नेपालमा पछिल्ला केही वर्षदेखि नवप्रवर्तनमा आधारित कम्पनीहरूको विस्तार तीव्र रूपमा भइरहेको छ । हाल सार्वजनिक भएको उपाय वेयरहाउसिङ प्रालि तथा उपाय समूह पनि तिनैमध्ये एक हो । तर यस कम्पनीको ऋण संरचना, सञ्चित घाटा, पुँजीको अवस्था तथा भविष्यमा ऋण भुक्तानी गर्ने क्षमताबारे गम्भीर प्रश्नहरू उठेका छन् ।व्यवसाय विस्तारका लागि ऋण लिनु कुनै अस्वाभाविक कुरा होइन । तर कुनै पनि कम्पनी वा समूहको वास्तविक आर्थिक अवस्था त्यसको लेखापरीक्षण गरिएको वित्तीय विवरणले नै देखाउने भएकाले कम्पनीको वित्तीय स्वास्थ्यलाई लिएर प्रश्न उठेका हुन् । उपाय वेयरहाउसिङ प्रालिको वित्तीय विवरणअनुसार कम्पनीको सेयर पुँजी पाँच करोड ५० लाख र सेयर पुँजीका लागि अग्रिम प्राप्त चार करोड गरी जम्मा नौ करोड ५० लाखबराबरको पुँजी रहेको देखिन्छ । तर सोही कम्पनीले दीर्घकालीन ऋण करिब २८ करोड ९४ लाख तथा अल्पकालीन ऋण करिब २१ करोड ८६ लाख गरी ५० करोडभन्दा बढी ऋण लिएको देखिन्छ । यस्तो अवस्थामा कम्पनीको ऋण र पुँजीबीचको अनुपात अत्यन्त उच्च देखिन्छ ।
यस विषयमा सबैभन्दा चासोको कुरा तथाकथित अन्तरिम पुँजी व्यवस्थापन ऋण (ब्रिज ग्याप ऋण)को चर्चा हो । सामान्यतया यस्तो प्रकारको ऋण सार्वजनिक निष्कासन, ठूलो लगानी वा निश्चित पुँजी प्राप्त हुनुअघि अस्थायी व्यवस्थाका रूपमा लिने गरिन्छ । त्यसैले सीमित पुँजी भएको निजी कम्पनीले यति ठूलो परिमाणमा यस्तो प्रकृतिको ऋण कसरी प्राप्त ग¥यो भन्ने प्रश्न उठ्नु स्वाभाविक देखिन्छ । अर्कोतर्फ, उपाय वेयरहाउसिङको नाफा–नोक्सान विवरण हेर्दा सञ्चालन आम्दानी तथा नाफा उल्लेखनीय रूपमा देखिँदैन । यस्तो अवस्थामा भविष्यमा यति ठूलो ऋणको ब्याज तथा साँवा कसरी भुक्तानी गरिने हो भन्ने विषय वित्तीय विश्लेषणको केन्द्रमा रहन्छ ।
झन् महत्वपूर्ण कुरा त समूहको एकीकृत वित्तीय विवरणले देखाएको अवस्था हो । उक्त विवरणअनुसार समूहको सेयर पुँजी करिब ३२ करोड ५७ लाख रहेको छ भने सञ्चित घाटा करिब ४१ करोड २७ लाख पुगेको देखिन्छ । अर्थात् सञ्चित घाटा कम्पनीको सेयर पुँजीभन्दा धेरै बढी रहेको अवस्था छ । वित्तीय दृष्टिकोणबाट हेर्दा यसले समूहको पुँजी आधार कमजोर भएको संकेत गर्दछ र भविष्यको वित्तीय स्थायित्वबारे स्वाभाविक प्रश्न उठाउँछ ।
ऋणको अवस्था अझ बढी ध्यान दिनुपर्ने खालको देखिन्छ । समूहको एकीकृत वित्तीय विवरणअनुसार दीर्घकालीन ऋण करिब ३७ करोड ४३ लाखर अल्पकालीन ऋण करिब २८ करोड ७१ लाख रहेको छ । अर्थात् समूहले ६६ करोडभन्दा बढी बैंक ऋण उपयोग गरिरहेको देखिन्छ । यस्तो ऋणको भार भविष्यमा कसरी व्यवस्थापन हुनेछ, ऋणको साँवा र ब्याज समयमै कसरी भुक्तानी हुनेछ भन्ने प्रश्न वित्तीय विश्लेषक, लगानीकर्ता तथा सरोकारवालाका लागि अत्यन्त महत्वपूर्ण विषय बनेको छ ।
समूहको नाफा–नोक्सान
विवरणअनुसार आर्थिक वर्ष २०८१÷८२ मा करिब ४४ करोड आम्दानी भए पनि अन्त्यमा करिब १२ करोड ९० लाख खुद घाटा देखिएको छ । अघिल्लो वर्ष पनि समूह घाटामै रहेको थियो । लगातार घाटा, उच्च ऋण र बढ्दो सञ्चित घाटाले भविष्यमा ऋण भुक्तानी गर्ने क्षमता कत्तिको बलियो छ भन्ने विषयमा थप अध्ययन आवश्यक देखिन्छ । व्यवसाय विस्तारका लागि ऋण लिनु गलत होइन । विश्वभरका सफल कम्पनीहरूले पनि ऋणको सहायताले व्यवसाय विस्तार गरेका उदाहरण प्रशस्त छन् । तर ऋणको सफल उपयोग त्यतिबेला मात्र सम्भव हुन्छ, जब त्यसबाट पर्याप्त आम्दानी, नाफा तथा सकारात्मक नगद प्रवाह सिर्जना हुन्छ । यदि ऋण निरन्तर बढ्ने तर नाफा नदेखिने अवस्था रहिरह्यो भने दीर्घकालीन वित्तीय जोखिम पनि बढ्न सक्छ ।
यस सम्पूर्ण विषयमा अर्को महत्वपूर्ण पक्ष बैंकिङ प्रणाली हो । सार्वजनिक वित्तीय विवरणअनुसार सिटिजन बैंक इन्टरनेसनल तथा माछापुच्छ«े बैंकलगायतका बैंकहरूले ऋण सुविधा उपलब्ध गराएको देखिन्छ । यी नेपालका स्थापित, अनुभवी तथा व्यावसायिक बैंकहरू हुन् । त्यसैले ऋण स्वीकृत गर्दा पर्याप्त धितो, परियोजनाको सम्भाव्यता, प्रवद्र्धकहरूको व्यक्तिगत प्रत्याभूति, समूहका अन्य कम्पनीहरूको सहयोग तथा अन्य आवश्यक सुरक्षा व्यवस्थाको विस्तृत मूल्यांकन गरिएको हुनुपर्ने अपेक्षा गर्न सकिन्छ । तर सार्वजनिक वित्तीय विवरणमा देखिएका तथ्यहरूका आधारमा हेर्दा सम्बन्धित बैंकहरूले समयमै थप सावधानी अपनाउनु आवश्यक देखिन्छ । कम्पनीको वित्तीय अवस्थाको नियमित समीक्षा, ऋण जोखिमको पुनर्मूल्यांकन, नगद प्रवाहको निरन्तर अनुगमन तथा आवश्यक परे थप सुरक्षा उपायहरू समयमै अवलम्बन गर्न सके भविष्यमा कुनै वित्तीय संकट उत्पन्न भएमा बैंकहरूको बक्यौता असुलीमा कठिनाइ नआओस् र निक्षेपकर्ताको हित पनि सुरक्षित रहोस् भन्ने उद्देश्य पूरा हुन सक्छ ।
सार्वजनिक रूपमा उपलब्ध लेखापरीक्षण गरिएको वित्तीय विवरणबाट देखिएका तथ्यहरूका आधारमा उठाइएका वित्तीय प्रश्नहरू हुन् । ६६ करोडभन्दा बढी बैंक ऋण, ३२ करोड ५७ लाख सेयर पुँजीको तुलनामा ४१ करोड २७ लाख सञ्चित घाटा, लगातार घाटा, तथा भविष्यमा ऋण भुक्तानी गर्ने क्षमता जस्ता विषयमा कम्पनी व्यवस्थापनले स्पष्ट र पारदर्शी रूपमा आफ्नो दीर्घकालीन योजना सार्वजनिक गर्न सके लगानीकर्ता, बैंकिङ क्षेत्र तथा सर्वसाधारणमा अझ बढी विश्वास कायम हुनेछ । वित्तीय पारदर्शिता र जिम्मेवार व्यवस्थापन नै दीर्घकालीन व्यावसायिक सफलताको सबैभन्दा बलियो आधार हो ।सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीमा उल्लेखनीय नाफा देखिँदैन, सञ्चित घाटाका कारण पुँजी आधार पनि कमजोर देखिन्छ । यस्तो अवस्थामा परम्परागत परियोजना वित्तपोषण कसरी स्वीकृत भयो भन्ने विषय वित्तीय क्षेत्रका लागि स्वाभाविक रूपमा गम्भीर प्रश्न बनेको छ ।
पर्याप्त धितो वा अन्य सुरक्षा व्यवस्था रहेको हुन सक्ने सम्भावना भए पनि यो सामान्य धितोमा आधारित ऋणजस्तो विषय नभएकाले यसको वित्तीय संरचना थप चासो र अध्ययनको विषय देखिन्छ । नेपालका बैंकहरू अनुभवी, स्थापित तथा व्यावसायिक संस्था भएकाले यस्ता परियोजनामा लगानी वा वित्तपोषण गर्नु अघि विस्तृत जोखिम मूल्यांकन, धितो, प्रवद्र्धकहरूको क्षमता तथा अन्य आवश्यक सुरक्षा व्यवस्थाको गहन अध्ययन गरिएको हुनुपर्ने अपेक्षा गर्न सकिन्छ । लेखापरीक्षण प्रतिवेदनमा यस्ता सुरक्षा व्यवस्था, ग्यारेन्टी, प्रवद्र्धकहरूको अतिरिक्त प्रतिबद्धता वा अन्य जोखिम न्यूनीकरणका उपायहरू विस्तृत रूपमा खुलाइएको नहुन पनि सक्छ । त्यसैले कम्पनीको सार्वजनिक वित्तीय विवरणले केही गम्भीर वित्तीय प्रश्न उठाए पनि बैंकहरूसँग सार्वजनिक नभएका पर्याप्त सुरक्षा संयन्त्र वा वैकल्पिक पुनर्भुक्तानी योजना हुन सक्ने सम्भावनालाई पनि नकार्न मिल्दैन । तथापि, भविष्यमा कुनै वित्तीय जोखिम उत्पन्न हुन नदिन बैंकहरूले यस्ता कर्जाको निरन्तर अनुगमन, समयमै जोखिम पुनर्मूल्यांकन तथा आवश्यक सावधानीका उपायहरू अपनाइरहनु नै सबै पक्षका हितमा हुनेछ ।