बरहथवा (सर्लाही) । सर्लाहीको लालबन्दी नगरपालिका–७ र ३ को सीमास्थित सडकमा रातिको समयमा अज्ञात समूहले गोली प्रहार गरी लुटपाटको प्रयास गरेको छ ।
लालबन्दी नगरपालिका–७, का हरिप्रसाद सापकोटालाई लालबन्दी बजारमा राती मोबाइल पसल बन्द गरेर घर फर्किने क्रममा मोटरसाइकल चढेर आएका तीन जनाले लुट्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा राती घर फर्किदै गरेका सापकोटाले लुटेरा समूहको प्रतिकार गरेपछि उनीहरु नलकटुवा पेस्तोलबाट गोली प्रहार गरी फरार भएका उनले बताए । नलकटुवा पेस्तोलबाट पड्काएको गोलीको खोखासमेत घटनास्थलबाट प्रहरीले बरामद गरेको छ ।
‘‘लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्ने व्यक्तिलाई राति पन्छ्याएर एकान्त जस्तो ठाउँमा पुगेपछि बाटो घेरेर लुट्ने प्रयास भएको छ ।’’ जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले भने, ‘‘उहाँले प्रतिकार गरेपछि उनीहरु गोली पड्काउँदै भागेका देखिन्छ । हामी अनुसन्धानमै छौँ ।’’