काठमाडौँ, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण सेयर निष्काशन (आईपीओ) ल्याउने कम्पनीको योग्यता निर्धारण गरेको छ । बोर्डले सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३ को मस्यौदा सार्वजनिक गर्दै साधारण सेयर निष्कासनका लागि आवश्यक विभिन्न मापदण्ड प्रस्ताव गरेको हो ।
मस्यौदा निर्देशिका लागू भएपछि तोकिएका योग्यता पूरा गर्ने कम्पनीले जुनसुकै समयमा साधारण सेयर निष्कासन गर्न पाउने बाटो खुल्नेछ । यसअघि साधारण सेयर निष्कासनको अनुमति धितोपत्र बोर्डको अनुमतीका आधारमा आएकोमा नयाँ व्यवस्थाले स्पष्ट योग्यता र मापदण्डका आधारमा अनुमति दिने व्यवस्था गर्न खोजेको छ । प्रस्तावित निर्देशिकाअनुसार साधारण सेयर निष्कासन गर्न चाहने कम्पनीले सुशासन र पारदर्शिता कायम गरेको हुनुपर्नेछ ।
कम्पनीको सञ्चालक समिति, लेखापरीक्षण समिति र जोखिम व्यवस्थापन समिति सक्रिय हुनुपर्ने तथा सञ्चालक र प्रमुख व्यवस्थापकले ‘फिट एन्ड प्रपर’ परीक्षण पूरा गर्नुपर्ने छ । यसैगरी कम्पनीको वित्तीय आधार बलियो हुनुपर्नेछ । कम्पनीले पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण सार्वजनिक गर्नुपर्नेछ । कम्पनीको खुद सम्पत्ति अंकित मूल्यभन्दा कम नहुने तथा ऋण र पुँजीको अनुपात सन्तुलित हुनुपर्ने व्यवस्था पनि मस्यौदामा प्रस्ताव गरिएको छ ।
बोर्डका अनुसार अबदेखि कम्पनी केवल दर्ता भएको आधारमा मात्र साधारण सेयर निष्कासन गर्न योग्य नहुने भएको छ । बोर्डले कम्पनीको व्यावसायिक निरन्तरता, पूर्वाधार, प्रविधि, व्यवसायको प्रकृति, जोखिम तथा भविष्यको व्यावसायिक योजनालाई समेत मूल्यांकन गर्नेछ । पूर्वाधार, प्रविधि वा अन्य विशेष प्रकृतिका उद्योगका लागि थप कडा मापदण्ड तोक्न सकिने व्यवस्था गरिएको छ । साधारण सेयर निष्कासनअघि कम्पनीले आफ्नो वेबसाइटमार्फत व्यवसायको सम्भावना, चुनौती, भावी योजना तथा लगानीको प्रतिफलका आधार सार्वजनिक गर्नुपर्नेछ । लगानीकर्तालाई झुक्याउने वा महत्वपूर्ण तथ्य लुकाउने कम्पनीलाई बजार प्रवेशमै रोक लगाउन सकिने व्यवस्था पनि मस्यौदामा समेटिएको छ ।