काठमाडौं, नेपाल टेलिकमले एकै पटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्ताहरुलाई बढीमा एक मिनेटसम्मको प्रि–रेकडेड व्यावसायिक तथा सूचनामूलक जानकारी भ्वाइस म्यासेजको रुपमा पठाउन सकिने आउटवाउण्ड आईभीआर सेवा सञ्चालनमा ल्याएको छ ।
कम्पनीका अनुसार यो सेवा संस्थागत तथा व्यक्तिगत ग्राहकहरुका लागि उपयोगी हुनेछ । कम्पनीले केही समय देखि आन्तरिक प्रयोजनका लागि परीक्षण स्वरुप सञ्चालन गरिरहेको यस सेवालाई व्यावसायिक रुपमा सञ्चालनमा ल्याएको हो । ‘यो एक प्रकारको सामूहिक सूचना प्रणाली हो । कुनै सूचना, परीक्षाको नतिजा वा प्रवद्र्धनात्मक सामग्री आदि धेरै व्यक्तिहरुमा पुर्याउनका लागि यो सेवा उपयोगी छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि कार्यालय, व्यवसायी वा सूचना प्रवाहकर्ताले यसका लागि कल गर्नुपर्ने नम्बरहरुको सूची र सन्देश सहितको भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराएर निश्चित प्रक्रिया पूरा गरेपश्चात् यो सेवा उपलब्ध हुन्छ ।’
यस सेवामार्फत कल प्राप्त गर्ने व्यक्तिको फोनमा सन्देश आउँदा सन्देश पठाउने सेवा प्रदायक वा ग्राहकको नाममा दर्ता रहेको मोबाइल वा टेलिफोन नम्बर नै कलर आईडीको रुपमा देखिन्छ । सेवा सञ्चालनका लागि इच्छुक सेवा प्रदायक वा ग्राहकले हाललाई दूरसञ्चार कार्यालय सुन्धारामार्फत निर्धारित फारम भरी यो सेवा लिन सक्ने कम्पनीले जनाएको छ । सेवा प्रदायक वा ग्राहकले तोकेको नम्बरहरुमा स्वचालित रुपमा कल गर्न सकिने यस प्रकृतिको सेवाको माग बढ्दै जाने कम्पनीको विश्वास छ ।