काठमाडौं, नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले रसुवा बाढीपीडितको लागी ५० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
नाइमाको पूर्वनिर्णयअनुसार अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको हो । रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि नाईमाले सहयोग गरेको जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, साइमेक्स ईन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाईमाको डिजिटल एजेन्सी डिजीपलका तर्फबाट उत्सव कार्की सहभागी थिए ।
सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष वैद्यले रकम तुलनात्मक रूपमा सानो भए पनि विपद्का समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले सहयोग गरिएको बताइन् । उनले उक्त सहयोग नाइमाका सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट गरिएको जानकारी दिइन् । विपद्का समयमा सरकार र प्रभावित समुदायसँग नाइमा सधैं सहकार्यमा रहने प्रतिबद्धता पनि उनले जनाईन् । अर्थमन्त्री वाग्लेले विपद्को संवेदनशील अवस्थामा राहत तथा पुनस्र्थापनाका लागि प्राप्त सहयोग महत्वपूर्ण रहेको बताए ।