काठमाडौं । वाणिज्य बैंकहरूको खुद मुनाफा आधा खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल ६४ अर्ब ५६ करोड ३६ लाख ८० हजार रुपैयाँ खुद मुनाफा कमाएका हुन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ६२ प्रतिशत अर्थात् १० अर्ब ५६ करोड रुपैयाँलो बढी हो । गत आवको सोही अवधिमा बैंकहरूले झण्डै ५४ अर्ब रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
राष्ट्र बैंकका अनुसार चालू आवको जेठ मसान्तसम्ममा ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एभरेष्ट बैंक, स्टान्डर्ड बैंक, प्रभु बैंक र एनआईसी एसिया बैंकको खुद मुनाफा केही संकुचन आएको भए पनि यीबाहेकका बाँकी १४ वटा बैंकहरूको खुद मुनाफा भने गत आवको सोही अवधिको तुलनामा बढेको छ । यस अवधिमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिलले कुल आठ अर्ब ४९ करोड २४ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा दोस्रो र तेस्रो स्थानमा पर्न सफल भएका ग्लोबल आईएमई र कुमारी बैंकले क्रमशः पाँच अर्ब ९७ करोड ८३ लाख र चार अर्ब ७० करोड ६९ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट र प्राइम कमर्सियल बैंकले पनि यस अवधिमा क्रमशः चार अर्ब ४९ करोड ११ लाख, चार अर्ब १२ करोड ३४ लाख र तीन अर्ब ७४ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । चालू आवको जेठ मसान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंक, एनएमबी र नेपाल बैंकले पनि क्रमशः तीन अर्ब ७२ करोड ४८ लाख, तीन अर्ब ६३ करोड र तीन अर्ब ३२ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा सानिमा, लक्ष्मी सनराइज र सिद्धार्थ बैंकले पनि क्रमशः तीन अर्ब १२ करोड २३ लाख, दुई अर्ब ८९ करोड ३२ लाख र दुई अर्ब ८१ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् । यस अवधिमा स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे र कृषि विकास बैंकले पनि क्रमशः दुई अर्ब ६२ करोड ४१ लाख, दुई अर्ब १७ करोड ७१ लाख र एक अर्ब ९५ करोड ८९ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । नेपाल एसबीआई, सिटिजन्स बैंक इन्टरनेसनल र प्रभु बैंकले पनि चालू आवको पछिल्लो ११ महिनामा क्रमशः एक अर्ब ८३ करोड ८४ लाख, एक अर्ब ७४ करोड ६१ लाख र एक अर्ब ४८ करोड ५० लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । हिमालयन बैंक र एनआईसी एसिया बैंकले पनि चालू आवको पछिल्लो ११ महिनाको अवधिमा क्रमशः एक अर्ब १६ करोड ४२ लाख र ५० करोड ७७ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् ।