विराटनगर । विराटनगरस्थित बाल कल्याण विद्या मन्दिर (विकेभिएम) मा अध्ययन गरेका मनन श्रेष्ठ त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) द्वारा सञ्चालित २०८३ सालको प्रवेश परीक्षामा नेपाल प्रथम भएका छन्।आइओईले मंगलबार सार्वजनिक गरेको नतिजाअनुसार श्रेष्ठले देशभरका परीक्षार्थीलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका हुन्। विकेभिएमका अनुसार आइओई प्रवेश परीक्षामा नेपाल प्रथम हुने उनी कोशी प्रदेशकै पहिलो विद्यार्थी समेत बनेका छन्।
विराटनगरको मिल्स एरिया निवासी श्रेष्ठले बाल्यकालदेखि नै विकेभिएममा अध्ययन गरेका थिए। शैक्षिक हबका रूपमा परिचित बन्दै गएको विराटनगरका लागि यस्तो नतिजाले विद्यार्थी, अभिभावक र समग्र शैक्षिक समुदायलाई थप उत्साहित बनाएको छ।
विकेभिएमले लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यहाँका विद्यार्थीहरूले देशभरका प्रतिभाशाली विद्यार्थीसँग प्रतिस्पर्धा गर्दै निरन्तर उत्कृष्ट नतिजा हासिल गरिरहेका छ ।
हाल ३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत विकेभिएमले यसअघि पनि राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरिसकेको छ। २०७९ सालमा विद्यालयका विद्यार्थी पर्फेन यादवले चिकित्सा शिक्षा प्रवेश परीक्षामा नेपाल दोस्रो स्थान हासिल गरेका थिए। सप्तरी घर भई विराटनगरमा बसोबास गर्ने यादवको उपलब्धिले पनि विद्यालयको शैक्षिक उत्कृष्टतालाई थप स्थापित गरेको विद्यालयले जनाएको छ।
मनन श्रेष्ठको नेपाल प्रथमको सफलता सँगै विकेभिएमले राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा दिने शैक्षिक संस्थाका रूपमा आफ्नो पहिचानलाई थप मजबुत बनाएको विद्यालयको विश्वास छ।