इलाम । मेची राजमार्ग अन्तर्गत इलामको माई खोलास्थित राजदुवाली सडक खण्ड लगातारको वर्षापछि अवरुद्ध भएको छ। यस क्षेत्रमा सडक चर्किनुका साथै विभिन्न स्थानमा भासिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको हो।
उक्त सडक खण्डमा निरन्तर वर्षाका कारण साना तथा ठुला कुनै पनि सवारी साधन सञ्चालन हुन सकेको छैन्। इलामवासी राजदुवाली सडक खण्ड बन्द भएपछि चिन्तित भएका छन्। राजदुवाली सडक खण्डको स्थायी विकल्पको माग गर्दै आएका स्थानीयले सडक पूर्ण रूपमा बन्द भएपछि वैकल्पिक मार्ग निर्माणको मागलाई थप जोड दिएका छन्।
पूर्वेली जीप तथा ट्याक्सी यातायात प्रालिका अध्यक्ष गृष्म सुब्बाले वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगोला–तिल्केनी सडकमा पनि हिलो र चिप्लोपनका कारण सवारी सञ्चालन गर्न कठिन भएको बताए। इलाम–झापा जोड्ने केचना–कञ्चनजङ्घा द्रुतमार्ग अन्तर्गत पुवाखोलाको डाइभर्सनमाथिबाट बाढी बगिरहेकाले त्यहाँ पनि यातायात सञ्चालन प्रभावित भएको छ।