ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारण सभा तथा अधिवेशनअन्तर्गत हुने निर्वाचनमा युवा व्यवसायी रोकेश अवालेले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।असोज २३ र २४ गते हुने निर्वाचनमा अवालेले वाणिज्यतर्फबाट कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका हुन्। ललितपुरमा लामो समयदेखि कम्प्युटर तथा सूचना प्रविधिको क्षेत्रमा व्यवसाय गर्दै आएका अवाले इन्फोवेज कम्प्युटर सिस्टमका सञ्चालक तथा गोल्डेन टेम्पल मल्टिबिजनेस प्रालिका निर्देशक हुन्।
युवा व्यवसायीको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका अवालेले ललितपुरका युवा उद्यमी तथा नयाँ व्यवसायीलाई प्रोत्साहन गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्। उनले साना तथा मझौला व्यवसायीका समस्या, आवश्यकता र सम्भावनालाई संघका छलफल तथा कार्यक्रमको महत्वपूर्ण हिस्सा बनाउने एजेन्डा अघि सारेका छन्।
उनका एजेन्डामा व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने, व्यवसायमैत्री वातावरण निर्माण गर्ने, डिजिटल तथा आधुनिक व्यापार प्रवद्र्धन गर्ने, व्यवसायीबीच व्यावसायिक सञ्जाल विस्तार गर्ने तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने विषय समेटिएका छन्।
त्यसैगरी, सरकार र व्यवसायीबीचको संवादलाई थप प्रभावकारी बनाउँदै व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पु¥याउने र समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता अवालेले जनाएका छन्। अवालेले आफू निर्वाचित भए व्यवसायीका वास्तविक समस्या र आवश्यकतालाई प्राथमिकताका साथ उठाउँदै संघमार्फत सम्बन्धित निकायसम्म पु¥याउने बताएका छन्। साथै, सूचना प्रविधि तथा डिजिटल माध्यमको प्रयोगमार्फत व्यवसायलाई थप आधुनिक र प्रतिस्पर्धी बनाउन पहल गर्ने उनको भनाइ छ।