विराटनगर । सुनसरी मोरङ करिडोरका ठूला उद्योगीकोहरू नै राजस्व छली गर्ने गरेको पाइएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले यहाँका उद्योग अनुगमन गर्दा राजस्व छली बढेको पाइएको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् मौन बसेको आराका विराटनगरले हालै आकस्मिक रूपमा उद्योगहरूको अनुगमन गरेको छ । विराटनगरको एक प्रतिष्ठित उद्योगीको अकल्पनीय रूपमा राजस्व छली भएको भन्दै उजुरी आएपछि कार्यलयले अनुगमन गरेको हो । उक्त उद्योग अनुगमन गर्दा उद्योगले मुुअकरदेखि अन्तःशुल्कसमेत छली गरेको फेला पारेको छ । आफूलाई विराटनगरको वरिष्ठ उद्योगी भन्ने ती व्यवसायीको कारोबार छानबिन तथा अनुसन्धान गर्नुुपर्ने अवस्थामा आन्तरिक राजस्व कार्यालय पुगेको छ । यो घटनाले सुनसरी मोरङ औद्योगिक करिडोरमा साना उद्योगी तथा व्यवसायीहरू भन्दा आफूलाई वरिष्ठ र ठूला उद्योगी भन्ने समूहबाट राजस्व छली हुने गरेको खुलेको छ । पछिल्लो समय व्यवसायी सुलभ अग्रवाल, शेखर गोल्छा र दिपक भट्ट जस्ता ठूला व्यवसायीको कारोबार र धन्दामा अनुसन्धान चहिरहेको छ । सोही बेलामा विराटनगरका ठूला उद्योगीले पनि राजस्व छली गरेको खुलेपछि सुनसरी मोरङ औद्योगिक करिडोर चकित परेको छ ।
जेनजी आन्दोलनबाट कार्यलय ध्वस्त भएपछि कार्यलयले बजार अनुगमन गरेको थिएन । त्यसकै मौका पारेर उद्योगी व्यवसायीहरूले राजस्व छली गरेको पाइएको हो । आन्दोलपछि कार्यालयबाट सामान्य सेवामात्रै सञ्चालन हुँदै आएको छ, राजस्व कार्यालयमा पछिल्लो समय व्यवसायीबाट भएका कर छलीका उजुरीको चाङ्ग लागेर बसेको छ । आराकाका कुनै पनि कर्मचारी बजारमा गएर अनुुगमन गर्न तयार नहुुँदा विराटनगर बजारमा अनियन्त्रित रूपमा राजस्व छली बढेको स्वयं व्यवसायीस्रोतले आर्थिक दैनिकलाई बताएको छ । जेनजी आन्दोलन हुनु भन्दा अगाडी नै आन्तरिक राजस्व कार्यालयले केही नक्कली बिल बीजक प्रयोग गरी कारोबार गरेको आशंकामा दशवटा व्यवसायी फर्ममाथि अनुसन्धान सुरु गरेको थियो । उक्त राजस्व छलीको अनुसन्धान सकेर कारबाही प्रक्रिया सुरु हुनै लाग्दा कार्यालय नै ध्वस्त भएपछि अब उक्त मुद्दामा के गर्ने भन्ने अन्यौलमा कार्यलय छ ।