दोलखा । जिरी नगरपालिका–१, पर्यटकीय गाउँ पुम्पामा ७२ वर्षीय लाक्पा शेर्पा बुढेसकालमा पनि कृषि कर्ममै व्यस्त छन् । शेर्पाले पुम्पाको हरियाली वातावरणमा रहेको करिब २० रोपनी जमिनमा किवी, आलु खेती र पशुपालन गरेका छन् ।
परम्परागत खेतीभन्दा फरक सोच अपनाउँदै उनले व्यावसायिक कृषि प्रणालीलाई अंगालेका थिए । उनकै पदचाप पछ्याउँदै गाउँमा अन्य किसानहरू पनि व्यावसायिक कृषि खेतीतर्फ आकर्षित भएका छन् । लाक्पाले सुरुमा किवी खेती सुरु गरेका थिए । किवीलाई मुख्य बाली बनाउँदै उनले पछि यसको बीचमा आलु खेती पनि गर्न थाले । एउटै बारीमा दुईवटा उत्पादन लिने उनको यो मिश्रित खेती प्रणाली अहिले सफल भएको छ । गत वर्ष मात्रै उनले किवी बिक्रीबाट करिब २ लाख रुपैयाँ आम्दानी गरेका थिए । त्यस्तै, किवी बगैंचाको छाहारीमा लगाएको आलु खेतीबाट थप ५० हजार रुपैयाँभन्दा बढी आम्दानी भएको बताए । यसरी एउटै जमिनबाट दुई सिजनमा आम्दानी लिन सक्ने उनको अभ्यासले स्थानीय अरुलाई पनि लोभ्याएको छ ।
हाल आलु खन्ने सिजन सुरु भएको छ, शेर्पा दम्पती खेतबारीमै व्यस्त देखिन्छन् । किवीको उत्पादन सिजन भने कात्तिकदेखि सुरु हुने उनले बताए । जिरी नगर प्रमुख मित्र जिरेलले शनिबार शेर्पाको किवी बगानमा पुगेर अनुगमन गरेका थिए । नगरपालिकाले बीउबिजन, टनेल, थाङ्ग्रा, कृषि औजार तथा प्राविधिक सहयोगमार्फत किसानलाई प्रोत्साहन गर्दै आएको छ । यसले स्थानीय कृषकलाई आधुनिक कृषि प्रणाली अपनाउन सहयोग पुगेको नगर प्रमुख जिरेलले बताए । गत वर्ष सक्रिय कृषकका रूपमा लाक्पा शेर्पाले नगरपालिकाबाट सम्मानित भएका थिए ।
आफैँ बीउ उत्पादन गर्न सफल
कृषक लाक्पा शेर्पाले आलुको प्रथम पुस्ताको बीउ उत्पादनसम्बन्धी सफल परीक्षणसमेत गरेका छन् । उन्नत टीपीएस–२ जातको आलुको दाना बीउ प्रयोग गरी पहिलो पुस्ताको आलु बीउ उत्पादन गरिएको उनले बताए । आलुबाली विकास केन्द्र, निगाले, सिन्धुपाल्चोकबाट २९ हजार रुपैयाँमा २० ग्राम दाना बीउ खरिद गरी परीक्षण थालेका थिए । ‘पहिलो पटक परीक्षणका रूपमा लगाइएको टीपीएस–२ जातको दाना बीउबाट पहिलो पुस्ताको आलु बीउ उत्पादन सफल भएको छ,’ शेर्पाले भने । उनका अनुसार यस प्रविधिबाट उत्पादन भएको बीउ गुणस्तरीय हुने भएकाले आगामी वर्षमा उत्पादन विस्तार गर्ने योजना रहेको छ ।