतिक, धार्मिक तथा ऐतिहासिक स्थलहरूको डिजिटल माध्यमबाट प्रवद्र्धन गर्दै कञ्चनलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत अघि सारेको छ ।