काठमाडौं, नेपाली कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ।संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार देशभरका ६ हजार ७४३ वडामध्ये बिहीबार ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको हो।
समिति संयोजक एकराज पोखरेलका अनुसार कोशी प्रदेशमा १ हजार १५७ मध्ये ५७७, मधेस प्रदेशमा १ हजार २७१ मध्ये ४०२, बागमती प्रदेशमा १ हजार १२१ मध्ये ५६३ र गण्डकी प्रदेशमा ७६२ मध्ये ३६६ वडामा अधिवेशन सम्पन्न भएको छ।त्यस्तै, लुम्बिनी प्रदेशमा ९८३ मध्ये ५५०, कर्णालीमा ७१५ मध्ये २७७ र सुदूरपश्चिम प्रदेशमा ७३४ मध्ये ४५६ वडामा अधिवेशन सम्पन्न भएको पोखरेलले बताए।
बाँकी वडामा असोज १८ गतेसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको समितिले जनाएको छ।रसुवामा बाढीपहिरोका कारण रोकिएको वडा अधिवेशन तथा बागलुङमा पार्टी नेता मणिभद्र शर्मा कँडेलकी श्रीमतीको निधनका कारण स्थगित अधिवेशन असोज १६ गते गर्ने तयारी गरिएको छ। कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म गर्ने तय भएको छ।