काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरतमणि दाहाललाई तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । दाहालको बन्दीप्रत्यक्षीकरण रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उनलाई तारेखमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युरो, भोटाहिटीका नाममा परमादेश जारी गरेको हो ।
यसअघि सर्वोच्चले दाहाललाई पक्राउ गर्नुपर्ने आधार र कारणसहित लिखित जवाफ पेस गर्न प्रहरीलाई आदेश दिएको थियो । साथै आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र अनुसन्धानसम्बन्धी मिसिलसहित बन्दीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि दाहाललाई बिहीबार अदालतमा उपस्थित गराइएको थियो ।प्रहरीले दाहाललाई आइतबार मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । आफ्नो युट्युब च्यानलमार्फत भूराजनीति तथा उच्च राजनीतिक व्यक्तिहरूबारे भ्रामक प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो । सर्वोच्चको आदेशसँगै दाहाललाई हिरासतमा नराखी तारेखमा राखेर अनुसन्धान अघि बढाउने बाटो खुलेको छ ।