काठमाडौं । पछिल्लो समय मुलुकमा मुद्रास्फीति वस्तु तथा सेवाको बढे पनि रेमिट्यान्ससँगै विदेशी मुद्राको सञ्चिति पनि बढ्दा अर्थतन्त्र भने सहज अवस्थामा देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको ११ महिनाको प्रतिवेदनअनुसार जेठ महिनामा देशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव २२ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति दुई दशमलव ७२ प्रतिशत रहेको थियो ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति चार दशमलव ९५ प्रतिशत तथा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति पाँच दशमलव ३७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति शून्य दशमलव ५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको तीन दशमलव ९४ प्रतिशत रहेको थियो । यद्यपि, चालू आर्थिक वर्षको ११ महिनाको औसत मुद्रास्फीति भने दुई दशमलव ८९ प्रतिशतमा सीमित रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा औसत मुद्रास्फीति चार दशमलव २४ प्रतिशत रहेको थियो ।
प्रतिवेदनअनुसार जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूलको मूल्य सबैभन्दा बढी १७ दशमलव ४० प्रतिशतले बढेको छ । त्यसपछि घ्यू तथा तेलको मूल्य १५ दशमलव १० प्रतिशत, माछा तथा मासुको पाँच दशमलव २६ प्रतिशत तथा तरकारीको चार दशमलव १४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । दाल तथा गेडागुडीको मूल्य भने शून्य दशमलव ९३ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य १६ दशमलव ६८ प्रतिशतले बढेको छ । यातायातको मूल्य १५ दशमलव ३१ प्रतिशत, मदिराजन्य पेय पदार्थ सात दशमलव २० प्रतिशत, शिक्षासम्बन्धी सेवा पाँच दशमलव ५४ प्रतिशत तथा कपडा तथा जुत्ताचप्पल पाँच दशमलव ५३ प्रतिशतले महंगिएको प्रतिवेदनमा उल्लेख छ ।
ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक चार दशमलव ७८ प्रतिशतले बढ्दा सहरी क्षेत्रमा भने पाँच दशमलव ३८ प्रतिशतले वृद्धि भएको छ । प्रदेशगत रूपमा सबैभन्दा बढी मुद्रास्फीति कोशी प्रदेशमा पाँच दशमलव ७५ प्रतिशत रहेको छ । त्यसपछि मधेश र लुम्बिनी प्रदेशमा समान पाँच दशमलव ६२ प्रतिशत, गण्डकीमा पाँच दशमलव शून्य पाँच प्रतिशत, कर्णालीमा चार दशमलव ८९ प्रतिशत, बागमतीमा चार दशमलव ७९ प्रतिशत तथा सुदूरपश्चिम प्रदेशमा चार दशमलव ६१ प्रतिशत मुद्रास्फीति रहेको छ । भौगोलिक क्षेत्रअनुसार तराईमा सबैभन्दा बढी पाँच दशमलव ७४ प्रतिशत मुद्रास्फीति देखिएको छ । पहाडमा पाँच दशमलव शून्य सात प्रतिशत, काठमाडौं उपत्यकामा चार दशमलव ९८ प्रतिशत तथा हिमाली क्षेत्रमा तीन दशमलव ७१ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसैबीच, जेठ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति आठ दशमलव ४७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति एक दशमलव ५६ प्रतिशत मात्रै थियो । समीक्षा अवधिमा उपभोग्य वस्तुको थोक मुद्रास्फीति एक प्रतिशतले ऋणात्मक रहे पनि मध्यवर्ती वस्तुको थोक मुद्रास्फीति १४ दशमलव ६४ प्रतिशत र पुँजीगत वस्तुको चार दशमलव ७८ प्रतिशत पुगेको छ । निर्माण सामग्रीको थोक मूल्य सूचकांक पनि तीन दशमलव शून्य नौ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । नेपालको मुद्रास्फीतिको दर छिमेकी भारतभन्दा उच्च देखिएको छ । जेठ महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव २२ प्रतिशत रहँदा सन् २०२६ को मे महिनामा भारतको उपभोक्ता मुद्रास्फीति तीन दशमलव ९३ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।
रेमिट्यान्स रकममा ३८ प्रतिशतले वृद्धि, ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब ८० करोड
मुलुकमा वैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात् रेमिट्यान्स रकम बढेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी ११ महिनाको प्रतिवेदनअनुसार चालू आवको ११ महिनामा रेमिट्यान्स रकम ३८ दशमलव दुई प्रतिशतले बढेर २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव छ प्रतिशतले बढेको थियो ।
प्रतिवेदनअनुसार २०८३ जेठ महिनामा विप्रेषण आप्रवाह दुई खर्ब तीन अर्ब ८९ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९ दशमलव छ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२ दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २३ खर्ब २१ अर्ब सात करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख ६७ हजार दुई सय ११ र पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख ५५ हजार सात सय ३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः चार लाख ५२ हजार तीन सय २४ र तीन लाख आठ हजार ६७ रहेको थियो ।
खुद सेवा आय ७२ अर्ब रुपैयाँले घाटामा
मुलुकको खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी ११ महिनाको प्रतिवेदनअनुसार खुद सेवा आय ७२ अर्ब ५४ करोडले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ८२ अर्ब ७८ करोडले घाटामा रहेको थियो ।
प्रतिवेदनअनुसार सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय शून्य दशमलव एक प्रतिशतले कमी भई ८२ अर्ब २२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८२ अर्ब ३३ करोड रहेको थियो ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय चार दशमलव सात प्रतिशतले कमी भई एक खर्ब ९३ अर्ब ६५ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय एक खर्ब ३२ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय दुई खर्ब तीन अर्ब १८ करोड रहेकोमा शिक्षातर्फको व्यय एक खर्ब २४ अर्ब ७५ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।
ढुकुटीमा ३७ खर्ब ४४ अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा सञ्चिति
विदेशी मुद्राको सञ्चिति बढेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी ११ महिनाको प्रतिवेदनअनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४० दशमलव तीन प्रतिशतले वृद्धि भई २०८३ जेठ मसान्तमा ३७ खर्ब ५५ अर्ब ६४ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ जेठ मसान्तमा २६ दशमलव छ प्रतिशतले वृद्धि भई २४ अर्ब ६८ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८३ जेठ मसान्तमा ३७ दशमलव नौ प्रतिशतले बढेर ३३ खर्ब ३० अर्ब सात करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८३ जेठ मसान्तमा ६१ दशमलव आठ प्रतिशतले वद्धि बढेर चार खर्ब ४५ अर्ब ५७ करोड कायम भएको छ ।
प्रतिवेदनअनुसार २०८३ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव शून्य पाँच प्रतिशत रहेको छ । सञ्चिति पर्याप्तता सूचक आर्थिक वर्ष २०८२/८३ को १० महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२ महिना पाँच दिनको वस्तु आयात र १९ महिना एक दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८३ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६१ दशमलव पाँच प्रतिशत, एक सय ५९ दशमलव पाँच प्रतिशत र ४३ दशमलव सात प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३ दशमलव आठ प्रतिशत, एक सय २८ दशमलव एक प्रतिशत र ३४ दशमलव एक प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
शोधनान्तर स्थिति नौ खर्ब २६ अर्ब रुपैयाँले बचतमा
मुलुकको शोधनान्तर स्थिति बचतमा देखिएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी ११ महिनाको प्रतिवेदनअनुसार चालू आवको जेठ मसान्तसम्ममा चालू खाता आठ खर्ब छ अर्ब छ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता तीन खर्ब २१ अर्ब ७४ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ३७ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा पाँच अर्ब ५३ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १७ अर्ब तीन करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर आठ अर्ब ९६ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा २२ अर्ब ८२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ११ अर्ब सात करोड रुपैंयाँ रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति नौ खर्ब २६ अर्ब छ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति चार खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा तीन अर्ब ६२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा छ अर्ब ३९ करोडले बचतमा रहेको छ ।