काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने भएको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा प्रतिनिधिमण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटगरी उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न सहकार्य गर्ने सहमति गरेका हुन् । कार्यालयका नवनियुक्त प्रमुख काफ्लेले कार्यालय र नाडाबीच क्रिएटिभ र दीर्घकालीन उद्देश्यका विषयहरुमा सहकार्य गरी अघि बढ्ने बताए । सो क्रममा उनले पहाडी क्षेत्रमा चल्नुपर्ने ठूला सीसीका बाइकहरु पनि काठमाडौं सहरभित्र चल्ने गरेको बताए । उनले नाडाले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । नाडाले एआई प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थाका लागि समेत पहल गर्न उनले आग्रह गरे । सवारीसाधन खरिद गर्ने हरेक ग्राहक, सर्भिस सेन्टर र पहिलो पल्ट सवारीसाधन चलाउन लाइसेन्स लिने हरेक व्यक्तिले कार्यालयबाट करिब एक घण्टा अवधिको छोटो प्रशिक्षण लिनुपर्ने व्यवस्थाका लागि पनि उनले आग्रह गरे ।
नाडाका अध्यक्ष उप्रेतीले नाडाले स्टिकरमार्फत ट्राफिक जनचेतनामूलक कार्यक्रम गर्ने बताए । नाडाका महासचिव मिलनबाबु मल्ल, उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवाल समेतले समेत आफ्ना धारणा राखेका थिए ।