काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शुक्रबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रमबीच मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सहयोगी संस्था, विज्ञापनदाता र उत्कृष्ट सवारी चालकलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले ट्राफिक जनचेतनामूलक गीतको विमोचनसमेत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक एफएमले स्थापना कालदेखि नै ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउँदै ट्राफिक सचेतना अभिवृद्धि गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न, अपराधविरूद्ध जनचेतना फैलाउन तथा सुरक्षासम्बन्धी सही र विश्वसनीय सूचना समयमै प्रवाह गर्न निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । ट्राफिक एफएमको सफल संचालनमा निरन्तर साथ, सहयोग र सहकार्य गर्ने विभिन्न निकाय, स्थानीय तह, सञ्चारकर्मी एवं प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने महानुभावप्रति आभार व्यक्त गर्दै आगामी दिनमा एफएमको संस्थागत सम्वृद्धिको शुभकामनासमेत उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीले प्रविधिमैत्री सेवा प्रवाहलाई विशेष प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आइरहेको चर्चा गर्दै ट्राफिक एफएमले पनि आगामी दिनमा सामाजिक सञ्जालको प्रयोगमार्फत नागरिक समक्ष अझ छिटो, छरितो एवं भरपर्दो सूचना प्रवाह गर्न थप क्रियाशील हुनुपर्ने बताउनुभयो । एफएमले आगामी दिनमा आफ्नो क्षमता विस्तार गरी सडक सुरक्षा तथा सुरक्षा सचेतनामा समयानुकूल, नवप्रवर्तनात्मक, गुणस्तरीय एवं विश्वसनीय नागरिक केन्द्रीत कार्यक्रमहरू ल्याइ अझ सशक्त एवं प्रभावकारी रूपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै ट्राफिक सचेतनामूलक सामग्रीहरूको प्रभावकारिता अभिवृद्धि एवं एफएमसँग आधुनिक स्रोतहरूलाई समेट्नको लागि समयानुकूल सामग्री तथा विधिलाई आफ्नो कार्यक्रममा समावेश गर्दै आगाडि बढ्नुपर्ने उनले बताए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका निमित्त नगरप्रमुख मञ्जली शाक्य बज्राचार्य, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, महानायक राजेश हमाल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले आ–आफ्नो शुभकामन मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले स्वागत मन्तव्य एवम् एफएमको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा ट्राफिक एफएमको यात्रा तथा उपलब्धी, एवं ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक श्रव्यदृश्य सामग्रीहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका पदाधिकारीहरू, वरिष्ठ कलाकारहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू, आमन्त्रित अतिथिहरूलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।