काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ्य दान गरेका छन् । राष्ट्रिपति पौडेलले आइतबार साँझ पशुपतिको गुह्येश्वरीस्थित बागमती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधनासहित अघ्र्य दान गरेका हुन् । प्रथम महिला सविता पौडेलसहित छठ पूजा स्थल पुगेका पौडेलले छठी माताको प्रतिमामा पूजा आराधना गरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरेका थिए ।
राष्ट्रपति पौडेलसँगै गुह्येश्वरी गौरीघाट क्षेत्रमा निर्माण गरिएका ६०० भन्दाबढी छठ घाट अर्थात् पूजा स्थलमा जम्मा भएका व्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर छठ पर्व मनाएका छन् । राष्ट्रपति पौडेललाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, प्रतिनिधिसभा सदस्य पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं सदस्यहरु तथा छठ पूजा समिति तथा गुह्येश्वरीका पदाधिकारी एवं सदस्यहरुले स्वागत गरेका थिए ।
चारदिने छठ पर्वको मुख्य एवं तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दान गरेका व्रतालु रातभर छठ घाटमै जाग्राम बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दान दिएर छठ पर्वको समापन गरिनेछ । छठ घाटमा बस्न नसक्ने व्रतालु भने बेलुकीको कर्म सकेर भोलिपल्ट बिहानै घाटमा पुगी व्रत समापन गर्ने गरेका छन् ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ पर्व मनाउने परम्पराको थालनी भएको हो ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पाझुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा व्रत बस्न नसक्ने व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । कठमाडौंको गुह्येश्वरी, कमलपोखरी तथा तराई मधेशका विभिन्न क्षेत्रमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व हर्षोल्हासका साथ मनाइएको छ । सरकारले छठ पर्वको अवसरमा सोमबार सार्वजानिक बिदासमेत दिएको छ ।