काठमाडौं, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिक तथा विद्युत् आयोजनाको पुनर्निर्माण र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
इप्पानको बिहीबार बसेको २०६औँ आकस्मिक बैठक तथा सल्लाहकारसहितको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । इप्पान तथा इप्पानसँग सम्बद्ध जलविद्युत् कम्पनीहरूको तर्फबाट रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिनेछ । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा सहयोग रकमको चेक हस्तान्तरण गर्ने बताए । अध्यक्ष डाँगीले ऊर्जा क्षेत्र नेपालको आर्थिक समृद्धिसँग मात्र नभई नेपाली जनताको सुख–दुःखसँग पनि प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले विपद्को समयमा ऊर्जा क्षेत्र एकजुट भएर पीडितको साथमा उभिनुपर्ने बताए ।
विपद्को समयमा सम्पूर्ण सदस्य कम्पनीहरू एकजुट हुँदा त्यसले पीडित परिवारको जीवनमा ठूलो राहत र आशाको सञ्चार गर्न सक्छ । उनले भने, ‘यस मानवीय अभियानमा इप्पानका सम्पूर्ण सदस्य कम्पनीहरूलाई सक्रिय र उदारपूर्वक सहयोग गर्न अनुरोध गर्दछौँ ।’
बैठकले बाढीमा परी ज्यान गुमाएका नागरिक, विद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन विभिन्न जलविद्युत्आयोजनामा ठूलो क्षति पुगेको भन्दै इप्पानले आयोजनाहरूको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि नेपाल सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ ।