काठमाडौं, एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइडा) र काठमाडौं विश्वविद्यालय (केयू)ले संयुक्त रूपमा सञ्चालन गर्न लागेको दुईवर्षे ‘मास्टर इन इन्टरनेसनल अफेयर्स, इकोनोमी एन्ड डिप्लोमेसी (एमआईएईडी)’ कार्यक्रमको सेप्टेम्बर २०२६ शैक्षिक सत्रका लागि आवेदन खुला गरिएको छ ।
आइडाले एक विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय मामिला, कूटनीति, अर्थशास्त्र, सार्वजनिक नीति, रणनीतिक अध्ययन र विश्व राजनीतिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको जनाएको छ । चार सेमेस्टरमा विभाजित कार्यक्रम ६० शैक्षिक क्रेडिटको हुनेछ भने सम्पूर्ण अध्यापन अंग्रेजी भाषामा प्रत्यक्ष कक्षामार्फत सञ्चालन गरिने जनाइएको छ । कार्यक्रममा नेपाल तथा विदेशका प्रतिष्ठित विद्वान, पूर्वराजदूत, कूटनीतिज्ञ, नीति निर्माता, विकास विज्ञ र उद्योग क्षेत्रका विशेषज्ञको अध्यापन रहनेछ । साथै नीतिगत प्रयोगशाला, कूटनीतिक सिमुलेसन, वार्ता अभ्यास, अनुसन्धान परियोजना, अन्तर्राष्ट्रिय सम्मेलन, अध्ययन भ्रमण तथा नेतृत्व विकाससम्बन्धी गतिविधि पनि समावेश गरिने विज्ञप्तिमा उल्लेख छ ।
आइडाका संस्थापक तथा कार्यकारी अध्यक्ष सुनील के.सी.ले शैक्षिक उत्कृष्टता र व्यावहारिक अनुभवलाई संयोजन गर्दै अन्तर्राष्ट्रिय स्तरको नेतृत्व विकास गर्ने लक्ष्यसहित कार्यक्रम सुरु गरिएको बताए । आइडा–एमआईएईडीका डिन प्रा. इम्तियाज अहमदका अनुसार कार्यक्रमले अन्तर्राष्ट्रिय राजनीतिक अर्थतन्त्र, सुरक्षा तथा रणनीति, उदीयमान विश्वव्यापी चुनौती, अनुसन्धान पद्धति र नेतृत्व विकासका विषय समेट्नेछ ।
मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेका आवेदकले प्रवेश परीक्षा, अन्तर्वार्ता र अन्तिम छनोट प्रक्रियामार्फत भर्ना पाउनेछन् । पहिलो समूहमा अधिकतम ४० जना विद्यार्थीलाई मात्र भर्ना गरिने र योग्यताका आधारमा छात्रवृत्ति तथा फेलोशिपको व्यवस्था पनि रहेको आइडाले जनाएको छ । आइडाका अनुसार सेप्टेम्बर २०२६ शैक्षिक सत्रका लागि आवेदन प्रक्रिया सुरु भइसकेको छ ।