दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकास्थित वैतेश्वर महादेव मन्दिर परिसरमा १०८ फिट अग्लो नागदेवताको मूर्ति निर्माण गरिएको छ । जिल्लाकै सबैभन्दा अग्लो मानिएको उक्त मूर्तिले वैतेश्वर क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
हिन्दु धर्ममा नागदेवतालाई विशेष आस्थाका साथ पूजा गरिन्छ । भगवान शिवसँग नागको गहिरो सम्बन्ध रहेको धार्मिक विश्वासका आधारमा निर्माण गरिएको यो भव्य मूर्ति श्रद्धालु तथा पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ । विशेषगरी श्रावण महिना, नागपञ्चमी तथा शिवरात्रिजस्ता पर्वहरूमा यहाँ आउने भक्तजनको संख्या बढ्ने विश्वास गरिएको छ । चालू आर्थिक वर्ष २०८२/०८३ मा बागमती प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट उक्त मूर्ति निर्माण गरिएको हो । उक्त मूर्ति निर्माणको लागि वाग्मति प्रदेशका तत्कालिन आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । वैतेश्वरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित गाउँपालिकाको अभियानलाई पूरा गर्न प्रदेश सरकारले पनि हातेमालो गर्दै नागदेवताको तामाको मूर्ति निर्माण गरिएको काफ्ले बताए । मूर्ति निर्माण सम्पन्न भएपछि आइतबार काफ्लेले स्थलगत अनुगमन पनि गरेका छन् । अनुगमनको क्रममा उनले धार्मिक पर्यटन प्रवर्द्धनमार्फत स्थानीय आर्थिक गतिविधि बढाउन यस्ता संरचनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
धार्मिक संरचना निर्माणमा गाउँपालिकाको प्राथमिकता
वैतेश्वर गाउँपालिकाले पछिल्ला वर्षहरूमा यहाँको धार्मिक पर्यटन विकासलाई विशेष प्राथमिकतामा राखेको छ । पालिकाले विभिन्न वडाहरूमा रहेका मठमन्दिर, गुम्बा, देवस्थल तथा धार्मिक सम्पदाहरूको संरक्षण, प्रवर्द्धन र पूर्वाधार निर्माणमा लगानी गर्ने गरेको छ । यसले स्थानीय धार्मिक सम्पदाको संरक्षण मात्र नभई आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रलाई धार्मिक पर्यटनसँग जोडेर विकास गर्ने योजना अनुसार विभिन्न पूर्वाधार निर्माण कार्यहरू अगाडि बढाइँदै आएको गाउँपालिकाले जनाएको छ ।
नवनिर्मित १०८ फिट अग्लो नागदेवताको मूर्तिले वैतेश्वर महादेव क्षेत्रको आकर्षण अझ बढाएको स्थानीयको भनाइ छ । मन्दिर दर्शनका लागि आउने भक्तजन तथा पर्यटकहरूका लागि यो मूर्ति प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ । धार्मिक पर्यटकको आगमन बढेसँगै स्थानीय होटल, पसल, यातायात तथा अन्य व्यवसायिक गतिविधिहरूमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले सम्पन्न वैतेश्वर क्षेत्रलाई जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ गाउँपालिका, प्रदेश सरकार तथा स्थानीय सरोकारवालाहरू सक्रिय रहेका छन् ।