काठमाडौँ, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सामाजिक सद्भाव, शान्ति सुरक्षा तथा व्यवसायिक वातारणमा खलल पु¥याउने कार्य नगर्न आग्रह गरेको छ । नाडाले एक विज्ञेप्ती जारी गरी अशान्ति वा सामाजिक सद्भावमा खलल पुर्याउने कार्य अस्वीकार्य रहेको जनाएको छ । नाडाले पूर्वी नेपाल, विशेषगरी सुनसरी जिल्लाको कप्तानगञ्जलगायत तराईका केही जिल्लाहरूमा पछिल्लो समय देखा परेका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम तथा त्यसबाट सिर्जित असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
‘यस्ता घटनाले केवल शान्ति सुरक्षा र सामाजिक सद्भावमा मात्र असर पु¥याउँदैन, आम नागरिकको दैनिक जीवन, उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पार्दछ’ नाडाले भनेको छ । विशेष गरी यसले सबैलाई असर पुग्ने भएकाले सम्पूर्ण व्यवसायी समुदाय यसबाट चिन्तित रहेको छ । नाडाले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति तथा मागहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने मौलिक हक सुनिश्चित गरेको भएपनि कुनै पनि प्रकारका हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति वा सामाजिक सद्भावमा खलल पु¥याउने कार्य कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने जनाएको छ ।
‘नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र हो । विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अनुपम उदाहरणका रूपमा नेपाल विश्वमै परिचित रहँदै आएको छ । यही सामाजिक एकता र राष्ट्रिय सद्भाव हाम्रो सबैभन्दा ठूलो शक्ति हो’, नाडाले भनको छ । नाडाले सम्बन्धित पक्षहरूलाई संयमता अपनाउन, कानुनी तथा लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीका आधारमा समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ । साथै, शान्ति, सुरक्षा र नागरिकको जनधनको संरक्षण सुनिश्चित गर्दै सामान्य जनजीवन र व्यवसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न सरकारसंग माग गरेको छ ।