मोरङ । कोशी प्रदेशको पत्रकारिता क्षेत्र सामाजिक रूपमा समावेशी र न्यायपूर्ण बनाउन जरुरी रहेको वक्ताहरुको भनाइ छ । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सँगालो मिडिया प्रालि विराटनगरद्वारा सोमबार विराटनगरमा आयोजित ‘पत्रकारिता क्षेत्रमा देखिएका समस्या र पत्रकार आचारसंहिता’ विषयक दुईदिने अन्तरक्रियामा वक्ताहरूले समाजमा पछाडि परेका पत्रकारलाई यस क्षेत्रमा टिकाइ राख्न सरकार एवं पत्रकारका सङ्घसंस्थाले जिम्मेवारीपूर्वक आवश्यक सहयोग गर्नुपर्ने धारणा राखे ।
वक्ताहरूले पत्रकारितामा आबद्ध महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी, जनजाति तथा पिछडावर्गका पत्रकारलाई सुरक्षाको ‘ग्यारेन्टी’, सञ्चारक्षेत्रका भौतिक पूर्वाधार अपाङ्गतामैत्री हुनुपर्ने र रोजगारीमा यी समुदायलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले प्रदेश सरकारले श्रमजीवी पत्रकारको सुरक्षा र हकहितका लागि आम सञ्चारसम्बन्धी ऐन ल्याएको र प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । राससका अनुसार सञ्चारकर्मीले नयाँ सूचना प्रविधिसँग आबद्ध भई क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव दिँदै यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उनले बताए ।
अन्तरक्रियामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कमल रिमाल, महासङ्घका प्रदेश अध्यक्ष भरत खडका, मोरङ अध्यक्ष सुशीला पाठक, उपाध्यक्ष सन्तोष सिग्देल, प्रेस चौतारी नेपालका प्रदेश अध्यक्ष सुमन पुरी, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष मीनकुमार श्रेष्ठ, प्रेस सङ्गठनका मोरङ अध्यक्ष नवीन कर्ण, सँगालो खबरका प्रधान सम्पादक रवीन कट्टेल, मोहन ढकाल र सञ्चारिका समूहकी प्रदेश उपाध्यक्ष जुनु भट्टराईले पत्रकार आचारसंहिता पालन गर्न सबै सञ्चारकर्मीलाई आग्रह गरे ।
सो अवसरमा वरिष्ठ पत्रकार यज्ञ शर्माले ‘कोशी प्रदेश पत्रकारिता क्षेत्रको समस्या र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।