काठमाडौं । ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत् आयोजनाको निर्माणकार्यले तीव्रता लिएको छ । निर्माण कम्पनीका अनुसार हालसम्म आयोजनाको करिब २५ प्रतिशत भौतिक प्रगति भएको छ भने निर्माणका विभिन्न चरणहरू समानान्तर रूपमा सञ्चालन भइरहेका छन् ।
अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित उक्त आयोजना गण्डकी प्रदेशको लमजुङ जिल्लाको बेसीशहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिकामा निर्माण भइरहेको छ । आयोजनामा सिभिल, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल तीनवटै क्षेत्रको काम सन्तोषजनक रूपमा अघि बढिरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको इन्टेक तथा डिसेन्डर क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । डिसेन्डरको मुख्य संरचनाको निर्माण तीव्र गतिमा भइरहेको छ भने आवश्यक कङ्क्रिट ढलान, संरचनागत निर्माण तथा गुणस्तर परीक्षणको पनि जारी छ । यसअघि रातिको समयमा समेत कङ्क्रिट ढलान गरी निर्माणलाई निरन्तरता दिइएको थियो । यस्तै, आयोजनाको पावरहाउस निर्माणका लागि आवश्यक उत्खनन कार्य पनि तीव्र गतिमा अघि बढाएको कम्पनीले जनाएको छ । पावरहाउस क्षेत्रको भू–संरचना अनुसार कटिङ, ढलान व्यवस्थापन तथा स्थायित्व कायम गर्न आवश्यक पूर्वाधार निर्माण जारी रहेको छ ।
आयोजनामा जडान हुने हाइड्रो–मेकानिकल उपकरणहरूको फेब्रिकेसन कार्य हेटौंडास्थित उत्पादन केन्द्रमा सुरु भइसकेको कम्पनीले जनाएको छ । आवश्यक स्टिल संरचना, गेट, पाइप तथा अन्य मेकानिकल उपकरणहरू डिजाइनअनुसार निर्माण भइरहेको छ । त्यसैगरी, आयोजनाका लागि आवश्यक इलेक्ट्रो–मेकानिकल उपकरणहरूको उत्पादन प्रक्रिया पनि सुरु भएको छ । यसअघि अन्तर्राष्ट्रिय कम्पनीसँग भएको सम्झौताअनुसार उपकरणहरूको डिजाइन तथा उत्पादन कार्य युरोप र भारतस्थित उत्पादन केन्द्रहरूमा अगाडि बढाइएको छ । उपकरण निर्माणसम्पन्न भएपछि नेपाल ल्याएर आयोजना स्थलमा जडान गरिनेछ । कम्पनीले आयोजनाका लागि आवश्यक सात अर्ब ५० करोड रुपैयाँ सह–वित्तीयकरण कर्जा सुनिश्चित गरिसकेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गरेका छन् । आयोजनाको कुल अनुमानित लागत ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ, जसमा बाँकी रकम कम्पनीले स्वपुँजीमार्फत व्यवस्थापन गरिरहेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् आयोजनास्थलबाट करिब ८ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभी उदिपुर सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) यसअघि नै सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । साथै, कम्पनीले आयोजना प्रभावित स्थानीयवासी तथा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारीस्वरूप आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।