सुरुङ्गा (झापा) । झापाको मेचीनगर नगरपालिका–४ स्थित माताचोक नजिक गोरेटो बाटो छेउमा गएराति करिब ११ बजे १५ फिट लामो अजिङ्गर सर्प फेला परेकामा उद्धार गरिएको छ ।
स्थानीयवासीले अजिङ्गर देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बानियाँले सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर सुरक्षित रूपमा उद्धार गरी प्रहरी चौकी बाहुनडाँगीमा राखिएको जानकारी दिए ।
उनका अनुसार डिभिजन वन कार्यालय बाहुनडाँगीसँग अजिङ्गरको उद्धार तथा व्यवस्थापनका लागि समन्वय गरिएको छ ।
प्रहरीले वन क्षेत्र नजिकका बस्तीमा बेलाबेला अजिङ्गर, हात्ती तथा अन्य वन्यजन्तु प्रवेश गर्ने हुँदा यस्ता वन्यजन्तु देखिएमा नजिक नजान र तत्काल सम्बन्धित निकायलाई खबर गर्न स्थानीयलाई आग्रह गरेको छ ।