काठमाडौं, नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले बीमा सेवालाई थप व्यवस्थित, पारदर्शी र बीमितमैत्री बनाउन जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिलाई निर्देशन दिएको छ ।
कोशी प्रदेश कार्यालयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा नवनियुक्त प्रदेश प्रमुख राजेन्द्र महर्जनलाई स्वागत तथा बधाई दिँदै आगामी आर्थिक वर्षका कार्ययोजना, बीमा व्यवसायमा देखिएका चुनौती तथा सेवा सुधारका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा कोशी प्रदेशमा कार्यरत जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको प्रदेश प्रमुख महर्जनले जानकारी दिए ।
कार्यक्रममा प्रदेश प्रमुख महर्जनले बीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि अभिकर्तालाई थप जिम्मेवार, व्यावसायिक र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए । बीमितसँग प्रत्यक्ष सम्पर्कमा रही बीमा योजना बिक्री गर्ने अभिकर्ताले बीमालेखका सर्त, जोखिम, कभरेज, दाबी प्रक्रिया, ल्याप्स तथा सरेन्डरसम्बन्धी व्यवस्थाबारे बीमितलाई स्पष्ट जानकारी दिनुपर्ने उनले बताए ।
गलत वा अपूर्ण जानकारी दिएर बीमा बिक्री गर्ने ‘मिससेलिङ’ प्रवृत्ति न्यूनीकरण गर्न अभिकर्तालाई थप जिम्मेवार बनाउने गरी ‘डिक्लेरेसन फर्म’ विकास गरी कार्यान्वयनमा ल्याउनुपर्ने महर्जनको भनाइ थियो । बीमितलाई आवश्यक सबै जानकारी दिएको सुनिश्चित भएपछि मात्रै बीमालेख जारी गर्ने प्रणाली विकास गर्नुपर्ने उनले बताए । मिससेलिङका कारण दाबी भुक्तानीका क्रममा विवाद तथा समस्या उत्पन्न हुने गरेको उल्लेख गर्दै महर्जनले अभिकर्तालाई बीमा योजना बिक्रीमा मात्र केन्द्रित नगरी व्यावसायिक आचरण, जोखिम पहिचान, बीमित परामर्श तथा बीमालेखका सर्तबारे नियमित प्रशिक्षण दिन कम्पनीहरूलाई निर्देशन दिए ।
त्यस्तै, निर्जीवन बीमा व्यवसायअन्तर्गत बैंकमार्फत जारी हुने बीमालेखको विवरण र त्यसको उपयुक्तता प्रभावकारी रूपमा समीक्षा गर्नुपर्नेमा पनि उनले जोड दिए । विशेषगरी सम्पत्ति तथा स्टक बीमामा कच्चा पदार्थ, अर्धतयारी तथा तयारी वस्तुको विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने उनको भनाइ थियो ।
बीमालेखमा उल्लेख गरिएको विवरण र वास्तविक जोखिमबीच असमानता हुँदा भविष्यमा दाबी भुक्तानीका क्रममा विवाद उत्पन्न हुनसक्ने भएकाले बीमालेख जारी गर्नुअघि आवश्यक विवरण तथा घोषणाको पूर्णता जाँच गर्न कम्पनीका प्रदेश प्रमुख तथा कर्मचारीलाई महर्जनले निर्देशन दिए ।
बीमा व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी र विश्वासयोग्य बनाउन बीमितलाई पर्याप्त सूचना उपलब्ध गराउने, अभिकर्तालाई उत्तरदायी बनाउने तथा कर्मचारीको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए। साथै, प्राधिकरणको प्रदेश कार्यालय, बीमा कम्पनीका शाखा, अभिकर्ता तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत महर्जनले जोड दिए ।