दोलखा । जिरी नगरपालिकाले कुल बजेटको ७१ प्रतिशतभन्दा बढी खर्च गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा ७१ दशमलव ६४ प्रतिशत खर्च गरेको हो ।
यस्तै नगरपालिकाले पुँजीगततर्फ ६४ दशमलव ५७ प्रतिशत र चालूतर्फ ७४ दशमलव ७२ प्रतिशत बजेट खर्च गरेको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाले आइतबार आयोजना गरेको ‘जिरी नगरपालिकाको विकास, समृद्धि र पर्यटन’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले उक्त जानकारी दिएकी हुन् ।
सोही अवधिमा नगरपालिकाले चार करोड ९५ लाख ४२ हजार आठ सय ८९ रुपैयाँ राजस्व संकलन गरेको उनले जानकारी दिइन् । नगरपालिकाले लक्ष्य नजिक पुग्ने गरी राजस्व संकलन गर्न सफल भएको उनको भनाइ छ । साथै उनले डिजिटल भुक्तानी प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जानकारी दिइन् ।
नगर प्रमुख मित्रबहादुर जिरेलले जिरी नगरपालिकाको विकास र समृद्धिको मुख्य आधार पर्यटन नै रहेको बताए । उनले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमार्फत नगरको आन्तरिक आय वृद्धि गर्ने लक्ष्य राखिएको जानकारी दिए । जिरीका धार्मिक, आध्यात्मिक तथा प्राकृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्न पनि उनले आग्रह गरे । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकीले पर्यटनसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, कृषि, उद्यम विकास, रोजगार तथा पशु विकासका कार्यक्रमलाई अगाडि बढाइएको जानकारी दिइन् । उनले पर्यटन क्षेत्रको विस्तारसँगै स्थानीय उत्पादन, रोजगारी र आयआर्जनका अवसर समेत वृद्धि हुने विश्वास व्यक्त गरिन् ।
चेर्दुङदेखि एलुङ गुम्बा हुँदै स्टोन पार्कसम्म पर्यटनको आकर्षण
जिरीका पूर्वनगरप्रमुख टंक जिरेलले पछिल्ला वर्षहरूमा जिरी आउने पर्यटकको रोजाइमा चेर्दुङ पर्न थालेको बताए । चेर्दुङको काखमा रहेको क्यान्सेपोखरी धार्मिक तथा प्राकृतिक महत्वका कारण पर्यटकको आकर्षणको केन्द्र बनेको उनको भनाई छ । उनका अनुसार चेर्दुङबाट गौरीशंकर, नुम्बुर र रोल्वालिङ हिमशृङ्खलासहित जिरी उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
यस्तै उनले जिरी बजार आसपासमा मात्र सीमित नभई एलुङ गुम्बा, चेर्दुङ, क्यान्सेपोखरी, जिरेश्वरी मन्दिर, राम्बोले, जट्टापोखरी, गुराँस पार्क, बुद्ध पार्क तथा सिक्री गाउँजस्ता क्षेत्रलाई समेटेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए । विशेषगरी एलुङ गुम्बालाई अन्तर्राष्ट्रिय स्तरको बौद्ध आध्यात्मिक तथा ध्यान केन्द्रका रूपमा विकास गर्न सके जिरीको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो ।
स्थानीय अगुवा सोनाम शेर्पाले जिरी–२ र ३ मा निर्माणाधीन दक्षिण एसियाकै विशाल गुरु रिन्पोछे स्तूपाले जिरीलाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थस्थलका रूपमा परिचित गराउने विश्वास व्यक्त गरे । उनले धार्मिक पर्यटनसँगै जिरेल र शेर्पा समुदायको संस्कृति, परम्परा, भेषभूषा र जीवनशैलीलाई समेत पर्यटनसँग जोड्नुपर्ने बताए ।