वीरगञ्ज । यातायात व्यवस्था कार्यालय, सवारी शाखा वीरगञ्जमा सवारी साधनको नामसारी तथा सनाखत प्रक्रियामा व्यापक आर्थिक चलखेल हुने गरेको पाइएको छ ।
कार्यालयभित्र केही कर्मचारी, बिचौलिया तथा रिकन्डिसन हाउस सञ्चालकहरूको मिलेमतोमा सवारी धनी र सवारी साधनको प्रत्यक्ष उपस्थितिविनै नामसारी तथा सनाखत प्रक्रिया हुने गरेको छ । प्रचलित कानुनी व्यवस्थाअनुसार कुनै पनि सवारी साधनको स्वामित्व हस्तान्तरण गर्दा सम्बन्धित सवारी धनी र सवारी साधन दुवैको अनिवार्य उपस्थितिमा सनाखत प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । तर वीरगञ्जस्थित कार्यालयमा आर्थिक प्रभाव र पहुँचका आधारमा प्रक्रिया सम्पन्न हुने गरेको छ । स्रोतका अनुसार कार्यालयमा दैनिक दर्जनौं सवारी साधनको सनाखत सवारी धनीको अनुपस्थितिमै हुने गरेको छ । कार्यालय बाहिर सक्रिय बिचौलियाहरूले सेवाग्राहीसँग रकम असुल गर्ने र त्यसपछि सम्बन्धित कर्मचारीहरूसँग समन्वय गरी प्रक्रिया पूरा हुने गरेको छ ।
मोटरसाइकल, स्कुटरलगायतका साना सवारी साधनको सनाखत तथा नामसारी गराउन सेवाग्राहीसँग दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म अतिरिक्त रकम लिने गरिएको छ । उक्त रकम सरकारी राजस्वबाहेक अनौपचारिक रूपमा संकलन हुने गरेको हो । वीरगञ्ज, कलैया, हेटौंडा तथा चितवन क्षेत्रमा सञ्चालित केही रिकन्डिसन हाउसहरूले ग्राहकबाट रकम उठाएर कार्यालयभित्र रहेका सम्पर्क व्यक्तिहरूमार्फत आवश्यक कागजात मिलाउने र प्रक्रिया सम्पन्न गराउने गरेको स्रोतको भनाइ छ ।
नामसारी तथा सनाखत प्रक्रियासँग जोडिएको अर्को गम्भीर विषय नक्कली औंठाछाप तथा किर्ते कागजात प्रयोग भएको आशंका हो । कार्यालयका अभिलेखमा धेरै स्थानमा हस्ताक्षरको सट्टा औंठाछाप प्रयोग भएको देखिएको स्रोतको दाबी छ । अधिकांश सवारी धनी हस्ताक्षर गर्न सक्षम भए पनि अभिलेखमा औंठाछाप मात्र देखिनुले प्रक्रिया शंका उत्पन्न भएको हो । यदि वास्तविक सवारी धनी उपस्थित नभई अरू कसैले औंठाछाप प्रयोग गरेको पुष्टि भएमा त्यसले सरकारी कागजात किर्ते, झुटा विवरण पेश गर्ने तथा सरकारी अभिलेखमा गलत सूचना प्रविष्ट गराउने जस्ता गम्भीर कानुनी प्रश्न उठाउन सक्ने देखिन्छ । कतिपय अवस्थामा सवारी धनीलाई जानकारी नै नदिई वा उनीहरूको प्रत्यक्ष सहभागिताविना सवारी साधन बिक्री तथा नामसारी गरिएको गुनासोसमेत आउने गरेको छ ।
स्रोतले उपलब्ध गराएको अभिलेखअनुसार केही सवारी साधनको नामसारी तथा सनाखत प्रक्रिया विशेष रूपमा शंकास्पद देखिएको छ । ना ४८ प ४९९६ नम्बरको होन्डा स्कुटरको सनाखत प्रक्रिया वास्तविक सवारी धनीको प्रत्यक्ष उपस्थितिविनै सम्पन्न गरिएको दाबी गरिएको छ । उक्त फाइलमा यातायात व्यवस्था कार्यालय वीरगञ्जका सहायक शाखा अधिकृत रामसुन्दर महतोको हस्ताक्षर रहेको छ । त्यसैगरी को २७ प ३०६४ नम्बरको टीभीएस अपाचे मोटरसाइकलको नामसारी प्रक्रियामा समेत अनियमितता भएको छ । कोशी प्रदेशमा दर्ता रहेको उक्त मोटरसाइकललाई मधेस प्रदेशमा स्थानान्तरण गरी नामसारी गर्दा अभिलेखमा सम्पूर्ण विवरण उल्लेख नगरी केवल ‘३१६९’ नम्बरमात्र राखिएको छ ।
स्रोतका अनुसार कार्यालयभित्र भइरहेको अनियमित गतिविधिमा उच्च तहसम्मको संरक्षण रहेको छ । कार्यालय प्रमुख कुश्वेसर साहको संरक्षणमा यस्तो गतिविधि भइरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार दैनिक ३० देखि ४० वटासम्म सवारी साधनको सनाखत सवारी धनीको अनुपस्थितिमै सम्पन्न गरिने गरिएको छ भने यसरी संकलित रकम कार्यालयभित्र विभिन्न तहमा भागबन्डा हुने गरेको छ । कार्यालय प्रमुख तथा अन्य सम्बन्धित कर्मचारीहरूले यस विषयलाई अस्वीकार गरेका छन् ।
यसैगरी सवारी नामसारीसँग जोडिएको तेस्रो पक्ष बीमा (थर्ड पार्टी इन्स्योरेन्स) सम्बन्धी प्रक्रियामा समेत आर्थिक चलखेल हुने गरेको छ । कानुनअनुसार नामसारी गर्दा वैध बीमा अनिवार्य भए पनि बीमा नगरिएका सवारी साधनबाट प्रतिगाडी २०० देखि ३०० रुपैयाँसम्म अतिरिक्त रकम लिएर नामसारी प्रक्रिया सम्पन्न गर्ने गरिएको स्रोतको दाबी छ । यातायात व्यवस्था कार्यालय वीरगञ्जमा भइरहेको अनियमितताको निष्पक्ष छानबिन गर्न पनि माग उठ्न थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग तथा सम्बन्धित निकायहरूले तत्काल छानबिन गरी कारबाही गर्नुपर्ने स्थानिय बताउँछन् ।