जुम्ला । जुम्लामा बुधबार साँझ चट्याङमा परी हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले स्थानीय छोटा खर्क पाटनमा बुधबार साँझ एनसेल टावर नजिक परेको चट्याङमा भेडा गोठालो गएका रावतको मृत्यु भएको जानकारी दिए । सोही वडाका ३५ वर्षीय जगत रोकाया र २० वर्षीय बलबहादुर रोकाया चट्याङ लागेर घाइते भएका छन् । प्रहरीले घाइते दुवैको अवस्था सामान्य रहेको जनाएको छ ।
चट्याङमा परी केही भेडाबाख्रा मरेको भए पनि सङ्ख्या भने यकिन नभएकाले त्यसबारे अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको जनाइएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयले चन्दननाथ नगरपालिका–१० बोहरागाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा पनि हिजै चट्याङमा परी १२ वटा खसी र बाख्रा मरेको पनि जनाएको छ ।