काठमाडौं । द ब्रिटिस कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)बीच ‘स्टार्टअप वल्र्ड कप नेपाल च्याप्टर २०२६’ का लागि एक रणनीतिक सम्झौता भएको छ । यस साझेदारीले नेपालको सूचना प्रविधि र डिजिटल उद्यमशीलताको जगलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
सम्झौताअनुसार क्यान महासंघ यस ग्लोबल प्रतिस्पर्धाको ‘स्ट्राटेजिक अर्गनाइजिङ पार्टनर’ को रूपमा रहनेछ । उक्त सम्झौता पत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिस कलेजका ग्रुप सीईओ राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वन कभर प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन् । यो सहकार्यले नेपालभर छरिएर रहेका नवप्रवर्तनकारी सोचहरूलाई एकीकृत गर्ने र उनीहरूलाई व्यावसायिक रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । सम्झौताअनुसार प्रदेशहरूमा स्थानीयस्तरका स्टार्टअपहरू पहिचान गर्न विशेष प्रतियोगिताहरू संचालन गरिनेछ । यस्तै नवप्रवर्तनकारी आइडियाहरूलाई पुँजीसँग जोड्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूसँग सहजीकरण गरिने उल्लेख छ ।
‘स्टार्टअप वल्र्ड कप नेपाल च्याप्टरका विजेताले अमेरिकाको प्रख्यात प्रविधि केन्द्र सिलिकन भ्यालीमा हुने ग्लोबल ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन् । भने विश्व मञ्चका दिग्गजहरूसँग प्रतिस्पर्धा गर्दै १ मिलियन अमेरिकी डलर (करिब १३ करोड रुपैयाँ भन्दा बढी) को लगानी पुरस्कार जित्ने अवसर पाउनेछन् ।