काठमाडौं, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले चीनको सीमा क्षेत्रमा रोकिएका सवारीलाई नेपाल ल्याउन सहजीकरण गर्न सरकारसँग माग गरेको हो ।
नाडाको प्रतिनिधिमण्डलले बुधबार भन्सार विभागका महानिर्देशक यमलाल भुसाललाई भेटी सहजीकरण गर्न माग गरेको हो । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले चीनबाट आयातित सवारीसाधनहरुमध्ये धेरै सवारी रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएको बताए । पीडित पैठारीकर्ताहरुले सरकारकातर्फबाट पाउनु पर्ने राहत तत्काल उपलब्ध गराउन उनले माग गरे ।
नाडाका महासचिव मिलनबाबु मल्लले चाइना सीमा भन्सार नखुलेका कारण चाइना सीमा क्षेत्रमा पाँचसय भन्दा बढी सवारी साधनहरु रोकिएको बताए । उनले भन्सार सहजीकरणका लागि सहयोग गर्न आग्रह गरे । उनले हालमसम्म पनि ११ सिटे विद्युतीय माइक्रोबसहरु चिनियाँ भन्सारबाट नछुटेको जानकारी दिए ।
व्यवसायीसँगको भेटमा महानिर्देशक भुषालले सरकारले पीडित व्यवसायीहरुका दिने सुविधा र सहुलियतका बारेमा गृहकार्य भइरहेको बताए । अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयविच सहुलियतको मोडालिटीका बारेमा गृहकार्य भइरहेको उनको भनाइ थियो । छलफलमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति र विक्रम सिंघानिया तथा सचिव मेघराज पौडेलको पनि सहभागिता थियो ।