काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ता र व्यवस्थापनबीचको विवाद चर्किएको छ। अभिकर्ताहरूले कम्पनी व्यवस्थापनले आफूहरूमाथि दुर्व्यवहार, अपमान तथा बल प्रयोग गरेको आरोप लगाउँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीको राजीनामा माग गरेका छन्।
अभिकर्ताहरूका अनुसार गत भदौ ३ गतेदेखि सुरु भएको पाँचदिने अभिकर्ता प्रशिक्षण तथा पुनर्ताजगी कार्यक्रमको पहिलो दिन नै विवाद उत्पन्न भएको हो। देशभरबाट कार्यक्रममा सहभागी हुन आएका करिब ६ सय अभिकर्तामाथि कम्पनीले बाउन्सर प्रयोग गरी कुटपिट गरेको तथा महिला अभिकर्तामाथि समेत बल प्रयोग र दुर्व्यवहार भएको उनीहरूको आरोप छ।
नेपाल राष्ट्रिय पेशागत बीमा अभिकर्ता संघका सचिव तेजप्रसाद तिवारीले कम्पनीलाई अग्रस्थानमा पुर्याउन अभिकर्ताहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको दाबी गर्दै उनीहरूमाथि नै अपमानजनक व्यवहार गरिएको आरोप लगाए। उनका अनुसार अभिकर्ताहरूले एक वर्षमै करिब १३ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरिदिए पनि कम्पनीले उनीहरूका समस्या सम्बोधन नगरेको गुनासो छ।
संघका नेपाल लाइफ अध्यक्ष कृष्णप्रसाद आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको तथा सीईओ पराजुलीलाई भेट्न खोज्दा केन्द्रीय कार्यालयको गेटमै रोकिएको अभिकर्ताहरूले बताएका छन्। संघका सचिव तिवारीले नेपाल लाइफको २५ वर्षे इतिहासमा आफ्नै अभिकर्तामाथि बाउन्सर प्रयोग गरी कुटपिट र धम्की दिने कार्य स्वीकार्य नहुने बताए।
अभिकर्ताहरूले कम्पनीले बीमितको बोनसमा समेत अन्याय गरेको आरोप लगाएका छन्। तिवारीका अनुसार कम्पनीले बीमितले पाउने बोनसमा प्रति हजार १५ रुपैयाँ घटाउने तयारी गरेको छ। साथै, अभिकर्ताहरूलाई विभाजित गरेर व्यवस्थापनले आफ्नो पक्ष बलियो बनाउने रणनीति अपनाएको आरोप पनि उनले लगाए।
उनले पाँच वर्षपछि बीमा पोलिसी सरेन्डर गर्दा बीमितले जम्मा ५० प्रतिशत रकम मात्र पाउने व्यवस्था रहेको दाबी गर्दै यसबाट बीमितलाई आर्थिक रूपमा मर्का पर्ने बताए। उनका अनुसार करोडौं रुपैयाँको बीमा शुल्क संकलन गराउने अभिकर्ताहरूको हितलाई बेवास्ता गर्दै कम्पनीले बीमितलाई समेत असहज अवस्थामा पुर्याइरहेको छ।नेपाल लाइफले ‘बोनस हाम्रो राम्रो’ भन्ने प्रचार गर्दै सर्वाधिक बोनस दिने दाबी गरे पनि कुनै एउटा उत्पादनको बोनसलाई मात्र आधार बनाएर प्रचार गर्ने गरिएको आरोपसमेत अभिकर्ताहरूले लगाएका छन्।
अभिकर्ता र व्यवस्थापनबीचको विवाद सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समेत नेपाल लाइफका बीमित तथा सर्वसाधारणले कम्पनीको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्। कम्पनीभित्रको विवादका कारण आफूहरूले जम्मा गरेको बीमाको रकम सुरक्षित छ कि छैन भन्ने प्रश्नसमेत उठाइएको छ। सामाजिक सञ्जालमा ‘सबैको पैसा फिर्ता गर’, ‘कतै पैसा डुब्ने त होइन ?’ र ‘नेपाल लाइफमा धेरै उथलपुथल भएको छ’ जस्ता प्रतिक्रिया सार्वजनिक भएका छन्।यद्यपि, अभिकर्ताहरूले लगाएका आरोप तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाका विषयमा कम्पनी व्यवस्थापनको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन। कम्पनीले आरोपबारे आफ्नो धारणा सार्वजनिक गरेपछि विवादको अर्को पक्षसमेत स्पष्ट हुनेछ।