बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले चालू आर्थिक वर्षमा पूर्वाधार, स्वास्थ्य, कृषि र प्रशासनिक सेवा प्रवाहतर्फ उल्लेखनीय प्रगति भएको जनाएको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार १५५ उपभोक्ता समितिमार्फत सञ्चालित आयोजनामध्ये ३० वटा सम्पन्न भई फरफारक भएका छन् भने ३२ वटा सडक तथा पूर्वाधार आयोजना ई–बिडिङमार्फत सम्पन्न भएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेका अनुसार वडा नं. ६ को मिलनचोक–गिडिया–वडा नं. ५ सडक तथा वडा नं. ५ को बेदौली डाँडादेखि वडा नं. ४ कार्यालयसम्मको सडक कालोपत्रे गरिएको छ । यस अवधिमा १.९६ किलोमिटर कालोपत्रे, चार किलोमिटर ग्राभेल, २.७ किलोमिटर आरसीसी सडक, ४३३ मिटर सिँचाइ कुलो, एक हजार ५४७ मिटर पक्की नाली, चार वटा कल्भर्ट र ४२३ मिटर रिटेनिङ वाल निर्माण सम्पन्न भएको उनले जानकारी दिए । स्वास्थ्यतर्फ वडा नं. ४ छपियामा १५ शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ । अस्पतालमा एमबीबीएस चिकित्सकमार्फत सेवा सञ्चालनको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।
प्रशासनिक सेवा सुधारअन्तर्गत वडा नं. ४ को प्रशासनिक भवन निर्माण सम्पन्न भएसँगै गाउँपालिकाका सातै वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आएका छन् । स्थानीय कला तथा संस्कृति संरक्षणका लागि निर्माणाधीन थारु संग्रहालय अन्तिम चरणमा पुगेको छ भने सियारी रिङरोडमा सडक बत्ती जडान गरिएको उनले बताए । कृषि क्षेत्रमा अमुवास्थित कृषि हाटबजारको पूर्वाधार निर्माण सम्पन्न गरिएको छ । गाउँपालिकाको गौरवको आयोजना अमुवा पार्कको सौन्दर्यीकरण जारी रहेको तथा तिलोत्तमा–सियारी–मायादेवी रिङरोड कालोपत्रे आयोजना कार्यान्वयन चरणमा रहेको प्रगति विवरणमा उल्लेख छ । दूध उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षको पुस मसान्तसम्म १९८ कृषकलाई प्रतिलिटर २ रुपैयाँ ५० पैसाका दरले कुल ५८ लाख ७० हजार छ सय रुपैयाँ अनुदान वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सामाजिक सुरक्षा, महिला तथा बालबालिका, युवा तथा खेलकुद, विपत् व्यवस्थापन, खानेपानी, सरसफाइ, रोजगार, उद्यम विकास, वातावरण संरक्षण तथा सुशासनका क्षेत्रमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत पाण्डेका अनुसार स्वीकृत योजना समयमै सम्पन्न गर्ने, विकास निर्माणको गुणस्तर कायम गर्ने र नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यअनुसार गाउँपालिका अघि बढिरहेको छ ।