बुटवल । रूपन्देहीको मर्चवारीमाई गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड ३७ लाख ५९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
२०औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष आशा सिंहले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक वर्षमा ६० लाख रुपैयाँ आन्तरिक आम्दानी, गत आर्थिक वर्षको मौज्दात पाँच करोड ४८ लाख ७६ हजार रुपैयाँ, संघीय राजस्व बाँडफाँडबाट नौ करोड ९१ लाख ५९ हजार रुपैयाँ, सवारी साधन कर बाँडफाँडबाट ९८ लाख ८७ हजार रुपैयाँ, संघीय समानीकरण अनुदान ११ करोड ९९ लाख रुपैयाँ, संघीय ससर्त चालू अनुदान १६ करोड ९३ लाख रुपैयाँ, सशर्त पुँजीगत अनुदान ५६ लाख रुपैयाँ, प्रदेश समानीकरण अनुदान ८२ लाख ८७ हजार रुपैयाँ, प्रदेश ससर्त अनुदान ८२ लाख ५० हजार रुपैयाँ, प्रदेश समपूरक अनुदान ७५ लाख रुपैयाँ तथा अन्य स्रोतसमेत गरी कुल ४९ करोड ३७ लाख ५९ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरिएको छ ।
विनियोजनतर्फ शिक्षा क्षेत्रमा चार करोड ५० लाख रुपैयाँ, स्वास्थ्य शाखामा एक करोड ४० लाख रुपैयाँ, कृषि शाखामा १२ लाख रुपैयाँ, पशु विकास कार्यक्रममा आठ लाख रुपैयाँ तथा विपद् व्यवस्थापन कोषमा १३ लाख रुपैयाँ छुट्याइएको छ । त्यसैगरी वडा नं. १ देखि ७ सम्म सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि ७ करोड ७ लाख रुपैयाँ, गाउँपालिका अध्यक्षका योजनाका लागि एक करोड ६५ लाख रुपैयाँ, उपाध्यक्षका योजनाका लागि एक करोड ३० लाख रुपैयाँ तथा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बजेट प्रस्तुत गर्दै उपाध्यक्ष आशा सिंहले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार, सामाजिक समावेशीकरण तथा सुशासनलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको जानकारी दिइन् । सीमित स्रोत–साधनका बाबजुद नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने, विकासलाई दिगो र परिणाममुखी बनाउने उनको भनाइ छ । बजेटमा आर्थिक विकास, गरिबी न्यूनीकरण, उत्पादन वृद्धि, रोजगारी सिर्जना, महिला, बालबालिका, दलित, विपन्न तथा पछाडि परेका समुदायको सशक्तीकरण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको छ । आगामी आर्थिक वर्षमा गाउँपालिकाभित्र सुशासन प्रवर्द्धन, विकास आयोजनालाई नतिजामूलक बनाउने, सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका वर्गलाई स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने तथा सबै वडा र बस्तीको सन्तुलित विकास गर्ने लक्ष्य बजेटले लिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठीले बजेट कार्यान्वयनमा पारदर्शिता, सुशासन र कानुनी प्रक्रियालाई पूर्ण रूपमा पालना गरिने बताए । यस्तै लेखा अधिकृत युवराज घिमिरेले प्रस्तुत आय–व्यय विवरण गाउँपालिकाको उपलब्ध स्रोत र वित्तीय क्षमताअनुसार तयार गरिएको जानकारी दिँदै विनियोजित बजेटलाई तोकिएको उद्देश्यअनुसार खर्च गरिने बताए ।