काठमाडौँ : कप्तान लियोनल मेस्सीको ऐतिहासिक ह्याट्रिक प्रेरित प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा शानदार सुरुवात गरेको छ। अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान सम्पन्न समूह ‘जे’ अन्तर्गतको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
छैटौँ पटक विश्वकप खेल्दै नयाँ इतिहास रचेका मेस्सीले विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे। उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको सहज जित सुनिश्चित गरेका हुन्।
खेलको सुरुवाती चरणमै मेस्सीले बललाई जाली चुमाए पनि अफसाइडका कारण उक्त गोलले मान्यता पाएन। अल्जेरियाले पनि एकपटक गोल फर्काएको थियो, तर अफसाइडकै कारण त्यो गोल समेत अस्वीकृत भयो।
यो ह्याट्रिकसँगै मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेका छन्। उनले विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्याउँदै जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोसको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमानसँग बराबरी गरेका हुन्।
सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेस्सी अल्जेरियाविरुद्ध मैदान उत्रिएसँगै छैटौँ संस्करणको विश्वकप खेल्ने विश्वकै पहिलो फुटबलर बनेका छन्। उनले सन् २०१० को विश्वकपबाहेक आफूले खेलेका पाँच संस्करणमा गोल गर्न सफल भएका छन्।
चार वर्षअघि कतार विश्वकपमा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेस्सीले यसपटक पनि टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका छन्। साथै, उनले विश्वकप इतिहासमा कीर्तिमानी २७औँ खेल खेल्दै अर्को उपलब्धि आफ्नो नाममा लेखाएका छन्।
यो जितसँगै अर्जेन्टिनाले महत्वपूर्ण तीन अंक जोड्दै समूह ‘जे’ को शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ। मेस्सीको ऐतिहासिक प्रदर्शनले उपाधि रक्षा अभियानमा अर्जेन्टिनाको आत्मविश्वास थप बलियो बनेको छ।